भर्खरै :

सम्पदाको मौलिक स्वरूप संरक्षण गरौँ

राजधानीको कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको ‘कमलको फूल’ बनाउने योजना प्रस्तुत हुनुले राज्यका सम्बन्धित निकाय अझै पनि सम्पदाको महत्व बुझ्न असमर्थ रहेको देखाएको छ । लिच्छवीकालीन ऐतिहासिक पोखरीको पुनःनिर्माणको सिलसिलामा सम्पदा संरक्षणको मूल भावनाविपरीत यसरी कृत्रिम संरचना बनाउन खोज्दा स्थानीय सम्पदा संरक्षणकर्मीहरूले विरोध गरेका छन् । युगौँ पुरानो सम्पदाको मौलिकता जगेर्ना गर्ने क्रममा सिमेन्ट र कङ्क्रिटको कृत्रिम संरचना बनाउन ऐन–नियमले निषेध गरेको छ । तर, अख्तियार प्राप्त निकायहरू भने ऐन–नियमको बेवास्ता गर्दै सम्पदाको आत्मामाथि नै थिचोमिचो गर्न उद्यत्त छन् ।
सम्पदा संरक्षणको मूल मर्म सम्पदाको मौलिक स्वरूपको संरक्षणमा निहित हुन्छ । सयौँ वर्ष पुराना सम्पदालाई जथाभावी बनाउनु र मूल स्वरूप बिगार्नु सम्पदाको विनाश हो, संरक्षण होइन । सम्पदाको सौन्दर्य त्यसको मूल स्वरूपमा मात्र झल्किन्छ । पुर्खाले प्रयोग गरेको सीप, शिल्प र प्रविधिको प्रयोग गरी त्यसको जगेर्ना गर्दा आजको पुस्ताको इज्जत रहन्छ । पुर्खाले प्रयोग गरेको सीप, शिल्प र प्रविधि वैज्ञानिक र वातावरणमैत्री भएको विज्ञहरूको अध्ययनबाट प्रमाणित भएको छ । तर, यो सांस्कृतिक चेत नबुझेका घुम्ने मेचमा बस्ने कतिपय पदाधिकारीहरूले आधुनिकताको नाममा मौलिकता नष्ट गर्ने खोटो चिन्तन छोड्न सकेका छैनन् । त्यस्तै बिरामी चिन्तनकै कारण आज कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटका भौतिक संरचना बनाउने प्रस्ताव आएको हो ।
पुर्खाले बनाएका सम्पदाको मौलिक प्रविधिअनुसार संरक्षण गर्न सकिने कुराको हामीसँग धेरै दृष्टान्त छन् । यसको सबभन्दा उपयुक्त उदाहरण त भक्तपुरमा भइरहेको सम्पदा संरक्षण नै हो । भक्तपुरका जनताले आफ्ना युगौँ पुराना सम्पदाको संरक्षणको निम्ति मौलिक प्रविधि र निर्माण सामग्री नै प्रयोग गरिरहेका छन् । यसले पुर्खाले अनेकौँ प्रयोग र प्रयत्नपछि बनेको मौलिक प्रविधिको संरक्षण पनि भएको छ भने सम्पदाको मौलिकताको पनि जगेर्ना भएको छ ।
पुनः निर्माणको सुरूको गुरूयोजनाअनुसार काम भएको भए काठमाडौँकै रानीपोखरी आज ‘स्वीमिङ पुल’ र व्यापारिक मल बनिसकेको हुन्थ्यो । त्यसो गर्दा रानीपोखरीको मौलिक स्वरूप इतिहासमा हराएर जाने थियो । सचेत सम्पदाकर्मीहरूको प्रयासमा आज त्यो ऐतिहासिक पोखरी आफ्नो मूल स्वरूपमा फर्केको छ । सारा नेपालीहरूको निम्ति त्यो गौरवको विषय बनेको छ । त्यहाँ सिमेन्ट र कङ्क्रिटको प्रयोग गरी कुनै भौतिक संरचना बनाएको भए सायद न त्यो आकर्षक हुने थियो, न त्यसको अलग पहिचान नै कायम हुन सम्भव हुन्थ्यो ।
राज्यका घुम्ने मेचमा बसेका अधिकारी र प्राविधिकहरूलाई सम्पदाको खास महत्व के हुन्छ भन्ने विषयमा गहिरो प्रशिक्षणको खाँचो देखिन्छ । सम्पदा संरक्षण शासकको मनोविज्ञानसँग सम्बन्धित विषय हो । सम्पदाको मूल स्वरूप बिगार्नु सांस्कृतिक हस्तक्षेप र हमला हो । काठमाडौँ उपत्यकाका सबै सम्पदाले यहाँको कला–संस्कृति, सभ्यता र इतिहासको प्रतिनिधित्व गरिरहेका हुन्छन् । यी सम्पदालाई विरूप बनाउँदा यहाँको पहिचान, कला–संस्कृति र सभ्यतासमेत हराउँदै जानेछ । त्यसकारण सम्पदाको मौलिक स्वरूपको संरक्षणमा सबै सजग हुन जरूरी छ । सबै ठाउँका जनता जीउभरि आँखा राखेर सम्पदाको मौलिकता संरक्षणमा जागरूक हुन जरूरी छ । कमलपोखरीमा सिमेन्टको भौतिक संरचना बनाउने योजनाप्रति खेद जनाऔँ । सम्पदा संरक्षण र मौलिकता जोगाउन अग्रसर बनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *