भर्खरै :

टोपीबिनाको नेपाली राष्ट्रिय परिचयपत्र !

मौसम र आफ्नो रुचिअनुसार भादगाउँले, ऊनी वा ढाका जे लगाऊँ टोपी नेपालीको पहिचान हो । हिमाल, पहाड, तराई जहाँ रहे पनि वा हिन्दू, बौद्ध, क्रिश्चियन, मुस्लिम जे भए पनि टोपी पहिरिनुमा हामी गर्व गर्छौँ । तर, अहिले यसको महत्व भुसुक्कै भुल्न थालिएको छ ।
पञ्चायती कालमा नागरिकता बनाउँदा टोपी लगाएको फोटो हुनु अनिवार्य थियो । बाहिरै, ‘टोपी खोइ ?’ लेखिएको हुँदा, टोपी नलगाई गएको भए पनि जिल्ला प्रशासन कार्यालयको गेटबाट भित्र छिर्नुअघि टोपी लाउनैपथ्र्यो । बहुदलीय व्यवस्थासम्म टोपीको महत्व उति घटेको थिएन । तर, गणतन्त्रपछि स्वतन्त्रताको नाममा, नेपाली पहिचान टोपीको बेवास्ता गर्न थालियो । टोपी नलाएकै तस्वीर टाँसेर नागरिकता बनाउँदा सुहाएको ठान्न थालियो । टोपी लाउनु त कुरै छोडौँ, कतिपय अवस्थामा युवाहरूले लामो बनाएर कपाल पाल्नु र युवतीहरूले कपाल छोट्याउनुलाई पो ‘राम्रो’ र ‘सभ्य’ मान्न थालियो ! टोपीको नेपाली महत्व आफैँ बुझ्ने कोही भएनन् । नबुझ्नेलाई बुझाइदिने पनि भएनन् । खाली गोपाल योञ्जनको शब्द, सङ्गीत र स्वरको ‘मेरो टोपी कैलाशको शिरजस्तो’…! गीतमा मात्रै टोपीको महत्व सीमित रह्यो । तैपनि, लाउनेले अझै पनि टोपी लाएकै छन् । पछि आएर टोपीको महत्व बुझाउनकै लागि होला, अङ्गे्रजी नयाँ वर्षलाई ‘टोपी दिवस’ को रूपमा मनाउने चलन पनि चलाउन थालिएछ ! अरू दिन नलाए पनि त्यस दिन दिदीबहिनीले समेत टोपी लाएको तस्बीर सामाजिक सञ्जालतिर देखिने गरेको छ । तर, यो चलन एकदिने औपचारिकतामा मात्र सीमित बन्न पुगेको छ ।
यतिखेर देशमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम थालिएको छ । परिचयपत्रका लागि वडा–वडामा टोली आएका छन् । यो बेलामा टोपी अनिवार्य लाउनुपर्ने नियम बनाएर टोपीको महत्व पुनःजागरण गर्न सकिएको भए ज्यादै राम्रो हुन्थ्यो । तर, त्यहाँ त झन् टोपी लाएर गएकालाई समेत फुकाल्न लगाएर तस्बीर खिँचिदो रहेछ । किन त्यसो गरिएको होला ? यस्तो भोग्नुपर्दा साह्रै नराम्रो लाग्यो ।
टोपीबिनाको नेपाली राष्ट्रिय परिचयपत्र कसरी हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *