साम्राज्यवादी नीतिको विरोध विश्वभर फैलिँदै
- आश्विन १०, २०८३
सन् १९६५ को चीन–भारत सीमा युद्धमा भारतका केही सैनिकहरूलाई चीनमा युद्धबन्दी बनाइएको थियो । तर, चिनियाँहरूले आफ्नो स्वभावअनुसार ती भारतीय सैनिकहरूलाई बन्दीको रूपमा व्यवहार गरेनन् बरु आफ्नै दाजुभाइसरह ठाने र घाइते भारतीय सैनिकहरूलाई पनि राम्ररी औषधि उपचार गरे । चिनियाँहरूको यस्तो व्यवहारबाट ती भारतीय सैनिकहरू ज्यादै प्रभावित भए र तिनीहरूप्रतिको मैला विचारहरू धोइए । ती सैनिकहरू आफ्नो देश भारतमा फर्केपछि आफूले नचिताएजस्तै राम्रो व्यवहार भएको कुरा सुनाए । तर, भारत सरकारले ती सैनिकहरूलाई तत्कालै सेनाबाट हटाइदियो । यसरी चिनियाँहरूको व्यवहारबाट प्रभावित सैनिकहरूलाई चिनियाँहरूद्वारा ‘ब्रेनवास’ गरिएका सेना भनी सेवाबाट अवकाश दिएका थिए ।
माथिको घटनालाई मनन गर्दा ‘ब्रेनवासिङ्ग’ शब्द त्यति जटिल देखिँदैन किनकि कसैको कुनै वस्तुमाथिको विचार र धारणालाई परिवर्तन गर्नु वा हुनु नै ‘ब्रेनवासिङ्ग’ हो । अब प्रश्न उठ्छ, ‘ब्रेनवासिङ्ग’ को यस्तो सरल परिभाषापछाडि अपराध शब्द गाँस्नुको तात्पर्य के ? हो, चिनियाँहरूले भारतीय बन्दीहरूको मन जितेर लिए, अझ स्पष्टरूपमा भन्ने हो भने चिनियाँहरूको सुशील व्यवहारले ती भारतीय सैनिकहरू आफ्नो धारणालाई परिवर्तन गर्न बाध्य भए । यसमा चिनियाँहरूले केही अपराध गरेनन् ¤ तर, ‘ब्रेनवासिङ्ग’ को नाममा आज पश्चिमी देशमा भएको एक दुई कामलाई कोट्याएर हेर्दा अब ‘ब्रेनवासिङ्ग’ शब्दले भयङ्कर रूप धारण गरेको देखिन्छ । त्यसैले आज यो शब्द राजनैतिक क्षेत्रमा विशेषरूपले चर्चित छ ।
पश्चिमी मुलुकका मनोवैज्ञानिकहरूका अनुसार ‘ब्रेनवासिङ्ग’ शब्दको उत्पत्ति चिनियाँ भाषाको ‘हिस–नाओ’ (his-nao) शब्दबाट भएको हो । चिनियाँ भाषामा यस शब्दको अर्थ ‘दिमाग परिवर्तन’ अथवा ‘हृदय परिवर्तन’ हुन आउँछ । त्यसको अनुवाद अङ्ग्रेजीमा ब्रेनवासिङ्ग (brain-washing) हो । वास्तविकरूपमा ‘ब्रेनवासिङ्ग’ शब्दको मूल अर्थ एकदमै सरल भएर पनि आज विभिन्न देशका सरकारहरूले आफ्नो विचारसँग असहमत राख्नेहरूलाई जबरजस्ती शारीरिक र मानसिक यातना दिन्छन् – आफ्नो इसारामा नाच्न लगाउन ! यस्तो जबरजस्ती विचार लाद्ने कामलाई indoctrination (कुनै सिद्धान्त पढाउनु, सिकाउनु) भनिन्छ ।
आज संसारमा indoctrination अथवा अर्को शब्दमा ‘ब्रेनवासिङ्ग’ गर्न दुई तरिका अपनाइन्छ– प्रचार माध्यम र चिकित्सा माध्यम । प्रचार माध्यमबाट सत्यलाई झूठो र झूठोलाई सत्य जस्तोपारी व्यापकरूपमा प्रचार–प्रसार गरिन्छ । यस कार्यमा सञ्चार साधनको उपयोग गरिन्छ । ‘चीनमा ६० वर्ष नाघेका बुढाबुढीलाई मारिन्छ’ भन्ने व्यापक हल्ला भएको थियो । त्यसको प्रभाव नगण्यरूपमा आज पनि पाइन्छ । यो मानिसहरूको दिमागलाई सत्यबाट धेरै टाढा राख्ने दुस्साहसको उदाहरण थियो ।
अमेरिकी सरकारले विश्वमा समाजवादी विचारको विरुद्ध प्रचारप्रसार गर्न आफ्नो बजेटमा १५ गुणा वृद्धि गरेको सुनिन्छ । अमेरिकासँग करिब १२०० वटा चलचित्र र ३५०० वटा भिडियो चलचित्रहरू छन् जसको माध्यमले प्रतिक्रान्तिकारी भावना एवम् कम्युनिस्टविरोधी विचार पैदा गर्न सहयोग पु¥याउँछ ।
यसलाई सूचना साम्राज्यवाद पनि भनिन्छ । संसारको धेरै देशमा आज बन्दीहरूलाई आफ्नो विचारसँग सहमत तुल्याउन अथवा ‘ब्रेनवास’ गर्न एउटा तरिका अपनाइन्छ । जसमा ती युद्ध बन्दीहरूलाई मानसिक एवम् शारीरिक यातना दिइन्छ । यस ‘ब्रेनवासको’ विधिअन्तर्गत तिनीहरूलाई एक्लै राखी सूचनाका (पत्र–पत्रिका, रेडियो, घरायसी चिट्ठीहरू) बाट वञ्चित गराउने, निर्देशनअनुसार मात्र खाने, लुगा धुने र सुत्न लगाउने, बेला–बेलामा निन्द्रा र खानाबाट वञ्चित तुल्याउने, रक्षक (गार्ड) हरूको उपस्थितिमा आफ्नो शिर झुकाउन लगाउनेजस्ता क्रियाकलाप गर्न लगाई ती बन्दीहरूलाई पशुसरह व्यवहार गरिन्छ ।
योभन्दा पनि अपराधपूर्ण एवम् घृणित उपाय चिकित्सा विधिलाई लिन सकिन्छ । अमेरिकाको ‘दोस्रो सरकार’ सीआईए (केन्द्रीय गुप्तचर विभाग) र बेलायतले सरकारी तवरमा ‘ब्रेनवासिङ्ग’ का परीक्षणहरू गर्न लगाएका छन् । आफ्नो देशमा गर्दा बदनामी हुने डरले ती सरकारहरूले क्यानाडाको एक विश्वविद्यालयमा परीक्षण गरेका थिए ।
यो दुई सरकारहरूको निर्देशनमा क्यानाडाको मोनट्रियल (Montreal) स्थित मेक गिल विश्वविद्यालयको ऐलान मेमोरियल इन्स्टिच्युटमा दुई जना विश्व प्रसिद्ध वैज्ञानिकहरूद्वारा भिन्नाभिन्नै रूपमा ‘ब्रेनवासिङ्ग’ सम्बन्धी परीक्षणहरू १९५० देखि गराइएको थियो । यो कुरो केही महिनाअगाडि मात्र प्रकाशमा आएको थियो ।
पहिलो किसिमको परीक्षण जिम्मेवाररूपमा र सैनिक गोप्यताको रूपमा गरिएको थियो । यो परीक्षण डा. डोनाल्ड हेबले केही विद्यार्थीहरूमाथि गरेका थिए । डा. हेब मानसिक एवम् नसासम्बन्धी रोगका ठूलो र प्रख्यात विशेषज्ञ मानिन्छ । उनी मेक गिल विश्वविद्यालयको मनोविज्ञान विभागका अध्यक्ष र क्यानाडाका नागरिक थिए ।
परीक्षण सुरु हुनुअगाडि मोनट्रियल सहरका रिज कारलिटन (Ritz Carleton) नामक होटलमा २१ जून, १९५१ मा एउटा गोप्य बैठक भएको थियो । जसमा डा. हेब, क्यानेडियन रक्षा अनुसन्धान बोर्डका सदस्यहरू, बेलायतको रक्षा अनुसन्धान नीति शाखाका अध्यक्ष सर हेनरी रिजार्डलगायत सीआईएका दुई प्रतिनिधि सामेल थिए ।
डा. हेबले आफ्नो परीक्षण ६३ जना स्नातक तह उत्तीर्ण नगरेका (अन्डर–ग्राजुएट) विद्यार्थीहरूमाथि गरेका थिए । ती विद्यार्थीहरूलाई दिनको २० पाउन्ड भाडा दिइएको थियो । डा. हेबले ती विद्यार्थीको ज्ञानेन्द्रिय शक्ति (मुख्य आँखा र कान) लाई प्रभावित गरी यसबाट मस्तिष्कमा प्रभावको बारेमा अध्ययन गरेको थियो । उनले प्रत्येक विद्यार्थीहरूको कानको प्वाल र आँखामा पट्टी लगाइदिए र हरेकलाई अलग अलग सानो कोठा (Cell) मा राखे । यस्तो प्रक्रिया करिब ६ दिनसम्म जारी राखे । त्यसबाहेक विभिन्न विधिहरू प्रयोग गरिए । आफ्नो अनुसन्धानको अन्तमा डा. हेबले ती विद्यार्थीहरूमा भूत–प्रेत भएको कुरोलाई विश्वास दिलाउन सकिने कुरो पत्ता लगाए । १९५३ मा उनले आफ्नो परीक्षणको सारमा ‘मानिसको बौद्धिक क्षमतालाई घटाउन सकिने’ कुरो लेखे । अमेरिकी मानसिक रोग निवारण परिषद्ले डा. हेबलाई आफ्नो परीक्षणको विवरण दिन आग्रह ग¥यो । तर, उनले साँचो कुरो लुकाए । डा. हेबको यस परीक्षणबारे विभिन्न अखबारमा चर्चा चल्न थाल्यो र १७ अप्रिल १९८६ को न्यु योर्क टाइम्स पत्रिकामा यो खबर छापिएपछि क्यानाडाको रक्षामन्त्रीले उक्त परीक्षणबारे सम्पूर्ण जानकारीको माग गरे । ८ दिन पछि डा. हेबबाट रक्षामन्त्रीले एक गोप्य पत्र पाए । डा. हेबले उक्त पत्रमा ‘ब्रेनवासिङ्ग’ र indoctrination सम्बन्धी परीक्षणको परिणामबारे कसैलाई बताउने आदेश उनलाई नभएको कुरो लेखेका थिए । तर, पनि अन्तमा एउटा अखबारमा हेबको कार्यबारे एउटा रिपोर्ट छापियो जसको शीर्षक ‘बौद्धिक क्षमतामा अलगपनाको प्रभाव र व्यवहारमा परिवर्तन’ थियो । डा. हेबको मृत्यु १९८५ मा भयो र उनको कार्यको पूर्ण विवरण सर्वसाधारणको निम्ति रहस्यमै बिलायो ।
यसरी डा. डोनाल्ड हेबले एकातिर आफ्नै ढङ्गले परीक्षण गरिरहेको बेला अर्का डाक्टर इवेन क्यामेरोन (Ewen Cameron) ले पनि मेक गिल विश्वविद्यालयमै त्यस्तै ‘ब्रेनवासिङ्ग’ सम्बन्धी परीक्षण गरिरहेको थियो ।Hallucinogenic LSD, Electroconvulsive therapy (ECT) र अप्राकृतिक निन्द्राले मानिसमा हुने प्रतिक्रिया र यस्तै आन्तरिक उत्तेजनात्मक चिकित्साले मानिसको मस्तिष्कमा पर्ने प्रभावबारे उनी अनुसन्धान गर्दै थिए । Hallucinogenic LSD नामक रसायनले मानिसमा नसालु वस्तुको काम गरी भ्रम सृजना गर्दछ । यो lysergic acid (C15, H15 N2 CooH नामक रसायनबाट बनाइन्छ । यो रसायन बिरालोमा प्रयोग गर्दा, बिरालो मुसोदेखि भागेको थियो । स्मरणहोस्, रासायनिक युद्धमा पनि LSD लाई प्रयोग गरिन्छ । (रासायनिक युद्धबारे थप जानकारीको लागि ‘पञ्चायत’ पूर्णाङ्क ४२ र ४३ हेर्नुहोस्–सं.) ECT भन्नाले विद्युत् प्रवाहको माध्यमले शरीरमा अप्राकृतिक सङ्कुचन ल्याउने विधि उपचार बुझिन्छ ।
डा. इवेन क्यामेरोनको अनुसन्धान अपराधपूर्ण थियो । मानसिक रोगको उपचारमा आएका करिब ९ जना स्त्री एवम् पुरुषलाई गिनी पिग) (guinea-pig) रसायनहरूको प्रभावबारेमा जानकारी प्राप्त गर्न धेरैजसो चिकित्सा क्षेत्र एवम् जीवशास्त्रको अनुसन्धान प्रयोग गरिने एक पशुलाई जस्तै आफ्नो प्रयोगको शिकार बनाए । उनको प्रयोगबाट ती ९ जना रोगीहरूले आफ्नो मानसिक र शारीरिक क्षमतामा पूर्णतया विकृति आएको कुरा बताएका छन् ।
डा. क्यामेरोनको परीक्षणको शिकारमा परेका ९ जनामध्ये क्यानाडाको भू. पू. संसद सदस्यकी पत्नी भेल्मा अरलिको पनि थिइन् । उनी १९५६ मा एक छोरीलाई जन्म दिइसकेपछि कमजोरी रोगको कारणले ऐलान मेमोरियल इन्स्टिच्यूटमा उपचार गराउन गएकी थिइन् । उनको उपचारको बेला उनलाई एउटा सानो कोठामा अलग्गै राखी औषधि ख्वाइन्थ्यो र बारम्बार उनको र डा. को बीचमा भएको वार्तालापको टेप सुनाइन्थ्यो । दुई वर्षसम्म यस्तो उपचारपछि भेल्मालाई १४ पटक सम्म LSD दिइयो र सधँै घण्टौँसम्म उक्त टेप सुनाइएको थियो । यस्तो उपचारको प्रविधिलाई Psychic driving (साइकिक ड्राइभिङ्ग) भनिन्छ । क्यामेरोनको अनुसन्धानको प्रमुख विशेषता पनि यही नै थियो । यसको मुख्य उद्देश्य मानिसको वर्तमान व्यवहारलाई बिगार्नु थियो । यस्तो स्वीकृतिपन ल्याइनेलाई नै depattorning अथवा प्रचलित शब्दमा ‘ब्रेनवासिङ्ग’ भनिन्छ । डा. इवेनले भेल्मालाई सात वर्षसम्म यस्तो उपचार गरे र त्यसपछि भेल्माले अरू बढी उपचार गराउन मञ्जुर गरिनन् । उनलाई करिब दिनको ६ घण्टासम्म ‘साइकिक ड्राइभिङ्ग’ प्रविधि उपयोग गरिएको थियो । आज तिनी फेरि उही रोग (पुरानो कमजोरी) ले ग्रस्त छिन् र बिना औषधिले सुत्न पनि सक्दिनन् । उनी भन्छिन्, ‘पहिले म धेरै पढ्थेँ तर आज एउटा लेख पढ्नलाई मलाई धेरै पटक दोहो¥याउनु पर्छ र केही बुझ्दिनँ’ ।
नौ जनामध्ये अर्को एकजना रोगी जीन चाल्र्स पेज (Jeans Charles Page) पनि थिए । उनी १९५९ मा ऐलान इन्स्टिच्युटमा मद्यपान (रक्सी) सेवनबाट रोगी (Alcoholism)भई उपचार गराउन गएका थिए । डा. क्यामेरोनले पेजलाई पनि लगातार ३० दिनसम्म ‘साइकिक ड्राइभिङ्ग’ गरे । ३६ दिनसम्म निन्द्रामा सुताइयो । इन्स्टिच्युटबाट निस्केपछि पेजसँग लिइएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘म जब बिउँझिन्छु त्यसबेला मेरो खाटको ओछयाननिर पाँच जना डाक्टरहरू उभिरहेको देख्छु र तिनीहरू मतिर औँला तेस्र्याउँदै भन्छन्, ‘मार उसलाई मार’……’ । पेज अगाडि भन्छन्, “म अहिले धेरै पढ्न सक्दिन (भेल्माले जस्तै !) ।” उपचारपछि पेज घरमा आउँदा उनको अनौठो व्यवहारबाट उनकी छोरी अलग्ग भएकी थिइन् ।
अरू सातजना रोगीहरू पनि यस्तै कुरा भन्छन् । जेनाइन हुवार्डलाई दिनको सात घण्टासम्म टेप सुनाइन्थ्यो जसमा उनलाई तिमी आमा हुन लायककी छैन भनी गाली गरिन्थ्र्यो । अर्को रोगी अहिले दिनको तीन घण्टाभन्दा बढी सुत्न सक्दिनन् र उनी निन्द्रा नआउने रोगबाट पीडित छिन् । त्यस्तै एउटी अर्की महिलाले उपचारपछि करिब दस वर्षसम्म त कसैको अनुहारलाई सम्झनसमेत सकेकी थिइनन् ।
क्यानाडाका अरू मानसिक रोग विशेषज्ञहरूले डा. इवेन क्यामेरोनले गरेको उपचार, उपचार नभई राजनैतिक स्वार्थले प्रेरित परीक्षण भनेका छन् । डा. क्यामेरोनको ‘साइकिक–ड्राइभिङ्ग’ प्रविधि मानसिक र शारीरिकरूपमा प्रयोग गर्नु खतराजनक भएको र यो तरिका उत्तर अमेरिका महादेशमा त्यस समय कुनै मानसिक अस्पतालमा प्रयोग नगरिएको बताइन्छ ।
क्यालिफोर्नियाको एक अर्को मनोवैज्ञानिक भन्छन्, “ECTर निन्द्राको औषधि प्रयोग गर्नु साधारण भएर पनि यसको साथै बिरामीको सुरु अवस्थामा LSD को प्रयोग गर्नु यस उपचारको तरिका होइन । यसबाहेक ३५ दिनसम्म ज्ञानेन्द्रिय शक्तिमा तगारो हाली कोठामा एक्लै राखी कुन डाक्टरले र कहाँ यस्तो उपचार गरेकोे छ ? त्यसैले यो उनको उपचार होइन स्पष्ट छ– यो त परीक्षण हो ।”
वास्तवमा क्यानाडाको सरकारले मेक गिल विश्वविद्यालयलाई मानसिक अनुसन्धानको निम्ति १९५० देखि १९६४ सम्ममा ५ लाख अमेरिकी डलर सहयोग गरेको थियो । त्यसमा डा. क्यामेरोनको अनुसन्धानमा खर्च भएको ७० हजार अमेरिकी डलर पनि गाभिएको छ । यसैमा १९५७ देखि १९६२ सम्म सीआईएले ८४,८२० अमेरिकी डलर थपिदिएको थियो । सीआईएले उक्त रकम सहयोग दिएको बारे क्यानाडाको उपभोक्ता मामिलाका मन्त्री माइकल कोटले भनेका थिए । तर, क्यानेडियन रक्षा अनुसन्धान बोर्डका भू.पू. अध्यक्ष ओमान्ड सोलेन्द्रले ‘हामीले सीआईएलाई क्रमिकरूपमा सहयोग गर्दै आएका छौँ’ भनेका थिए । यहाँनिर कुरो बाझिन पुगेको थियो ।
डा. क्यामेरोनको अनुसन्धानको शिकारमा परेका ९ जनाले सीआईएविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा हालेका छन् । यो मुद्दालाई वासिङ्गटनका वकिल आयोसेफ राहले लिएका छन् । डा. क्यामेरोनको परीक्षण सीआईएसँग सम्बन्धित भएको बलियो प्रमाण मोन्ट्रयल सहरको वकिल फिलिप कत्लले फेला पारेको छ । उनले भेट्टाएको प्रमाणमा डा. क्यामेरोनले १९५६ मा सीआईएसँग आर्थिक सहयोगको माग गरेको र आफ्नो परीक्षणको सफलताको बारेमा पनि उल्लेख गरेको थियो ।
यसप्रकार आजभोलिको ‘ब्रेनवासिङ्ग’ देखि हरपल सतर्क हुनु आवश्यक देखिन्छ । भोलि सीआईए र यस्तै अरू जासुसी संस्थाले आफूसँग वैचारिक मतभिन्नता राख्ने राजनीतिज्ञलाई ‘ब्रेनवासिङ्ग’ गर्न के बेर लगाउला र ? विभिन्न जासुसी उपन्यासमा त हामी यो धेरै वर्ष पहिलेदेखि नै पढिआएका छौँ ।
सहयोग सामग्रीः
१) New Scientist 6 Nov.1986
२) Soviet Military Review-No.6,1986
३) Encyclopedia: (i) Britanica / (ii) America को सम्बन्धित अंश
स्रोतः पञ्चायत वर्ष ५, अङ्क ९, २०४४
Leave a Reply