भर्खरै :

यसपालि पनि जिल्मिल्यायो

फेरि पनि जिल्मिल्यायो भारतले । यसपल्ट त बिरालोले मुसो खेलाएजस्तै ग¥यो । विचरा सीधा स्वभावका, दायाँ–बायाँ, छका–पञ्जा नजान्ने वा कम जान्ने हाम्रा परराष्ट्रमन्त्री दिल्ली गए रित्तै फर्के । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त नेपाली परराष्ट्रमन्त्री ज्ञवालीलाई चरो–मुसो के आएको हो भन्नेसम्म पनि गरेनन् । प्रदीप ज्ञवाली सायद मोदीसँग ठूल्ठूला कुरा गम्भीर एवम् संवेदनशीलरूपमा राखौँला भन्ने सूरमा गएका थिए तर हिस्स बुढी खिस्स दाँत भने जसरी फर्के । यो बेला भारत यात्राको अनुकूल वातावरण नै थिएन । तर, किन हो आफूलाई धुरन्धर चतुर ठान्ने प्रधानमन्त्री केपी शर्मा ओली पनि जिल्लिए । अरूभन्दा महाधूर्त र विलक्षण चतुर अर्को प्राणी पनि छ भन्ने पत्तै पाएनन् । अन्यथा, यसरी जिल्मिलिनुपर्ने थिएन । भारतद्वारा अतिक्रमित नेपालको भूभाग भएको नक्सा सरकारी थिङ्कट्याङ्कले ब्यानरको पृष्ठभागमा नेपालको पुरानै नक्सा राखेर नेपालको नयाँ नक्साप्रति आफ्नो अप्रसन्नताको सङ्केत घुमाउरो पाराले प्रस्तुत ग¥यो । भारत यस्ता मामिलामा बिछट्टै चतुर छ आफ्नो राष्ट्रको छवि कसरी बढी उज्यालो पार्ने भन्नेमा कुशल पनि छ । तर, दिल्लीस्थित नेपाली राजदूतावास यस्ता मसिना कुरामा खासै खायस राख्दैन अन्यथा यस्तो हुने थिएन । हाम्रा अहिलेका दिल्लीस्थित राजदूत राजनीतिक व्यक्ति हुन् नीलाम्बर आचार्य । तर, यस्ता सूक्ष्म कुरामा उसको ध्यान जान सकेन त । हाम्रा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुरानो नक्सा भएको सभामा जान मेरो राष्ट्रले अनुमति दिँदैन भन्न सक्नुपर्ने ।
काँचो कूटनीति
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने नभेट्ने टुङ्गो पनि समयमा लगाएनन्, दोधारमै राखे । यदि समय छँदै मोदीले परराष्ट्रमन्त्री ज्ञवालीलाई नभेट्ने भन्ने थाहा भएका भए नेपाली जनता कराउँथे । यो भ्रमण रोकिनुपर्छ भन्थे । भारतका ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग झन्डै तीन घण्टा राति एक्लै मन्त्रणा गर्ने नेपाली प्रधानमन्त्री ओली यता । उता मोदी हाम्रा परराष्ट्रमन्त्रीलाई पनि नभेट्ने ? यो त अपमानको पनि पराकाष्ठा नाघेन र ? हुँदा हुँदा भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटी फर्के ज्ञवाली । राजनाथ सिंह कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एकतर्फी निर्णयबाट मोटर सडक बनाउने नकामको नेतृत्व गर्ने र सडकको औपचारिक उद्घाटन गर्ने भारत सरकारका रक्षामन्त्री हुन् । प्रधानमन्त्री मोदीले नभेट्ने तर राजनाथले भने भेट्ने के तारतम्य हो नेपाली कूटनीतिले भेउ नै पाएन । मुलुकभित्र ठूलो राजनीतिक मुद्दा उठिरहेको छ । सङ्घीय संसद् विघटित छ । यो विघटन वैध कि अवैध भन्ने मुद्दामा संवैधानिक अदालतमा बहस भइरहेको छ । यस्तो सङ्गीन अवस्थातर्फ किन ध्यान दिइएन ? के देखेर वा के उपलब्धि हात पर्छ भनी परराष्ट्रमन्त्री ज्ञवाली भारत गएका हुन् ? पूर्ण तयारीबिना किन भारत भ्रमण रोकिएको हो ? सारै आलो काँचो राजनीति भयो । नेपालको कूटनीतिक मामला अति अपरिपक्व ! यसरी कसरी हुन्छ ?
डोभलसम्मले पनि भेटेनछन् !
यहाँसम्म अनर्थ भयो नेपालका परराष्ट्रमन्त्री ज्ञवाली अरू त अरू मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग समेत कुरा गर्न पाएनन् । ज्ञवालीलाई शुक्रबार अपराह्नदेखि शनिबार अपराह्नसम्म कुनै पनि बेला भेट्नका लागि समय आउँछ भनी कुराए, त्यहीअनुसार तयार रहेका थिए ज्ञवाली । तर, व्यर्थ भयो । यो कति ठूलो अपमान भयो ! नेपालको प्रतिनिधिसभा विघटनपछि नयाँ आम निर्वाचन हुन्छ वा संसद् पुनःस्थापना हुन्छ दोधारै छ । यस्तो अवस्थामा ओली पक्षको नजिक हुँदा भोलि प्रचण्ड पक्ष हावी भयो भने भारतको स्थिति असजिलोमा पर्ने सोचले ज्ञवालीसँग मोदीले नभेटेका हुन् भन्ने पक्ष पनि कमजोर छैन । नेपाल सीमा समस्या यथाशक्य छिटो निर्णयमा पुगोस् भन्ने चाहन्छ तर भारत यो कुरालाई चरम उपेक्षा गरिरहेको छ । भित्रभित्र भारत के गरिरह्यो थाहा हुँदैन । तर, नेपाल के गरिरहेको छ भारत सबै थाहा पाउँछ । नेपाल निकै असजिलो स्थितिमा छ । नेपाली राजनेताहरू आफ्नो राजनीतिक माध्यमप्रति निष्ठावान छैनन् । पद र पैसाका लागि दर्शन, आस्था–निष्ठा र सिद्धान्तलाई तिलाञ्जली दिने बानी परेका छन् । जब राजनीति पद र पैसामा लालच गर्न थाल्छ तब जनताले पनि मन पराउँदैनन् । जनतालाई पैसा खुवाउने गलत प्रवृत्ति पनि विकास हुनथाल्छ । यो भो अन्तर्देशीय विकृति । यस्ता नचाहिँदा कुरा छताछुल्ल भएपछि विदेशी शक्तिले खेलाउन थाल्छ । यो नौलो होइन ।
पूर्ण कूटनीतिक असफलता
नेपाल–भारत दुई देशबीच धेरै समस्या छन् । तर, सबै कुरा मैत्रीपूर्ण वातावरणमा समाधान खोज्ने भनिन्छ । यता कुरा टुङ्ग्याइँदैन, उल्टो टङ्ग्याएर राखिन्छ । वर्तमान भारतद्वारा अतिक्रमणको मुद्दामा नेपालसँग मजबुत प्रमाण सङ्कलन भएजस्तो लाग्छ । तसर्थ, भारत सरकार मुद्दा टुङ्ग्याउन होइन टङ्ग्याउने रणनीतिमा छ जस्तो लाग्छ । दुई पक्षबीच दिल्लीमा छलफल हुँदा पाँच समूहअन्तर्गत सबै पक्षमा समष्टिगत छलफल भयो रे । दुईपक्षीय सहयोगको प्रवद्र्धन गर्नेमा पनि सहमति भयो रे । यो सहयोगको रकम बढाएर अरू गम्भीर सीमा अतिक्रमणजस्ता मुद्दामा ओझेल पार्ने कूटनीतिक राजनीति लिएको पनि हुनसक्छ । भारतले दिन्छु भनेका र हुन्छ भनेका धेरै कुरा छन् तर कहिल्यै कार्यान्वयन हुँदैनन् । पञ्चेश्वरको डीपीआर विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने भनिएको कति वर्ष भयो भारत सरकारले क्यालेन्डरको पाना पल्टाओस् त ? महाकालीको अमूल्य पानी एक्लौटी प्रयोग गरिरहेको छ भारतले । नेपाल हेरेको हे¥यै छ । नेपाली भूमि कब्जा गरेको पनि ६० वर्ष पुग्न आँट्यो । यी दीर्घकालीन मुद्दा यसपाला त निरूपण होला कि भन्ने थियो तर भएन । भारत सरकारले ठाडै जालझेल ग¥यो यसपाला त । यो कुरा दिउँसोको कामझैँ छर्लङ्ग भएन र ? यो त नेपालको कूटनीतिको पूर्ण असफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *