भर्खरै :

राजमार्ग दायाँ–बायाँ सहर विकास बेठीक

काठमाडौँ, ५ माघ । “पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ सहरको विकास गरिएको उचित भएन । राजमार्गको ५–६ किमिभित्र मात्र सहरको विकास गरिनुपर्छ । आवास क्षेत्रमा भारी सवारी साधन डोजर, टिपर सञ्चालन भइरहेको पनि बेठीक हो । यो संवेदनशील विषयमा मन्त्रालयदेखि प्रशासन–प्रहरीको ध्यान जानु आवश्यक छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसले क्याम्पसको सभाकक्षमा आयोजना गरेको ‘जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाको मापन तथा नीति अध्ययन’ विषयमा भएको छलफलमा राख्नुभएको थियो ।
सिंहदरबार भद्रगोल हुँदा यसको प्रभाव जिल्ला–जिल्लामा परेको उल्लेख गर्दै उहाँले बढ्दो जनसङ्ख्यासँगै काठमाडौँमा खानेपानी र फोहरमैलाको समस्या, अपराध र प्रदूषणको वृद्धि भएको बताउनुभयो ।
सचिव सुवालले गृहमन्त्रालयको व्यवस्थापनमा वितरण हुने सामाजिक सुरक्षा भत्ता स्थानीय तहमाथि सम्बन्धित व्यक्तिको हातसम्म पुग्ने बन्दोबस्तलाई हटाई बैङ्क खातामा जम्मा गराइँदा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग, एकल महिलालाई दुःख भएको उल्लेख गर्दै प्रशासन र प्रहरीले मन्त्रालय वा माथिको दबाबमा जनताको समस्यालाई बेवास्ता गर्न नहुने बताउनुभयो ।
नेपाली युवालाई राहदानी दिएर घर–खेत बेच्न लगाई वैदेशिक रोजगारीमा पठाउन नहुने र नेपाली नागरिकताबाट वञ्चित नहुने बनाउन खुला सीमा नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।
गैरसरकारी संस्थाको नाममा देशलाई नवउपनिवेश बनाइनेतर्फ प्रशासन र प्रहरी सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले देशको सन्तुलित विकास र निर्माण भइसकेको भौतिक पूर्वाधार आयोगको निम्ति बसाइ–सराइलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुरको परम्परागत सीपमा आधारित हस्तकलाका उद्योग सञ्चालन गर्न स्थापना गरिएको भक्तपुर साना उद्योग क्षेत्रमा ध्वनि, धुवाँ र रसायन प्रदूषण फालेका टेक्सटाइल, प्लास्टिक, रङ्गरोगन उद्योगहरू स्थापना गरी जनस्वास्थ्यमा हानि पु¥याइएको तर्फ स्थानीय प्रशासन र प्रहरीको ध्यान जानुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
छलफलमा नेकपा ओली पक्षका बाबुराम दाहाल, जसपाका सुरेन्द्रकुमार झा, नेपाल बारका शिवराज पण्डित, गृहमन्त्रालयका कृष्ण पौडेल, जिल्ला प्रशासन भक्तपुरका प्रशासकीय अधिकृत दीपक न्यौपानेलगायतले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *