भर्खरै :

नेपालीलाई कुन नामले चिन्ने ?

२००७ सालको वरपर भारतमा नेपालीलाई ‘दरवान, कुल्ली र पिउन’ को नामबाट चिनिन्थ्यो । २००७ साल पहिले र आजसम्म पनि एसिया, अफ्रिका, ल्याटिन अमेरिकी देशहरूका मात्रै होइन उत्तर अमेरिकी देशका जनताले समेत नेपाली वा ‘गोर्खाली’ लाई ‘भाडाका लडाकु’ सम्झन्छन् । युरोपेलीहरूले त ‘गोर्खाली’ को अर्थ ‘बेलायती–भारत’ (ब्रिटिस–इन्डिया) ले नेपाललाई अर्ध–उपनिवेश बनाई नेपाली युवालाई बेलायतले भाडाका सिपाही बनाएको हो भन्ने सम्झन्छन् । अमेरिकी राजदूत मोहियानले सन् १९८० को दशकमा संयुक्त राष्ट्र सङ्घको बैठकमा ‘गोर्खाली’ वा ‘नेपालीहरू’ लाई ‘मर्सेनरिज’ (भाडाका सिपाही) भनेका थिए ।
पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतीहरूले गोर्खाली सेनालाई विभिन्न देशको लडाइँमा प्रयोग गरेका थिए र अनेक देश जितेका थिए । जलियावाला बागमा भेला भएका प्रदर्शनकारीको सबै बाटो छेकेर भारतीय स्वतन्त्रता आन्दोलन दबाउन बेलायती उपनिवेशवादीहरूले चारैतिर घेरेर गोर्खाली सिपाहीहरूबाट हत्याकाण्ड मच्चाएका थिए । गोर्खालीहरूबाट बच्न कतिपय भारतीय महिलाले आ–आफ्ना बच्चालाई पहिले इनारमा फाले र पछि आफै इनारमा हामफाले ।
स्वतन्त्रताका पक्षपाती भारतीयहरूले स्वतन्त्रतापछि गोर्खा पल्टन विघटन गर्ने चर्चा चलेको बताइन्थ्यो । तर, स्वतन्त्रतापछि भारतीय पुँजीवादी सरकारले अङ्ग्रेजसँग मिलेर गोर्खा भर्तीकेन्द्र र गोर्खा पल्टनमा भाग लियो । यसमा बेलायत, स्वतन्त्र भारत र २००७ सालपछि राणा र काङ्ग्रेसको नेपाल सरकारले त्रिदलीय सन्धि गरे । त्यसको लगत्तै भारत सरकारले गोर्खा पल्टन प्रयोग गरेर तेलङ्गनाको किसान आन्दोलनलाई निर्मतापूर्वक दबायो । त्यस्तै पाकिस्तान र चीनसँगको सन् १९६२ को सीमा भिडन्तमा भारतले गोर्खालीहरूको प्रयोग ग¥यो । नेपाल–भारतबीचको सन्धि एवम् नैतिकताको आधारमा पनि नेपाली गोर्खाली पल्टनलाई नेपाल र नेपालको मित्र राष्ट्रको विरोधमा प्रयोग गर्नु हुन्नथ्यो । आज पुनः भारतले सिक्किममा नेपाली गोर्खालीहरूलाई तालिम दिँदै चीनसँगको सम्भावित लडाइँमा मोहडामा राख्ने सम्भावना छ ।
ब्रिटिसहरूले गोर्खालीलाई आफ्नो विरोधमा प्रयोग गर्न दिएकोमा मलेसियाली र इन्डोनेसियाली जनता नेपाली जनतासँग गुनासो गर्छन् । सन् १८४२ को चीनसँगको अफिम युद्धमा बेलायती साम्राज्यवादले गोर्खा सेनालाई प्रयोग गरेको थियो, गोर्खालीहरूलाई धेरै वर्ष हङकङमा तैनाथ गरेको थियो । त्यसकै सिलसिला ब्रुनईको राजा (नवाव) ले पनि गोर्खाली सेना राखेका छन् । त्यहाँका जनतालाई दबाउने काममा गोर्खाली सेनालाई लगाइँदै छ । बेलायती साम्राज्यवादले गोर्खाली सिपाहीहरूलाई भाडाका सिपाही, जङ्गली जाति र मानिसको मासु खाने जातिको रूपमा प्रचार गरी इटाली, टर्की, साइप्रस र अर्जेन्टिनाको फोकल्यान्ड टापूका जनतामा आतङ्क फैलाउने काम गथ्र्यो । यसकारण, प्रजातन्त्र र समाजवादको वकालत गर्ने नेपाली काङ्ग्रेसको सरकार, पञ्चायती सरकार, एमालेको सरकार, प्रचण्ड–बाबुराम भट्टराईका सरकार र राप्रपा मधेसवादी दलका सरकारहरूले कहिल्यै गोर्खा भर्तीकेन्द्र बन्द गर्ने र विदेशी सेनामा नेपाली नागरिकलाई सुम्पने काम बन्द गरेनन् । संरा अमेरिकाले ‘निजी सेना’ राख्ने नाममा नेपालीलाई इराक, लिबिया, अफगानिस्तान आदि देशमा समेत प्रयोग गर्दा पनि नेपालका आजसम्मका सरकारहरू मौन छन् र उल्टै एमसीसीमा हस्ताक्षर गरेर देशलाई नै युद्ध मैदानमा परिणत गर्ने काम गर्दै छन् । एमसीसीको केन्द्र नेपाल बन्ने निर्णय छ ।
जलस्रोत नेपालको धन र नेपालको समृद्धिको स्रोत पनि हो । तर, जलस्रोतकै सही उपयोग नगरी काङ्ग्रेस, एमाले, प्रचण्ड–बाबुराम भट्टराईहरूले भारतका निजी कम्पनीहरूसँग समेत सम्झौता गर्ने गरी भारतीय एकाधिकार पुँजीसँग सम्झौता गरेका छन् । प्रजातन्त्र र गणतन्त्रको दुहाई दिई बेलायत, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको काखमा बस्ने शासक दलहरूलाई राम्ररी चिन्नु आवश्यक छ । यी शासक दलहरू सत्तामा पुग्न ‘कुकुर–झगडा’ गर्छन् । तर, तिनीहरू सबैका मालिक बेलायत–भारत र अमेरिकी गुट हुन् भनेमा फरक पर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *