भर्खरै :

टोल्सटायको पूरा हुन नसकेको उपन्यास “डिसेम्बरवादीहरू”

लियो टोल्सटाय नाम आउनासाथ हामी उनको उपन्यास ‘युद्ध र शान्ति’ सम्झिन्छौँ । लियो टोल्सटाय १९ औँ शताब्दीका एक महान् यथार्थवादी लेखक हुन् । ‘युद्ध र शान्ति’ उनलाई विश्व साहित्यमा चिनाउने पहिलो उत्कृष्ट उपन्यास थियो । सन् १८६३ मा ‘युद्ध र शान्ति’ लेख्न सुरु गर्दा उनी ३५ वर्षका थिए । धेरै पटकको संशोधन र पुनर्लेखनपछि मात्र सन् १८६९ अर्थात् सात वर्षपछि उक्त उपन्यास पुस्तकको रूपमा प्रकाशित भएको थियो । पुस्तकको रूपमा प्रकाशित हुनुअघि ‘युद्ध र शान्ति’ उपन्यासको प्रारम्भिक खेस्रा ‘वर्ष १८०५’ को शीर्षकमा रुसी पत्रिकामा धारावाहिकरूपमा सन् १८६५–६७ मा प्रकाशित भैसकेको थियो । त्यो धारावाहिक नै पाठकहरूबीच औधी लोकप्रिय भएको थियो ।
सन् १८२५ मा भएको डिसेम्बर विद्रोह नै रुसी उपन्यास ‘युद्ध र शान्ति’ लेखनको सुरुआती आधार वा प्रेरणा थियो भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । वास्तवमा टोल्सटाय सन् १८२५ मा भएको डिसेम्बर विद्रोहबारे एउटा सानो उपन्यास लेख्न चाहन्थे । टोल्सटायको पुस्ता डिसेम्बर विद्रोहपछि जन्मेको पहिलो पुस्ता थियो । सन् १८२८ मा रुसको एक कुलीन परिवार टोल्सटाय परिवारमा लेभ निकोलायभिच टोल्सटायको जन्म हुँदा डिसेम्बर विद्रोहीहरूलाई साइबेरिया निर्वासनमा पठाइएको दुई वर्ष भैसकेको थियो । विद्रोह र विद्रोहीहरूबारे सार्वजनिकरूपमा कुरा गर्न वा पत्रिकामा छाप्न बन्देज लगाइएको जार निकोलस दोस्रोको निरङ्कुशकालमा कुलीन परिवारको जमघटमा साउतिको भाषामा हुने छलफलहरू नै डिसेम्बर विद्रोहबारे सुचनाको आधार थियो । पुश्किन, रिलियभ, ओडेयभ्सकी र लर्मेन्टोभका प्रतिबन्धित कविताहरूमा विद्रोहीहरूको भावना र व्यक्तित्वबारे चर्चा गरिएको हुन्थ्यो । धेरै रुसी युवामा झैँ टोल्सटायको निम्ति पनि डिसेम्बरवादीहरू रहस्यमयी पात्र थिए ।

टोल्सटायले २४–२५ वर्षको उमेरमा नै उपन्यास लेखन थालेका थिए । सन् १८५४ मा लेखिएको ‘बाल्यकाल’ उनको पहिलो संस्मरणात्मक उपन्यास थियो । त्यसपछिका दुई वर्षमा उनले ‘किशोरावस्था’ र ‘युवा अवस्था’ नामक थप दुई संमरणात्मक उपन्यास लेखे । सन् १८५४–५५ मा उनी रुसको विरुद्धमा बेलायत र फ्रान्सले छेडेको क्रिमिया युद्धमा सहभागी भए । युद्धको विभिषिकाले उनलाई हतास बनायो । यही समयमा हर्जेनको सक्रियतामा रुसी भाषाको ‘ध्रुवतारा’ बुलेटिन बेलायतबाट प्रकाशित हुन थाल्यो । डिसेम्बर विद्रोह र विद्रोहीहरूका जीवन कथाहरू त्यसमा छापिन थाले जुन गुप्तरूपमा रुसभित्र पठाइन्थ्यो ।
टोल्सटाय सन् १८५७ र सन् १८६०–६१ गरी दुई पटक युरोप भ्रमणमा निस्के । भ्रमणको क्रममा फ्रान्सेली अराजकतावादी विचारक जोसेफ प्रुधोँ, फ्रान्सेली लेखक भिक्टर ह्युगो र रुसी क्रान्तिकारी अलेक्जेन्डर हर्जेनसँग उनको भेट भयो । युरोपको भ्रमणले उनको राजनैतिक विचार निर्माणमा ठूलो भूमिका खेल्यो । युद्धको अनुभव र अराजकतावादी विचारकहरूको सम्बन्धले उनी सन् १८६१ सम्ममा एक अहिंसावादी र आध्यात्मिक अराजकतावादी बनिसकेका थिए । सन् १८५७ मा फ्रान्सबाट आफ्ना एक साथीलाई लेखेको पत्रमा टोल्सटाय भन्छन्, “सत्य के हो भने राज्य नागरिकलाई शोषण गर्न मात्र होइन, नागरिकलाई भ्रष्ट बनाउन ल्याइएको एक षड्यन्त्र हो । … … अतः म कुनै पनि राज्यको कुनैपनि सेवामा आजबाट सहभागी हुनेछैन ।”
नयाँ जार अलेक्जेन्डर दोस्रोको राज्याभिषेकसँगै डिसेम्बर विद्रोहीहरूलाई आममाफीको घोषणा गरियो । ३० वर्ष साइबेरियाको निर्वासन खपेका क्रान्तिकारीहरू एक – एक गर्दै मस्को र सेन्ट पिटर्सवर्गलगायत युरोपेली रुसका सहरहरूमा फर्किन थाले । प्रतिबन्धित साहित्यहरूमा पढेका र साउतिको स्वरमा सुनेका रहस्यमयी पात्रहरूलाई प्रत्यक्षरूपमा भेट्न, सुन्न र कुराकानी गर्न पाउँदा टोल्सटायको पुस्ता रोमाञ्चित भएको थियो।
टोल्सटायका आमा भोल्कोन्सकी परिवारकाी थिईन्। साइबेरिया निर्वासित ‘दक्षिणी गुप्त समाज’ का एक नेता एवम् विद्रोहमा सामेल एकमात्र जर्नेल स्तरका उच्च सैनिक अधिकारी सर्गेई भोल्कोन्स्की टोल्सटायका मावली पट्टिका टाढाका नातेदार थिए । उनकी पत्नी मारिया भोल्कोन्स्काया आफ्ना सबै मानपदवी – सम्पत्ति त्यागेर पतिलाई साथ दिन साइबेरियाको स्वनिर्वासनमा गएकी थिइन् । पुश्किनदेखि नेक्रासोभसम्म धेरै रुसी कविहरूले उनको यो त्यागबारे आफ्ना कवितामा बयान गरेका छन् । आममाफीपछि युरोपेली रुस फर्किने धेरै डिसेम्बरवादी परिवारमध्ये भोल्कोन्स्की परिवार पनि थियो र साहित्यहरुमा बर्णित त्यो परिवार रुसी युवाहरूको निम्ति एक आकर्षणको केन्द्र थियो । कुलीन वर्गका युवाहरू आफ्नै वर्गको हितविपरीत कसरी विद्रोहमा लाग्न सक्छन् भन्ने टोल्सटायजस्ता धेरै रुसी युवाको निम्ति आश्चर्य र चासोको विषय थियो ।
उपन्यास ‘डिसेम्बरवादीहरू’
यही परिवेशमा टोल्सटायले निर्वासनबाट फर्किएका डिसेम्बरवादीहरूबारे एक उपन्यास लेख्ने योजना बनाए । फर्किएका धेरै क्रान्तिकारीहरू टोल्सटाय परिवारको निम्ति टाढाको परिचय थिएनन् । भोल्कोन्स्की, ट्रुबेत्स्कोई, मुराभयोभ, ओब्लेन्स्की, पुश्चिन, याकुश्कीनलगायत धेरै क्रान्तिकारीहरूसँग उनले प्रत्यक्ष भेटघाट गरे । डिसेम्बरवादीहरूका उपलब्ध संस्मरण र लेखहरूको व्यापक अध्ययन टोल्सटायले गरे ।
सन् १८६१ मा टोल्सटायले ‘डिसेम्बरवादीहरू’  शीर्षकमा एक उपन्यास लेख्न सुरु गरे । उपन्यास एक डिसेम्बरवादी पिटर ईभानोभिच लाभाजोभ तीस वर्षको साइबेरियाको निर्वासनपछि छ हप्ता लगाएर बग्गीमा बसेर मस्को पुगेको सन्दर्भबाट सुरु हुन्छ । उनको साथमा पत्नी मारिया निकोलायभ्ना, छोरी सोन्या र छोरा सर्गेई हुन्छन् । मारियाले ३० वर्षअघि पतिको निर्वासनमा साथ दिन साइबेरिया स्वनिर्वासन रोजेकी थिइन् भने छोराछोरी त्यहीँ जन्मेका थिए ।
पिटर साइबेरिया निर्वासित भएपछि आफूले हत्याएको सम्पत्ति फर्काउन पिटरका भाई तयार हुँदैनन् । ‘मैले नलिएको भए त्यो राज्यले लिन्थ्यो’ भन्ने भाइको तर्कलाई पिटर स्वाभाविकरूपमा लिन्छन् ।
फर्केको पहिलो दिन होटलमा सामान मिलाउँदै समय बित्छ । उनीहरूको आगमनको सूचना होटलको बिलियार्ड खेल्ने ठाउँ हुँदै रात्री भोजमा फैलिन्छ । भोलिपल्ट बिहान उनीहरू क्रेमलीनको गिर्जाघरमा प्रार्थनाको निम्ति जान्छन् । यता पिटरको अनुपस्थितिमा उनलाई भेट्न आएका धेरै मानिसले आफ्नो परिचय र निमन्त्रणा होटल मालिककोमा छोडेर जान्छन् । तीस वर्षपछि पनि धेरै समकालीनहरूले आफूलाई नबिर्सेकोमा उनी आत्मसन्तोष गर्छन् । दिउँसो पिटर र मारिया आफ्ना अविवाहिता दिदीकोमा पुग्छन्, जसलाई भाइ साइबेरियाबाट फर्केकोबारे कुनै भेउ थिएन । भेटमा दिदीभाइ भविष्यको योजना र छोराछोरीबारे कुरा गर्छन् तर छोरालाई सरकारी सेवामा लगाउनुपर्ने र छोरीलाई उपयुक्त पति भेट्टाउन सामाजिक भोजहरूमा सहभागी गराउनुपर्ने दिदीको तर्कसँग पिटर सहमत हुँदैनन् ।
भौगोलिकरूपमा धेरै लामो यात्रा गरेपनि पिटर लाबाजोभलाई साईबेरिया र मस्कोमा कुनै फरक लागिरहेको थिएन । उनको निम्ति दुवै ठाउँ आफ्नो घर जस्तै प्यारो थियो । उपन्यासमा टोल्सटायले निर्वासनबाट फर्केका डिसेम्बरवादीहरू मस्कोमै ‘क्लब र पार्टीहरूमा रमेका’ समकालीनहरूको दाँजोमा शारीरिक र नैतिकरूपमा चुस्त रहेको देखाउन खोजेका छन् ।
तर, उपन्यास लेख्दै गर्दा तीस वर्ष अगाडिको विद्रोह र साइबेरिया निर्वासनबारे नलेखी अगाडि बढ्न नसकिने अनुभव टोल्सटायलाई हुन्छ । डिसेम्बरवादीहरूका संस्मरणहरूमा कसरी सन् १८१२ को नेपोलियनविरोधी युद्धले आफ्नो विचारमा परिवर्तन ल्यायो भन्ने लेखिएका हुन्थे । तीस वर्ष अगाडिको विद्रोहबारे लेख्न पनि त्योभन्दा अगाडिको पृष्ठभूमिबारे लेख्नु आवश्यक थियो ।
सन् १८६१ मा बेलायतमा रहेका अलेक्जेण्डर हर्जेनलाई पठाएको एक चिठ्ठीमा टोल्सटायले लेखेका छन् – “ सन् १८५६ मा मैले एउटा उपन्यास लेख्नेबारे सोच्न थालेँ जसको मुख्यपात्र साइबेरियाबाट आफ्नो परिवारसहित फर्केका एक डिसेम्बरवादी हुन्थ्यो । अनिच्छुक हुँदै म १८२५ मा फर्केँ जुन सालमा मेरो नायकले अप्ठ्याराहरूको सामना गर्नुपरेको थियो । त्यसपछि मैले आफूले सुरु गरेको लेखन बिचमै छोडिदिएँ। तर, सन् १८२५ मा मेरो हिरो एक परिवारसहितको वयस्क भइसकेको थियो । उसलाई बुझ्न मैले उसको युवा अवस्थामा जानुपर्दथ्यो र उसको युवा अवस्था भनेको रुसको सन् १८१२ को गौरवशाली समय हुन्थ्यो । फेरि एक पटक मैले आफ्नो लेखन बिचमै छोडेँ र सन् १९१२ को समयबाट नयाँ उपन्यास लेख्न सुरु गरेँ ।”

यसरी सन् १८६१ मा ‘डिसेम्बरवादीहरू’ उपन्यास तीन अध्याय भन्दा अगाडि बढ्न सकेन । साइबेरियाबाट फर्केका क्रान्तिकारीहरूको कथा लेख्ने योजना यसरी लम्बिंदै तीन उपन्यासको योजना बन्यो । पहिलोमा डिसेम्बर विद्रोहको पृष्ठभूमि, दोस्रोमा विद्रोह र तेश्रोमा साइबेरिया निर्वासन  र निर्वासनबाट फर्केपछिको जीवन । पहिलो कालको कथा विश्वप्रशिद्ध उपन्यास ‘युद्ध र शान्ति’ बन्यो भने योजनाअनुसार दोश्रो र तेश्रो पुस्तक पूरा हुन सकेन ।
‘युद्ध र शान्ति’ र ‘डिसेम्बरवादीहरू’
टोल्सटायले सन् १८६३ मा युवा डिसेम्बरवादीहरू हुर्केको समयबारे उपन्यास लेख्न सुरु गरे । सन् १८१२ को युद्ध एउटा महत्वपूर्ण काल थियो । सन् १८१२ मा नेपोलियनले ६ लाख सेनाका साथ रुसमा आक्रमण गरेका थिए र हिउँदमा मस्को कब्जा गरेका थिए । मस्को सहर पूरै आगलागीमा ध्वस्त भयो तर फ्रान्सेली सेनाले मस्कोको जाडो थेग्न सकेन र रुसले हार स्वीकार्नु अघि नै बाध्य भएर फर्किनुपर्‍यो । रुसी सेना फ्रान्सेली सेना लखेट्दै फ्रान्सको पेरिससम्म पुगे र नेपोलियनको सेनालाई खतम गरे । तर, फ्रान्सेली भाषा र संस्कृतिलाई एक सय वर्षदेखि उत्कृष्ट मान्दै पछ्याइरहेका रुसी कुलीन सैनिक अधिकारीहरूको मस्तिष्कमा फ्रान्सेलीहरूको उदार र स्वतन्त्र जीवनशैली, संवैधानिक व्यवस्था, औद्योगिकरूपमा अगाडि बढेका सहरहरूले अर्को नमेटिने छाप छोड्यो । यो छाप नै डिसेम्बर विद्रोहको पृष्ठभूमि थियो ।
तर, १८१२ को समय लेख्नु अगाडि सन् १८०५ मा जानुपर्दथ्यो जुन वर्ष फ्रान्ससँग रुसको शत्रुता सुुरु भएको थियो र रुसले युद्धमा पहिलो हार खाएको थियो । यसरी ‘युद्ध र शान्ति’ उपन्यास सन् १८०५ बाट सुरु हुन्छ र सन् १८१२ को लडाइँ हुँदै १८२० को डिसेम्बरमा टुङ्गिन्छ । उपन्यासमा डिसेम्बरवादीहरूको उद्देश्य र गुप्त समाजबारे प्रस्ट उल्लेख कतै छैन तर जहाँतहीँ भविष्यका डिसेम्बरवादीहरूबारे सङ्केत पाईन्छ।

उपन्यासको सुरुमा एक सैलुनमा हुने छलफलमा १० वर्ष स्वीट्जरल्यान्डमा पढेर फर्केका कथाका मूल पात्र पियरे बेजुकोभ (पिटर बेजुकोभ)को नेपोलियनलाई कसरी हेर्ने भन्नेबारे रुसी युवाहरूसँग विवाद हुन्छ । पियारेको निम्ति नेपोलियन सकारात्मक पात्र थिए भने अरूको निम्ति नकारात्मक । सन् १८०५ यस्तो समय थियो जब सिमित मात्र रुसी युवाहरूको बाहिरी संसारसँग परिचय थियो । सन् १८१२ ले त्यो अवस्थामा ठूलो परिवर्तन ल्यायो । उपन्यासको अन्तमा अर्थात् सन् १८२० को डिसेम्बरमा पियारे दुई महिना अगाडि राजधानीमा एक महत्वपूर्ण बैठकमा सहभागी भएर फर्केको उल्लेख गरिएको छ जुन सन् १८२० को सेप्टेम्बरमा सेन्ट पिटर्सवर्गमा सेम्योनोभ्स्की रेजिमेन्टका सैनिकहरूले गरेको नरम सैनिक विद्रोहबारे थियो भन्ने अनुमान लगाउन गाह्रो छैन । गुप्त बैठकहरूमा सम्मिलित पियारे र निकोलाई रोस्तोभहरू ठीक पाँच वर्षपछि (सन् १८२५ डिसेम्बरमा) हुने विद्रोहका नायकहरू हुनेछन् भन्ने सङ्केत ‘युद्ध र शान्ति’ मा पाइन्छ ।
एक महान् लेखकको दुविधा
सन् १८६९ मा ‘युद्ध र शान्ति’ प्रकाशित भयो । तर, योजनाअनुसार टोल्सटायले डिसेम्बर विद्रोहबारे उपन्यासको अर्को खण्ड लेखेनन् वा लेख्न जाँगर देखाएनन् । त्यो किन होला ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
राज्यको कडा सेन्सर त्यसको एउटा कारण हुन सक्छ । डिसेम्बरवादीहरूलाई आममाफी दिइयो, भूदासहरूलाई मुक्त गरियो तर उदार विचारधाराअनुसार संवैधानिक र कानुनी राजको कल्पना गर्ने डिसेम्बरवादीहरूलाई नायक बनाइएको कथा जारको स्वेच्छाचारी व्यवस्थामा प्रकाशित हुन सम्भव थिएन ।
डिसेम्बर विद्रोहबारे लेख्न विषयवस्तुबारे आफूलाई पर्याप्य ज्ञान भैनसकेको टोल्सटायको अनुभव अर्को कारण हुन सक्थ्यो । ‘युद्ध र शान्ति’ लेख्नको निम्ति उनले १८१२को लडाईंका पात्र र कागजातहरूबारे व्यापक अध्ययन र अनुसन्धान गरेका थिए । डिसेम्बर विद्रोहपछि भएको सरकारी अनुसन्धानका कागजातहरूमा पहुँचको निम्ति टोल्सटायले धैरै पटक निवेदन दिएका थिए । तर, जारले त्यसलाई स्वीकार गरेन ।
यद्यपि, त्योभन्दा पनि महत्वपूर्ण कारण डिसेम्बर क्रान्तिकारीहरूबारे उनको कहिल्यै नमेटिएको दुविधा हो भनी केही लेखकहरू तर्क गर्छन् । डिसेम्बर क्रान्तिकारीहरू तत्कालीन रुसी समाजमा नैतिकरूपमा सबभन्दा योग्य र स्वच्छ व्यक्तित्वहरू थिए । सरकारी र सैनिक सेवामा रहेर पनि उनीहरू सरकारी सेवामा रहेको भ्रष्टाचारको बिगबिगीलाई निर्मूल गर्न दृढ व्यक्तित्वहरू थिए । रुसमा सदारवादी सुधारको निम्ति आफ्नो ज्यान दिन पनि तयार ब्यक्तित्वहरु थिए डिसेम्बरवादीहरु। टोल्सटायजस्ता युवाहरूलाई डिसेम्बरवादीहरूको उद्देश्यका साथसाथै उनीहरूको स्वच्छ र त्यागी व्यक्तित्वको नैतिक बलले सबभन्दा बढी तान्थ्यो । तर, एक अहिंसावादीको नाताले सैनिक विद्रोहद्वारा सत्ता कब्जा गर्ने डिसेम्बरवादीहरूको कार्यशैलीमा टोल्सटाय कहिल्यै सकारात्मक हुन सकेनन् । आफूले खोजेको नायकका सबै गुणहरू डिसेम्बर क्रान्तिकारीहरूमा रहेर पनि हिंसात्मक विद्रोहको सैद्धान्तिक मान्यताप्रति टोल्सटाय कहिल्यै नरम बन्न सकेनन् । डिसेम्बरवादी विद्रोहलाई केही रुसी उदार बुद्धिजीवीहरू पनि विदेशी विचारको प्रभावमा भएको विद्रोहको रूपमा लिन्थे । रुसको परिवर्तन रुसी शैलीमा हुनुपर्छ भन्ने मान्यता राख्नेहरूमा टोल्सटाय पनि एक थिए । अध्ययनसँगै डिसेम्बरवादीहरूप्रति टोल्सटाय झन्झन् सकारात्मक हुँदै गएपनि उनको भित्रि मनमा रहेको दुविधा कहिल्यै हटेन । परिणामतः सन् १८७७–१८७८ मा ‘डिसेम्बरवादीहरू’ उपन्यास पूरा गर्ने टोल्सटायको दोस्रो प्रयास पनि पूरा हुन सकेन । धेरै पछि अपुर्ण उपन्यासको तिन अध्यायको तिनवटा छुट्टाछुटै खेस्रा पुस्तकको रुपमा प्रकाशित भयो।
–समाप्त
(जारविरुद्ध षड्यन्त्र– १३ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *