कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
जेठको प्रचण्ड गर्मी थियो । सफा आकाश अचानक बादलले ढाक्यो । बिजुली चम्कियो, मेघ गर्जियो र बेस्सरी असिना बर्सन थाल्यो ।
बजारका बटुवाहरू ओत लाग्न थाले । रामु नजिकैको एउटा पाटीतिर लाग्यो । पाटीमा केही मानिस थिए । सुकिलो लुगा लगाएको एक अधबैँसे हाते रुमालले मुख पुछ्दै थियो । ती अधबैँसेलाई मानिसहरू ‘साहु’ भन्थे । ठूल्ठूलो असिना परेको देखेर लगभग ६०–६५ वर्षका एक किसान आकाशतिर हेर्दै बर्बराउन थाले – “हे भगवान ¤ यो असिनाले सारा गहुँ झार्ने भो ! केटाकेटीलाई के खुवाउने होला ¤” यति भनेर उसले लामो सुस्केरा हाल्यो ।
दुई–तीनजना अरू उमेर ढल्किसकेका किसानको अनुहारमा पनि चिन्ताको रेखा देखियो । त्यसपछि एकजनाले साह्रै दुःखी भएर आफ्नो मनको बह पोखे – “अझ केहीबेर असिना प¥यो भने मलाई ठूलो मर्का पर्नेछ । महँगो रासायनिक मल, मुस्किलले पाएको नयाँ बिउ र धेरै मेहनत लगाएको मेरो सारा रगतपसिना खेर जाने भो !”
उमेरले पाका एक किसानले थपे – “असिना रोकिएन भने यसपालि ऋण लाग्ने भो, हामी सारा किसानले दुःख पाउने भयौँ !” टोपीले मुख पुछ्दै तिनले सुस्केरा हाले ।
यतिकैमा अधबैँसे ‘साहु’ ले वृद्ध किसानहरूतिर फर्केर घमण्डी आवाजमा भन्यो – “ईश्वरले ठीकै गर्छ, तिमीहरूले जग्गाधनीलाई गहुँ बुझाउन छोड्यौ । यसकारण, भगवानले नै असिना बर्साएर तिमीहरूलाई सजाय दिँदै छन् । हे भगवान् ! आज दिनभरि असिना बर्र्सियोस् एक गेडा पनि गहुँ नबचोस् !” साह्रै उत्ताउलो पाराले दायाँबायाँ हात हल्लाउँदै बदलाको भावमा उसले आफ्नो आक्रोश पोख्यो ।
बूढो किसानले साह्रै नम्र भएर उत्तर दिए – “साहुजी ¤ समयअनुसार धानबाली २३ पाथी तिर्ने र गहुँबाली तिर्नै नपर्ने कानुन बनेपछि हामीसँग यसरी रिसाउनुपर्ने कारण नै छैन । हामीले त ईश्वरसँग राम्रो कुरा पो माग्नु उचित हुन्छ !”
‘साहु’ले साह्रै रिसाएर जवाफ दियो – “ए ज्यापू, बढ्ता नबोल् ! तिमीहरूको सङ्गठनका एक–एक जना किसान कार्यकर्ताको छाला नकाढी भा’ छैन । तिमीहरूको दुर्गतिको दिन पनि आउनेछ । त्यसबेला बाँकी सबै वर्षको धान र गहुँको साबुत बाली लिनेछौँ ।”
रामु एक हातले पाटीको थाम च्यापेर वार्तालाप सुनिरहेको थियो । ‘साहु’ को अन्तिम वाक्य सुनेर उसलाई सहिनसक्नु भयो । भर्खर २०–२२ वर्षको स्नातकको विद्यार्थी रामुले ‘साहु’ तिर सङ्केत गर्दै भन्यो – “काका ! तपार्इँ त अवश्य पनि एक नेपाली नै हुनुहुन्छ । असिनाले सारा गहुँ झर्दा के किसानलाई मात्र असर पर्ला त ?”
रामु एक पाइला अगाडि बढ्यो । त्यस ‘साहु’ माथि चोर औँला ठड्याएर उसले थप्यो – “यदि देशको गहुँबाली नष्ट भयो भने किसानले मात्र होइन सारा देशले दुःख पाउनेछ । गहुँको मूल्य बढ्नेछ । गहुँको अभावले जनतामा हाहाकार फैलिनेछ ।”
रामुले आफ्नो कुरा टुङ्ग्याउन नपाउँदै रुमाल हातमा लिएर ‘साहु’ ले भन्यो –“गहुँ नाश भएर हामीलाई के फरक पर्छ ? यी किसानले हामीलाई तिर्नुपर्ने गहुँ नतिर्ने हो भने सबै गहुँ खेतमा झरेर कुहिएको फाइदा !”
उसको स्वरमा गरिब किसानप्रति घृणाको भाव थियो ।
रामुले किसानलाई देखाउँदै भन्यो –“यी किसानले खेत जोत्छन्, गहुँ छर्छन्, मलजल गर्छन् भने बाली पनि तिनीहरू आफै काट्छन् । जसले मेहनत गर्छ उसले बाली पनि काट्छ । आज नभए पनि भोलि, सारा संसारमा यही कुरो लागु हुन्छ । तर, साहुजी, तपार्इँले भन्नुभएजस्तै सारा गहुँ असिनाले झारेको खण्डमा देशमा ठूलो भोकमरी हुनेछ । हजारौँ र लाखौँ नेपाली जनता भोकमरीमा पर्नेछन् । किसान भोकमरीको सिकार भएमा देशको कृषि उत्पादनमा ह्रास हुनेछ । एक मौसमको बाली बिग्रनाले देशको अर्थतन्त्र पनि ध्वस्त हुन्छ । कृषिमा आधारित ९५ प्रतिशत किसानको क्षति भनेकै देशको क्षति हो ।”
‘साहु’ ले रामुलाई केही जवाफ दिन खोजेको थियो, रामुले बोल्ने अवसर नै दिएन । रामु धाराप्रवाह बोल्दै थियो, “यसरी देशमा बाली बिग्रेको खण्डमा काम गर्ने मानिसको कमी हुनेछ । काम गर्ने मानिसको अभावमा ज्याला वृद्धि हुनेछ । अनि हरेक उत्पादनको लागत बढी हुनेछ । अनि तपार्इँले खाने आलु, तरकारी, दुध र लुगाको मूल्यसमेत बढ्नेछ । तपार्इँलाई आउने १०–१२ मुरी गहुँको सट्टा पाथीको १०–१२ रूपैयाँ मूल्य बढी तिर्नुपर्नेछ ।”
‘साहु’ बीचैमा रिसले बोल्यो –“यी मालिकमारा किसान जिउँदो हुनुभन्दा मरेको नै जाती!”
रामु र ‘साहु’को वाद–विवाद सुन्ने किसानमा उत्सुकता र आश्चर्यभाव देखिन्थ्यो ।
असिना पर्न कम हुँदै थियो । साहुमाथि कटाक्ष गर्दै रामुले भन्यो – “कसैले गाईलाई सराप्दैमा गाई मर्दैन । दुई–चारजना किसान मर्दैमा या मारिँदैमा समाजमा अबको परिवर्तन रोकिँदैन । जति दमन बढ्छ त्यति विद्रोह चर्किन्छ । राम्रो इच्छा र भावनाले मात्र राम्रो फल फल्छ र राम्रो परिणाम निस्कन्छ । हामीले देशका सबै गरिब र किसानको हित होस् भनेर सोच्नुपर्दछ । त्यसैको निम्ति काम गर्नुपर्दछ अनि मात्रै आफ्नो पनि भलो हुन्छ ।”
यतिकैमा तर्कहीन ‘साहु’ ले रिसले रामुलाई लक्ष्य गर्दै भन्यो – “तिमी कम्युनिस्ट हौ !”
“हो, म कम्युनिस्ट हुँ” – रामुले साह्रै सहज ढङ्गले उत्तर दियो ।
‘साहु’ निरुत्तर भयो । एकछिन ऊ अलमलियो । उसले आकाश र बजारतिर पल्याकपुलुक हे¥यो । असिना थामिइसकेको थियो । “तिमीहरूसँग कुरा गरेर साध्य छैन” भन्दै ‘साहु’ पाटीबाट झरेर एउटा गल्लीतिर हिँड्यो ।
वाद–विवादलाई उत्सुकतापूर्वक सुनिरहेका किसानको मुखमण्डलमा रामुको भनाइले उज्यालो थपिएको थियो । ‘साहु’ गइसकेपछि रामुतिर फर्केर एक पाका किसानले भने – “हो बाबू, तिम्रो कुरो साँचो हो । एक मौसम बाली बिग्रियो भने वर्षौँसम्म भोकमरी हुन्छ । यस्तो कहिल्यै नहोस् !बाबूको कुरा साह्रै राम्रो लाग्यो । राम्रै चिताउनुपर्छ !”
अरू किसानले पनि टाउको हल्लाउँदै हो, हो भन्दै सही थपे ।
किसानहरूको सरलता देखेर रामुले भन्यो –“परिवर्तन त्यसै आउँदैन, हामीले ल्याउनुपर्छ । त्यसको निम्ति सङ्गठन चाहिन्छ । वर्गशत्रुले सजिलैसित गरिब जनतालाई उठ्न दिँदैन । यसकारण, समयमै सबै सचेत हुनुपर्छ, नत्र एक–एक गरेर हामी सबै पराजित हुनेछौँ ।”
किसानहरूले सहजरूपमा भने – “हो, बाबू हो ।” आकाशमा बादल फाटिसकेको थियो । बजार उज्यालो देखियो । रामुले बिदाको भावमा भन्यो –“अब म कलेज जान्छु । तपार्इँहरू बस्नुहोला !”
रामु बिदा नहुँदै एक किसानले भने –“बाबू ! हाम्रो मनमा ठूलो पीर छ । हाम्रो गहुँको के दशा भयो होला ¤ हामी अहिले घर होइन खेततिर जान्छौँ ! नमस्ते !”
रामु पाटीबाट झरेर पश्चिमतिर लाग्यो र किसानहरू पूर्वतिर । यतिकैमा फेरि घाम लाग्यो ।
(साहित्यकार हरिबहादुर श्रेष्ठको ‘एकादेशको कथा’ कथासङ्ग्रह (२०६७) बाट सम्पादनसहित–सं.)
Leave a Reply