सभ्यताको बग्दो ऐना
- श्रावण १, २०८३
भोकको वेदनाको
करुण स्वर !
अँध्यारो सडकमा
गुञ्जिरहेका छन्
पेटीजस्तै सधैँ
पाउमुनि कुल्चिएका छन्
यो अत्यासलाग्दो पथमा
उजाड फुटपाथमा सुतेका छन्
पुरानो अखबार ओढेर
अखबार जसको
छातीमा छापिएका छन्
ठुलठुला अक्षरमा
बाल दिवसमा
मिठाइ पुरस्कार वितरण !
अनि, चलमलाउँछ
प्रत्येक पीडाका
घाउ घाउबाट निस्केका
कष्टपूर्ण व्यथाले
उत्पीडनका आवाजहरू
उठिरहेका छन्
यो अभावै अभावले
घेरिएको बस्तीमा
यो पवित्र भूमिका
पुत्र पुत्रीहरू
भोकमा डुवेको आँगनमा
आशाको दियो बालेर
यो जनयुगमा
बेहोसीबाट बिउँझेका
भोलिका सपनाहरूको
विकराल समस्याबाट मुक्त हुन
युगान्तकारी परिवर्तनको प्रतिक्षामा छन्
यो आकाश यो धरतीमा !
Leave a Reply