सामाजिक सञ्जालको प्रभाव : अवसर र चुनौती
- बैशाख ३०, २०८३
भानुभक्त आदिकवि होइन, आदिप्रतिनिधि कवि हुन्
अब कविता के हो र नेपाली भाषामा आदिकवि को हुन्, यसबारेमा फेरि एकचोटि विचार गरौँः कविताको परिभाषानुसार त्यही लेखोटलाई मात्र कविताको संज्ञा दिन सकिन्छ, जसमा रस छ, लालित्य छ, छन्द छ, भाषाको परिष्कृति र निजत्व छ, सरलता छ, अनि ती सबै गुणको साथ मौलिकता पनि । कवितामा हुनुपर्ने उपर्युक्त गुण इन्दिरस र विद्यारण्यकेशरीका पद्यहरूमा केही पनि छैन । किनभने तिनीहरूका पद्यहरूमा कविताका सबभन्दा ठूलो गुण मौलिकता र भाषाको निजत्व नै छैन ।
इन्दिरस र विद्यारण्यकेशरीपछि नेपाली भाषामा उदित भएका वसन्त शर्माका पद्यहरू पनि वास्तवमा मौलिक त होइनन् । यिनको रचना ‘श्रीकृष्णचरित्र’ कुनै मौलिक कथानकको काव्य नभइकन श्रीमद्भागवत र महाभारतका श्रीकृष्णचरित्रको छाया वा आधारित हो, तर पनि खुरुखुरु अनुवादै नभइकन बीचबीचमा स्वतन्त्र विचार र नेपालीपनको समावेश गरी मूलको क्रमको पनि वास्ता नराखी आफ्नै ढङ्गमा ढालेका छन् । नेपाली भाषाको वर्तमान रुप हेर्दा भानुभक्तको ‘रामायण’लाई बिन्दु वा थालनी मान्नुपरे तापनि नेपाली भाषाको प्रयोग र नेपाली ढङ्गको कल्पना गरी वसन्त शर्माले नेपाली भाषाको एक विशिष्ट ‘पन’ ल्याउन खोजेका हुन् नभन्न सकिन्न । त्यसैले नेपाली भाषाका आदिकवि वसन्त शर्मालाई नै मान्न समीचीन छ ।
यदि मामुली तवरका एक–दुई स्वतन्त्र विचार वा कल्पनाका रेखा हुँदैमा कुनै आधारित कृति मौलिकताको हकदार हुन सक्दैन भने पनि भानुभक्त आदिकवि ठहरिन सक्दैनन्, किनभने यदुनाथ पोख¥यालका स्तुतिपद्यहरूले भानुभक्तलाई पिछाडिदिएका छन् । ‘स्तुतिपद्य’ हरूमा वर्णन सौन्दर्य र देशभक्ति प्रशस्त मात्रामा छ । भानुभक्तले कान्तिपुरीलाई अमरावतीको कल्पना गरेर लेख्नुभन्दा पनि पहिले ‘स्तुतिपद्य’ का कर्ताले नेपाललाई अमरावती ठानिसकेका छन् ।
भानुभक्तका कविता बालाज्यूको र कान्तिपुरी नगरीको वर्णनदेखि मात्र सुरु हुन्छ । जन्मपत्रिकाको सारांश त कुनै कवितै होइनः घाँसीद्वारा प्रेरित भएर लेखिएको पद्य यद्यपि भानुभक्तकै ठहरिएको खण्डमा पनि त्यसलाई कवितै भन्न सकिन्न, त्यो त परिमार्जित भाषामा पद्यात्मक बोध प्राप्तिको एउटा कुरा मात्र हो ।
एकाध सय पद्य भएका खण्डकाव्य वा १०–१२ सत्र्न्दा पद्य भएका महाकाव्य लेख्नेलाई ‘कवि’ भन्ने पुरानो चलनअनुसार भानुभक्तको ७ काण्डीय ‘रामायण’ नै नेपाली भाषाको पहिलो महाकाव्य भएको अथवा ‘वधूशिक्षा’ र ‘भक्तमाला’ नै पहिलो मौलिक खण्डकाव्य भएको हुनाले तिनका रचयिता भानुभक्तलाई आदिकविको उपाधि दिइएको होला । हुन त महाकाव्य वा कमसेकम खण्डकाव्यसम्म लेख्ने क्षमता भएका पद्यकारहरूलाई मात्रै ‘कवि’ भन्न सुहाउँछ । अवश्य हो, तर २–४ वटै मात्र भए पनि फुटकर मुक्तक पद्य कसैले लेखेका छन् र ती कविताको परिभाषानुसार ‘सत्यं शिवं सुन्दरम्’ ले युक्त छन् भने तिनलाई कविता नभन्न सकिन्न र तिनका रचयिता अवश्य कवि हुन् । अङ्ग्रेजीका कवि कीट्सले कति कविता लेखेका छन् र तर तिनी आज संसारका श्रेष्ठ कविमा गनिएका छन् । गुलेरीजीले जम्मा जीवनमा तीनोटै मात्र कहानी लेखेका छन् । तर तिनी श्रेष्ठ कहानीकार ठहरिएका छन् ।
त्यसैले मेरो विचारमा कुनै ग्रन्थ वा कथानकको आधार वा छायामा भए पनि त्यसमा स्वतन्त्र विचार वा कल्पना अथवा नेपाली ढङ्गको कल्पना वा नेपाली भाषाको प्रयोग समाविष्ट भएको दृष्टिमा हेर्ने हो भने ‘श्रीकृष्णचरित्र’ नै नेपाली भाषाको आदिकविता हो र त्यसका कर्ता वसन्त कवि नै आदिकवि हुन् । किनभने त्यो खण्डकाव्य पनि हो । तर अधिक मात्रामा मौलिकता र स्वतन्त्र कल्पना नभइकन एकाध हेरफेरमात्र भएर कुनै कृति बढ्ता आधारित छ भने त्यो कृति खण्डकाव्य वा महाकाव्य नै भए पनि मेरो दृष्टिमा त्योभन्दा बरु एकाध फुटकर मुक्तक कविता यदि पूर्ण मौलिक भएर कविताको परिभाषामा आउँछ भने त्यस्ता कृति कविता हो । यो दृष्टिमा नेपाली भाषाको प्रथम मौलिक कविता ‘स्तुतिपद्य’ हो र आदिकवि त्यसका रचयिता यदुनाथ पोख¥याल (?) हुन् ।
यो अवश्य हो, भानुभक्त नेपाली भाषाका प्रथम महाकाव्यका आदिकवि हुन् र आधुनिक नेपाली भाषाको थालनी तथा वर्तमान नेपाली भाषाको रुप–बिन्दु भानुभक्तको रामायणदेखि सुरु भएको हो । यसरी आधुनिकतमको रुपमा आउने भाषाको परिष्कृतिलाई लिएर आदिकवि र आदिकवि दर्जा दिइयो भने भानुभक्तलाई पन्छाएर लेखनाथलाई आदिकवि भन्न सकिन्छ, किनभने भानुभक्तमा भन्दा लेखनाथको भाषामा बढ्ता परिष्कृति र आधुनिकता छ । अहिले त भानुभक्तको ‘पन शैली’ पनि पुरानो भइसकेको छ । भयाथ्या, ग¥याथ्या, जसै, तसै, कछू, यहाँ ऋषी थ्यैँ, तँ थ्यैँ, बखान्, स्वरुपै, विनाशै आदि विनाप्रयोजनको अवधारणा, संस्कृत र हिन्दीमा झैँ नपुंसक लिङ्ग शब्दलाई पनि स्त्रीलिङ्गमा प्रयोग (यस कि महिमा, लीला प्रभूकी, माया बडि वलवती) तत्सम शब्दको विकृति इत्यादि विकार लेखनाथ आएर बल्ल माझिन आयो । भाषाकै परिष्कृतिलाई मात्र लिएको खण्डमा पनि अझ कति कुरामा लेखनाथभन्दा बालकृष्णले बढ्ता श्रेय पाउन सक्छन् । र, नेपालीपन पनि बढ्ता भएर परिष्कृत भाषालाई लिए अझ बालकृष्णभन्दा सिद्धिचरणले बढी श्रेय पाउँछन् । केही दिनपछि बालकृष्ण सिद्धिचरणलाई पनि उछिन्नेर निस्कने छन् । यो त उन्नतिको सिलसिला हो ।

अन्ततोगत्वा भानुभक्तलाई आदिकवि भन्नुभन्दा पनि आदिप्रतिनिधि कवि भन्नु समीचीन छ । किनभने भानुभक्तभन्दा अगाडि नेपाली भाषाको साहित्यले स्तर प्राप्त गर्न सकेको थिएन । उनीभन्दा अघि नेपाली भाषा केवल साधारण भाषामै मात्र गनेर आइरहेको थियो । नेपाली भाषाले वाङ्मयको दर्जा प्रारम्भ गरेका साँच्ची भनूँ भने भानुभक्तकै रामायणदेखि हो । भानुभक्त प्रायः शार्दूलविक्रीडित छन्दमा लेख्दछन् । हुन त यो छन्दका कर्ता भानुभक्त होइनन्, प्राचीन कालदेखि संस्कृतमा यो छन्दको प्रयोग पाइन्छ । तैपनि सरलता र स्वाभाविकतासाथ सल्ल बगेका भानुभक्तका विशेषतः शार्दूलविक्रीडिती रामायणी छन्दले नेपाली हृदयलाई राम्ररी तानेर साहित्यसागरमा डुबुल्क्याइदिएको छ । उनको ललित भाषा, परिष्कृत छन्द, सरल भाव, मीठो अभिव्यञ्जना, सुन्दर अलङ्कार र भक्तिमय रसले भरेको ‘रामायण’ निस्केदेखि नै नेपाली भाषामा साहित्यको प्रतिनिधित्व सुरु भएको हो । कसैको भेटघाट, कुनै घटनाविशेष वा प्रसङ्गमा तुरुन्त हृदयस्पर्शित मीठो कविता लेख्ने उनको कवितात्मक शक्तिले पनि नेपाली हृदयमा प्रेरणा गुञ्जाएर उनले नेपाली भाषामा साहित्यिक प्रतिनिधित्व गरेका छन् । उनका कविताले नेपाली कर्मचारीहरूको स्वभावतः अनीतिमाथि प्रभावोत्पादक व्यङ्ग्य प्रहार गरी नेपाली साहित्यमा प्रशस्त प्रतिनिधित्व गरेको छ–
बिन्ती डिट्ठा विचारीसित म कति गरुँ चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् ग¥या झैँ अनि पछि दिन दिन् भन्दछन् भोलि भोली ।
कीता सक्तीन भन्नू कि तव छिनिदिनू क्यान भन्छन् इ भोली ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।१।।
भानुभक्तमा कवि–प्रतिभा र कवि–हृदय दुवै भएकोले जुनसुकै घटना व्यवहारमा पनि उनीबाट कविता स्फुरित भइरहन्छ र अनि स्वाभाविक तथा मार्मिक कविता निस्किरहन्छ । थुनुवा छँदा यस्तै एउटा तलको कविता कस्तो प्रभावोत्पादक र प्रेरक छ, यस्तो कविताबाट नै साहित्यमा प्रतिनिधित्व गर्छ–
रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।।
लाम्खुट्टे उपिञा उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी ।
लाम्खुट्टेहरू गाउँछन् इ उपिञा नाच्छन् म हेर्छू बसी ।।
यस्तै बिन्तीपत्र इत्यादि लेखेर कहीँ जाँदा भेट नभए कविता लेखी, दैलोमाथि टाँसी इत्यादि गरेर पनि भानुभक्तले नेपाली साहित्यको पूरा प्रतिनिधित्व गरेका छन् । विशेषतः ‘रामायण’ को र अरु यस्तै फुटकर कवितामा सल्ल बगेका भानुभक्तका मीठा छन्दहरू प्रायः शार्दूलविक्रीडितमा नै हुन्छन् । यी सबै कारणले गर्दा यो छन्द संस्कृतको भएर पनि भानुभक्तको भएर नेपाली छन्दजस्तो भइरहेको छ । यस्तै गुणले गर्दा अनुष्टुप् छन्द संस्कृत भएर पनि लेखनाथका कविताहरले मुग्ध भएका मानिसहरूले लेखनाथको छन्द भनिदिएजस्तो शार्दूलविक्रीडित छन्द पनि भानुभक्तको भनिदिए पनि अत्युक्ति छैन जस्तो भइसक्यो ।
नेपाली भाषामा ‘स्तुतिपद्य’ जस्तै एकाध कविताबाहेक मौलिक वा स्वतन्त्र कविताको सुरु भएको पनि भानुभक्तदेखि नै हो । विचार चाहे जस्तोसुकै भए पनि भानुभक्तको ‘वधूशिक्षा’ र ‘भक्तमाला’ देखि नै नेपाली भाषाको साहित्य–क्षेत्रमा स्वतन्त्र काव्यको वृद्धि भएको हो । यी सबै स्वतन्त्र कृतिको साथसाथै आधारित भए पनि उनको ‘रामायण’ मा कवितात्मक गुण र भाषा–विशेषता इत्यादि भएको हुनाले भानुभक्तलाई आदिप्रतिनिधि कवि भन्न करै लाग्छ । यिनको प्रतिनिधित्वले नै नेपाली वाङ्मयलाई अगाडि बढाएर यहाँसम्म पु¥याइरहेको हो ।
नेतृत्व पाए जुन पनि युग अगाडि बढ्न सक्छः भानुभक्तका केही क्रान्तिकारी दमथरीहरू
“भानुभक्त युगकवि, युगलाई प्रतिनिधित्व गरी नेतृत्व दिन नसकेका र उनीमा क्रान्ति र विद्रोहको भाव फुट्न नसकेको उनी नेपाली साहित्यका प्राचीन कवि भएको र उसताकको आवहवा नै त्यस्तै थियो पनि एउटा कारण हो र त्यसैले उनको कृतिको समीक्षा आजको आदर्श र मापदण्डको आँखाले हेरेर गर्नु उचित छैन”, यो भनाइ पनि बेमनासिबै छैन, तर युगकवि, युगलेखक वा युगपुरुष तत्कालीन युग र कालको घेरामा थुनिइरहँदैनन्, बरु आफ्नो युग र कालबाट धेरै टाढा पुगेर अर्कै राम्रो युग र कालको निर्माण वा स्थापना गरीकन युगप्रवर्तक बन्दछन्ः वाल्मीकि आदिकविको साथसाथै युगकवि पनि भएका हुनाले उनको रामायण भारतीय साहितयजगत्को प्रारम्भिक साहित्यको प्रतीक भएर पनि समाजनिर्माण गर्न र संसारको प्रतिनिधित्व र नेतृत्व गर्नमा समर्थ छ । गौतम बुद्धले आफ्नो युग र कालबाट धेरै पर पुगेर जगत्मा क्रान्ति र विद्रोहको नेतृत्व गरेका थिए । विद्रोही र क्रान्तिकारी कवि वायरन र शेली आफ्नो काल र परम्पराबाट धेरै अगाडि पुगेका थिए । शेलीको सौन्दर्य समन्वित क्रान्तिकविता र विप्लवगानले संसारलाई धेरै अगाडि बढाएको छ । उनको विद्रोह र क्रान्ति कवितामा गीतमय भएर ध्वनित हुँदा काव्यजगत्ले प्रेरणा र उत्साह लिँदै एउटा नयाँ मोड लिएको छ । शेली भानुभक्तभन्दा २० वर्ष मात्र जेठो भएका हुनाले तत्युगीन कवि नै भन्न सकिन्छ । शेलीले भानुभक्तकै त्यही प्राचीन कालमा पनि यस्तो कविता लेखिसकेका छन्ः–
दिनकर–आतप, लहर और पर्वत–पढार से,
झंझा, वाष्प–पटल, से ही छनकर आता है ।
प्राण–प्राण से, राष्ट्र–राष्ट्र से और नगर से–
कुटिया तक, तेरा प्रभात ही मुस्काता है ।
और निरंकुश, दास, रजनि की छायाएँ अब,
तेरे भोर उजाले के रथ के पीछे सब । ४
(स्वाधिनता)
उपर्युक्त कविता भयो मानिसहरूमा स्वतन्त्रताको प्रेरणा, जोश र ज्योति दिएर जाग्रति ल्याउनलाई लेखिएको । अब शेली कतिको क्रान्तिकारी छन्, तलको कविताबाट थाहा हुन्छः–
तुम बोते हो बीज, काटते किन्तु दूसरे !
दौलत तुम खोजते, और का घर है भरता !
कपडे तुम बुनते, पर और पहिनते फिरते,
अस्त्र ढालते तुम, पर और जिन्हेँ हैँ गहता ! ५
बोओ बीज, न जुल्मी जिन्हेँ काटने पायेँ !
खोजे दौलत ! पर नजाय वह ठग के घर मेँ !
कपडे बुनो ! आलसी कोई पहिन न पायेँ,
ढालो अस्त्र ! गहो अपनी रक्षा को कर मेँ ! ६
अपने हल, फावडे, और हँसिये करघे से
खोदो, अपनी कब्र, समाधी करो विनिर्मित !
बुनते चलो, कफन अपना, जब तलक नहीँ ये,
सुघर आँग्ल–भू बृहद मकबरे मेँ हो परिणत ? ८
(दूङ्गल्याण्डका मनुष्यों से)
विद्रोही कवि शेलीको यो क्रान्तिघोष संसारमा साम्यवादका प्रवत्र्तक विश्वविख्यात क्रान्तिकारी कार्ल माक्र्सको सुप्रसिद्ध कम्युनिस्ट मेनिफेस्टो (कम्युनिस्ट घोषणा–पत्र) निस्कनुभन्दा ३९ वर्ष पूर्वको र उनैका प्रसिद्ध आर्थिक विचारको गहकिलो ग्रन्थ ‘क्यापिटल’ भन्दा ४८ वर्ष अगाडिको हो ।
शेलीमा राजनीतिकता पनि निकै रहेछः–
तू बता तो, यह राजा और परोपजीवी कहाँ से पैदा हुए ?
कहाँ से आई रानी मक्खियोँ की अप्रकृत कतार,
जो लादती हैँ श्रम, और अपार दैन्यता,
उनके ऊपर, जो बनाते हैँ उनके महल,
चलाते हैँ उनकी दैनिक रोटियाँ !
(जब गूँजेता तर्क की नाद)
जनजागरणको एउटा आवाजः–
जागो ! सिंहोँ से दहाड, घोर नींद छोड आज !
उठो ! अब अजेय सङ्ख्या मेँ झूम–झूम कर !
श्रृङ्खलायेँ तुमने जो पहिनी थीँ नीँद मेँ,
ओस बूँद सम हिलाकर गिरादो भूमि परः
तुम हो असङ्ख्य और ये हैँ बस मुठ्ठी भर,
(‘आह्वान’)
शेलीमा स्वतन्त्रता, प्रेम, भ्रातृत्वको स्थापनाको कति चिन्तना छ हेर्नुहोस्ः–
बंद करो ! क्या घृणा, मृत्यु, अब लौटेङ्गे ही ?
बंद करो ! क्या मनुज बधेंगे या मृत होंगे ?
बंद करो ! तिक्ततर भविष्यत वाणी के इस,
भस्ममात्र को अंतिम कण तक नहीँ पियो !
जगती अतीत से थकित आह ! मर जायेगी,
वर्ना इसको अपनी चिर थकन मेटने दो !
(हेलास)
उपर्युक्त कविता शेलीले युनानको विद्रोहप्रति लेखेको आफ्नो नाट्यकाव्य ‘हेलास’ को एक टुक्रा हो । यस्तै ‘स्वाधीनता’ भन्ने कविता १८२० को स्पेनको सैनिक क्रान्तिलाई अभिनन्दन गर्दै लेखिएको हो ।
यसरी शेली आफ्नो देश, समाज र जातिका मात्र कवि नभइकन अन्य देशीय शोषित, दलित, पीडित, जनहरूको मुक्ति र जाग्रतिको लागि पनि चिन्तक भई उद्धारक बन्न खोजेका छन् । आफूले बिलकुलै नदेखेको र केही थाहा नभएको भारतप्रति पनि शेलीले पूरा ममता देखाएका छन् ।
शेली यति विद्रोही र क्रान्तिकारी कवि थिए कि उनको डरले यूरोपको सामन्त थर्किरहेको थियो । उनको ‘क्वीननमैब’ नामक कवितासङ्ग्रहमा सामाजिक, राजनीतिक, धार्मिक इत्यादि विषयक क्रान्तिदेखि चिढेर त्यहाँका अधिकारीहरूले उनको पुस्तकलाई ‘नास्तिकवाद’ को अभियोग लगाई ‘चान्सरीकोर्ट’ मार्फत उनका छोरा र छोरी गरी दुई बच्चासमेत खोसेर लिएका थिए । यसमा लार्ड चान्सर ‘ऐल्डन’ ले निर्णय गरेका थिए कि शेली इसाई विवाह पद्धतिमाथि आस्था राख्दैनन्, यसका कारण बच्चाहरूको भावी हितको ध्यान राखेर उनीलाई यी बच्चाहरूका पिता हुने अधिकारदेखि वञ्चित गरिन्छ ।
कार्ल माक्र्स पनि भानुभक्तकै समकालनि लेखक हुन् । भानुभक्तभन्दा ६ वर्ष मात्र कार्ल माक्र्स कान्छो छन् । अझ श्री बाबुराम आचार्यको भनाइअनुसार भानुभक्तको जन्म विसं १८७१ को हिसाबले त माक्र्स ४ वर्षमात्र भानुभक्तभन्दा कान्छो छन् । भन्नुप¥यो, भानुभक्त र माक्र्स दमथरी हुन् । भानुभक्तले विसं १८९८ मा रामायणको बालकाण्ड लेखिसिध्याएका थिए, माक्र्सले १८९९ मा ‘राइजिनी टुङ्ग’ भन्ने पत्रको सम्पादन गरी १९०५ मा कम्युनिस्ट मेनिफेस्टो लेखिसकेका छन् । १९५० सालमा भानुभक्तको सातै काण्ड रामायण सिध्याइसकेका छन् । यी दुई रचनाकाल पनि दमथरी नै भएको छ भन्नुपर्छ । एकै कालका रचना र रचयिता भएर पनि माक्र्समा फुटिसकेको प्रगतिशीलता भानुभक्तमा छाया पनि देखिन्न । तसर्थ भन्न सकिन्छ, समय वा कालले दिइसकेको गति भानुभक्तले पाउन सकेका छैनन् । एन्जिल्स पनि भानुभक्तकै युगीन लेखक हुन् । ६ वा ८ वर्षको मात्र कान्छो हुन् ।
त्यसताकाको व्यक्तिहरूबाट क्रान्ति र प्रगतिको आशा गर्नु उचित छैन भन्न सकिन्न, बरु क्रान्ति र प्रगतिको विचारधारा उनीहरूले अझ वैज्ञानिक आधारमा संसारलाई दिएका छन् भन्न मनासिव छ । जसले कि संसारमा आजसम्म सञ्चालित भएर मानिसहरूलाई अगाडि बढाउँदै छ ।
नेपालैमा पनि कतिपय मानिसहरूमा त्यसताका राम्रै क्रान्ति र प्रगतिको उद्भव भइसकेको छ । भीमसेन थापा भानुभक्तभन्दा ३७ वर्ष जेठा छन्, जङ्गबहादुर ५ वर्षले मात्र कान्छो । मानवजातिको निम्ति सारै शर्मको कुरा दासप्रथालाई खतम गर्ने क्रान्ति भीमसेन थापाले गरे । अङ्ग्रेज साम्राज्यवादको विरोधमा एसियाली एकताको निम्ति भीमसेन थापाले सर्वप्रथम आह्वान गरेः त्यस्तै नारीको विकासलाई छेकिरहने सतीप्रथालाई जङ्गबहादुरले रोकिदिए । यी सानो क्रान्ति र प्रगतिको कुरा होइन । त्यस बेलाको निम्ति त जङ्गबहादुरले युरोप जानुसम्म पनि एउटा क्रान्ति हो ।
तर हामीले यो पनि जान्नुपर्ने कुरा हो कि वाल्मीकि आदिकवि आदिसाहित्यकारका साथसाथै युगप्रवर्तक पनि भएजस्तै भारतीय अन्य भाषाहरूका पनि सबै आदिकवि युगकवि अर्थात् युगप्रवर्तक पनि हुन सकेका छैनन् । वाल्मीकिको कुरै गरी साध्य छैन । उनको आश्चर्यजनक प्रतिभा र कुरा सबैमा हुन सक्तैन, त्यसैले उनको उदाहरण अरूमा घट्न सक्तैन । पाश्चात्य साहित्य जगत्मा पनि ‘इलियड’ का कर्ता ‘होमर’ वाल्मीकिजस्तै आदिकवि भएर युगकवि पनि हुन् । यस्ता अद्वितीय विलक्षण महापुरुष संसारमा विरलै मात्र जन्मन्छन् । कालिदास र शेक्सपियरले जातिको प्रभावित पार्न आजसम्म संसारमा कुनै कविले सकेको छैन, उन्नति र प्रगति बढिरहेर के गरुँ ? संसारमा यस्ता एक–दुई जना विलक्षणका महापुरुष जन्मन्दा रहेछन्, नत्र “न भूतो न भविष्यति” भन्ने आहान कहिल्यै चरितार्थ हुन सक्तैन ।
तर आजकलझै विद्याका हरेक विषयमा उन्नति भइरहेको युग नभए तापनि, हिजोआजजस्तो शिखरमा पुगिसकेको सभ्यताको युग नभए तापनि प्राचीन काल वा युगको प्रतिभा आजभन्दा बल्दो र चढ्दो थियो भन्न सकिन्छ । किनभने त्यसताकका २–४ व्यक्ति र ग्रन्थहरूले आज पनि आश्चर्यचकित पारेकै छन् । प्रारम्भ–प्रारम्भकालैमा आजसम्मको कालयुगलाई पनि नेतृत्व र प्रतिनिधित्व गर्न सक्ने रामायण, इलियड, वेद, बाइबल, कुराण आदि साहित्य, दर्शन आदिका ग्रन्थहरू निस्कनु सानो आश्चर्यको कुरा होइन ।
तर प्राचीन भाषामा निस्केका यस्ता एकाध आदिकवि युगकवि अर्थात् युगप्रवर्तक कवि पनि भएझैँ प्राचीन भाषाका विभिन्न सन्तान अन्य भाषाका आदिकविमा युगकवि वा युगप्रवर्तक कवि पनि भएर निस्केका बिरलै होला । युगकवि युगलाई प्रतिनिधित्व गर्दै युगप्रवर्तक भएर आफ्नो भाषा, जाति र देशबाट पनि टाढा पुगेर अन्य भाषा, अन्य जाति र अन्य देशका जनतासित समेत क्रान्ति र प्रगतिको आह्वान गर्न पुग्छन्, यसैले उनको ख्याति विश्वमा गुञ्जिन पुग्छ । तर आदिकवि मात्र भएर त्यति पहुँच भएका हुन सक्तैनन् । आज हिन्दी भाषाको चहचक कम छैन, तर त्यसका आदिकवि ‘सरहा’ हुन् भन्ने बिरलैलाई मात्र थाहा होला, तुलसीदासको कलमको जोडले बल्ल हिन्दी संसारका यत्रतत्र पुग्न थाल्यो, किनभने तुलसीदास हिन्दीका एक मात्र युगप्रतिनिधित्व गर्ने युगप्रवर्तक कवि थिए । हाम्रा भानुभक्त पनि यद्यपि कतिपय इतिहासकार वा आलोचकको भनाइअनुसार आदिकवि हुन्, तर युगलाई प्रतिनिधित्व गर्न नसकेको र युगप्रवर्तक कवि नभएको कारण नेपाल र नेपाली भाषाबाट बाहिर पुग्न समर्थ भएनन् । हुन त बाहिर पुग्ने प्रयास र प्रयत्न अनि प्रसार नै हामीले गर्न सकेका छैनौँ, तर जतिसुकै हाम्रो प्रचार र प्रसार बलियो भए पनि भानुभक्त संसारको दृष्टिमा युगप्रवर्तक ठहरिन मुस्किलै होला भन्ने मेरो अर्घेल्याइँ छ । कुुनै कवि वा लेखकको कृति विदेशी भाषाभाषीले पनि अनुवाद गरेर आफ्नो भाषामा अपनाउन लालायित भएपछि मात्र त्यस कृतिको महत्व हुन्छ । यसरी भानुभक्तको कृति अनुवाद गर्न लालायित हुने किसिमको छ भन्ने मलाई कमै विश्वास छ । हँ, संसारकै भाषाको अनुसन्धान गर्नेहरूले नमुना, उदाहरणको निम्ति उल्था गर्नु बेग्लै कुरा हो ।
स्रोत : भानुभक्त एक समीक्षा
Leave a Reply