रुसमा नाजीवादविरुद्ध विजय दिवस
- बैशाख ३०, २०८३
आजको आधुनिक युगमा सामाजिक सञ्जाल मानव जीवनको महत्वपूर्ण भाग बनेको छ । फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालहरू विश्वभर अत्यधिक प्रयोग भइरहेका छन् । मानिसहरूले सूचना आदानप्रदान गर्न, साथीभाइ तथा आफन्तसँग सम्पर्क राख्न, अध्ययन गर्न र मनोरञ्जन लिन सामाजिक सञ्जालको प्रयोग गर्छन् । अहिले धेरैजसो घरमा जति सदस्य हुन्छन्, त्यति नै मोबाइल फोन, ट्याब वा अन्य डिजिटल उपकरण देख्न सकिन्छ । सामाजिक सञ्जालले समाजमा सकारात्मक तथा नकारात्मक दुवै प्रकारको प्रभाव पारेको छ ।
सामाजिक सञ्जालको सकारात्मक प्रभावमध्ये सबैभन्दा महत्वपूर्ण प्रभाव सहज सञ्चार हो । मानिसहरूले संसारको जुनसुकै ठाउँमा बसेर पनि छिटो सन्देश पठाउन, भिडियो कल गर्न तथा सूचना आदानप्रदान गर्न सक्छन् । विपद् तथा आपत्कालीन अवस्थामा सामाजिक सञ्जालले सूचना छिटो फैलाउन मद्दत गर्छ । विद्यार्थी तथा अनुसन्धानकर्ताहरूका लागि पनि सामाजिक सञ्जाल निकै उपयोगी बनेको छ । अनलाइन कक्षा, अध्ययन सामग्री, अनुसन्धान लेख तथा शैक्षिक भिडियो सजिलै प्राप्त गर्न सकिन्छ । धेरै विद्यार्थीहरूले रिसर्च गेट र गुगलस्कलर जस्ता माध्यमबाट अध्ययन तथा अनुसन्धान गर्ने गरेका छन् । विशेष गरी कोभिड–१९ महामारीपछि अनलाइन शिक्षा र डिजिटल सिकाइको महत्व अझ बढेको छ । त्यसैगरी सामाजिक सञ्जालले व्यवसाय र रोजगारीको अवसर पनि सिर्जना गरेको छ । साना व्यवसायीहरूले आफ्ना सामान तथा सेवाको प्रचार सामाजिक सञ्जालमार्फत गर्न थालेका छन् । धेरै युवाहरू डिजिटल मार्केटिङ, सामग्री निर्माण, फ्रिलान्सिङ तथा अनलाइन व्यवसायबाट आम्दानी गरिरहेका छन् । सामाजिक सञ्जालले नयाँ सीप सिक्न तथा विश्वव्यापी जानकारी प्राप्त गर्न पनि मद्दत पु¥याएको छ ।
तर, सामाजिक सञ्जालको अत्यधिक प्रयोगले समाजमा विभिन्न नकारात्मक प्रभाव पारेको छ । सबैभन्दा ठूलो समस्या सामाजिक सम्बन्ध कमजोर हुनु हो । परिवारका सदस्यहरू एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्नुको सट्टा मोबाइलमै व्यस्त रहने प्रवृत्ति बढेको छ । धेरै घरमा बुबा, आमा, श्रीमान्, श्रीमती र बालबालिका एउटै कोठामा बसे पनि सबै आ–आफ्नो मोबाइल चलाइरहेका हुन्छन् । यसले पारिवारिक आत्मीयता र भावनात्मक सम्बन्ध कमजोर बनाएको छ । विशेष गरी श्रीमान् श्रीमतीबिचको सम्बन्धमा पनि सामाजिक सञ्जालले नकारात्मक असर पारेको देखिन्छ । अत्यधिक मोबाइल प्रयोगका कारण एकअर्कालाई समय नदिने, विश्वासको कमी हुने, अनावश्यक शङ्का पैदा हुने तथा झगडा बढ्ने समस्या देखिएको छ । कतिपय परिवारमा सामाजिक सञ्जालका कारण पारिवारिक विवाद, सम्बन्ध विच्छेद तथा मानसिक तनावसमेत बढेको पाइन्छ ।
सामाजिक सञ्जालका कारण सामाजिक अपराध पनि बढ्दै गएको छ । साइबर अपराध, अनलाइन ठगी, ह्याकिङ, नक्कली खाता, ब्ल्याकमेल तथा साइबर बुलिङजस्ता समस्या दिनप्रतिदिन बढिरहेका छन् । विशेष गरी किशोर–किशोरीहरू गलत सामग्री, अनलाइन लत तथा नकारात्मक प्रभावको सिकार भइरहेका छन् । कतिपय व्यक्तिहरू सामाजिक सञ्जालमार्फत आर्थिक ठगी तथा अफवाहको सिकार बन्ने गरेका छन् ।
त्यसैगरी अत्यधिक सामाजिक सञ्जाल प्रयोगले मानसिक स्वास्थ्यमा पनि असर पार्छ । यस्तै गरी विद्यार्थीहरू भिडियो, गेम तथा मनोरञ्जनमा बढी समय बिताउँदा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुन्छ ।
धेरै मानिसहरू अरूसँग आफ्नो जीवन तुलना गरेर तनाव, चिन्ता, एक्लोपन तथा डिप्रेसनको सिकार बन्न सक्छन् । कतिपयले त अनलाइन गेमको चक्करमा आफ्नो घरखेत नै गुमाएका छन् । थोरै समयको मनोरन्जनका लागि आफनो महत्वपुर्ण समय र प्रतिष्ठा गुमाएका उदाहरणहरू पनि प्रशस्तै छन् ।
कतिपय अभिभावकहरू बच्चाले घरमा धेरै समय मोबाइल हेरेको गुनासो गर्छन् तर बच्चाकै अगाडि आफू मोबाइलमा समय बिताएको भुल्दछन् । त्यसैले हामीले गर्ने क्रियाकलापले आफ्ना बालबालिकामा कस्तो असर पर्छ भनी अब लेखाजोखा गर्नु आवश्यक छ । सामाजिक सञ्जाल आधुनिक समाजको महत्वपूर्ण माध्यम भए पनि यसको सही र सन्तुलित प्रयोग आवश्यक छ । यसले शिक्षा, अनुसन्धान, सञ्चार तथा व्यवसायमा सकारात्मक योगदान पु¥याएको छ भने अर्कोतर्फ पारिवारिक सम्बन्ध कमजोर बनाउने, सामाजिक अपराध बढाउने तथा मानसिक समस्या सिर्जना गर्ने काम पनि गरेको छ । त्यसैले सामाजिक सञ्जालको प्रयोग गर्दा समयको उचित व्यवस्थापन गर्दै वास्तविक सामाजिक सम्बन्धलाई पनि महत्व दिनुपर्छ ।
Leave a Reply