भर्खरै :

नेकपाले नेकपाकै विरोध

सत्तासीन दलका नेता, मन्त्री र कार्यकर्ताहरू इमानदार, निःस्वार्थी, देशभक्त, दूरदर्शी र देश र जनताप्रति जिम्मेवार नभएकै कारण देशमा अराजकता निम्तिएको हो, सरकार अस्थिर बनेको हो, देश परनिर्भर भइरहेको हो । देश अनिर्णयको बन्दी बन्नु, परनिर्भरको देश बन्नु, भ्रष्टाचारको सूचीमा पर्नु र तुलनात्मकरूपमा देश विकास नहुनुमा सत्तासीन दलका नेताहरू नै दोषी छन्, ती नेताहरू नै जिम्मेवार छन् । सरकारमा जानु, सरकारको नेतृत्व गर्नु नै पार्टीको अन्तिम लक्ष्य ठानेर माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्गको सिद्धान्त र विचार छोडेको कारण सत्तारुढ दल नेकपाले दिशा निर्देश गर्न नसकेको हो, बहुमत जनताको सेवा गर्न छोडेको हो ।
झन्डै दुईतिहाइ मत प्राप्त सरकार र कम्युनिस्ट भनिने ठूलो दल नेकपाले काम गर्ने अवसर पाउँदा पाउँदै जनताको मन जित्ने, बहुमत जनताको राहत हुने काम गर्न सकेनन् । नेकपाको लागि देश र जनताको हितमा काम गर्ने अहिले राम्रो अवसर हो । काम गर्ने अवसर गुमाउँदै नेकपाको सरकारले संसद् विघटन ग¥यो । बहुमत प्राप्त सरकारले बीचमै संसद् विघटन गर्नु आवश्यक थिएन । तर, निर्वाचनको निम्ति सरकारले गरेको संसद् विघटनको हाँकको सामना गर्न राजनीतिक दल, नागरिक समाज र जनता तयार हुनुपर्छ ।
सत्तासीन दलका नेता र मन्त्रीले निर्वाचन गरेरै छाड्ने प्रतिबद्धता दोहो¥याएका छन् । यदि निर्वाचन हुँदैन, गरिँदैन भने त्यो सरकारको बेइमानी कदम हुनेछ, देशका सबै दल र जनतालाई धोका दिइएको सरह हुनेछ । सरकारले निर्वाचन गराउने विश्वास व्यवहारबाट देखाउनुपर्छ । निर्वाचन आयोगलाई मतदाता नामावली तयार गर्न र सुरक्षाकर्मीहरूको तयारीबारे बन्दोबस्त गर्ने निर्देशन दिँदैमा निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण हुने होइन । सत्तासीन नेता र मन्त्रीहरूको अधिकांश समय आफ्नै दलका असन्तुष्ट नेताहरूको खण्डन गर्न, आरोप लगाउन खर्चिरहेको छ । सत्तासीन दल नेकपाको आफ्ना नेता तथा कार्यकर्ता जोगाउन, अरूको कार्यकर्ता तान्न र एकले अर्काको कमजोरी औँल्याउनेमा समय व्यतित भइरहेको छ ।
नेकपा व्यवहारतः विभाजित भयो । विभाजनपछि दलका नेताहरूको अभिव्यक्तिले ओली पक्षधर नेकपा र दाहाल–नेपाल पक्षधर नेकपालाई चिन्न, जान्न सजिलो भएको छ । दाहाल–नेपाल पक्षले ओली कम्युनिस्ट होइन, गणतन्त्रवादी होइन भनिरहेको छ भने ओली पक्षधर नेताहरूले दाहाल–नेपाल पक्षलाई कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन भड्काउने र स्पस्ट दृष्टिकोण नभएको बताएका छन् । तर, ती सबै नेताहरू नेकपाकै हुन् । नेकपाकै नेताहरूले नेकपाकै नेताहरूलाई नेकपाविरोधी देखिरहेका छन्, कम्युनिस्ट र कम्युनिस्ट पार्टी होइन भनिरहेका छन् । नेकपाको कारण नेकपाकै बदनाम भएको छ । नेकपाले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा भुलेको छ । विगतमा अरू दलले त जनताको सेवामा काम गरेनन्, गरेनन् नेकपाको सरकारले पनि गर्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *