भर्खरै :

नेमकिपा समाजवादी प्रचार अभियानमा

नेपाल मजदुर किसान पार्टी सिद्धान्त र विचारको आधारमा राजनीति गरिरहेको पार्टी हो । देश र जनताप्रति समर्पित र जिम्मेवार भएर देश र जनताकै सेवामा जुटिरहेको पार्टी हो । पद र पैसाको निम्ति कहिल्यै राजनीति नगर्ने नेमकिपा झूटको खेती गरेर, पद र पैसाको लोभ देखाएर ठूलो पार्टी बनाउन चाहँदैन । देश र जनताको इमानदारीपूर्वक र निःस्वार्थपूर्वक सेवा गरिरहेको दल नेमकिपा हो । देशका सबै कम्युनिस्ट पार्टी तथा वामपन्थी पार्टीहरूले नेमकिपाले झैँ देश र जनताप्रति समर्पित भएर राजनीति गरेका भए देशमा शोषण, भ्रष्टाचार, कमिसन हुने थिएन । देश भ्रष्टाचारको सूचीमा पर्ने थिएन । कुनै विकास योजना र काममा आर्थिक अनियमितता हुने थिएन । विकासमा चुहावट हुने थिएन । देशको विकास चाँडै हुने थियो र देशको मुहार फेरिसकेको हुन्थ्यो ।
नेमकिपा भारतीय विस्तारवादी र अमेरिकी साम्राज्यवादविरोधी पार्टी हो । कुनै पनि शक्तिराष्ट्रको दबाब, थिचोमिचो, अतिक्रमण नेमकिपा सहँदैन । नेमकिपा देशको स्वाधीनता र सार्वभौमसत्ताको पक्षमा छ । विकास र आर्थिक लोभमा फसेर विदेशी शक्तिराष्ट्रको उठबसमा या इसारामा बस्न नहुने नेमकिपाको ठम्याइ छ ।
जातीय राजनीति गर्ने, देश विखण्डनको स्थितिमा पु¥याउन गरिने कुनै पनि चलखेल, षड्यन्त्र र राजनीतिको नेमकिपाले विरोध गरिरहेको छ । समाजमा अन्धविश्वास, कुरीति, विकृति, अराजकता रहेसम्म आदर्शाेन्मुख समाज स्थापना नहुने नेमकिपाको विचार हो । त्यही कारण नेमकिपा जनतालाई राजनैतिक, सैद्धान्तिक र सांस्कृतिक स्तर उठाउने अभियानमा छ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसमा नेमकिपाका नेता तथा कार्यकर्ताहरू जिल्ला–जिल्लामा पुगेर जनतालाई प्रशिक्षित गर्दै छन्, कम्युनिस्टको उद्देश्य, विचारबारे प्रस्ट पार्दै छन् । यो प्रचारात्मक अभियान समाजवादी प्रचार अभियानको सिलसिला हो ।
नेमकिपाले पार्टी स्थापना दिवसलाई समाजवादी प्रचार अभियानको रूपमा लिएको छ । नेता तथा कार्यकर्ताहरू जिल्ला–जिल्लामा पुगेका छन् । नेमकिपा स्थापनाका कारणबारे जनतालाई सुसूचित पार्दै छन् । तर, आफूलाइ कम्युनिस्ट भनिने नेकपाका नेता तथा कार्यकर्ताहरू एकले अर्काको पोल खोल्दै नेकपाकै बदनाम गरिरहेका छन्, नेकपाले विरोधी पक्षलाई कम्युनिस्टको विरोध गर्न दिने अवसर दिइरहेको छ । राजनीतिज्ञ र बुद्धिजीवीहरू देशको लागि नेमकिपाजस्तो पार्टी आवश्यक भएको विचार पोख्छन् । तर, आफूलाई ठूला भनिने देशका कम्युनिस्ट पार्टीहरू सत्ता, भागबन्डा र पदको निम्ति सम्पूर्ण शक्ति खर्च गर्दै छन् । यो देशको निम्ति दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *