भर्खरै :

आर्थिक विकास जनता फकाउने ललीपप नहोस्

देशमा गठन भएका हरेक सरकारले आर्थिक विकासको नारा दिने गरेका छन् तर व्यवहारमा हामी खासै अगाडि बढ्न सकेका छैनौं । हरेक वर्ष बजेट प्रस्तुत गर्ने क्रममा र अर्थमन्त्री फेरिएसँगै दुई अङ्क नजिकको आर्थिक वृद्धिदर कायम गर्ने घोषणा गर्छन् । पछि यथार्थमा त्यसको एक तृतीयांश मात्र वृद्धिदर कायम भएका समाचार सार्वजनिक हुन्छन् । आर्थिक वृद्धि हुने अनुमान घोषणा गर्ने मन्त्री र सरकारका उच्च पदाधिकारीले आफूले गरेको कुन उल्लेख्य कार्यका कारण आर्थिक वृद्धि हुन्छ भनी प्रस्ट पार्न आवश्यक ठान्दैनन् । पत्रकारले प्रश्न उठाएपछि गोलमटोल जवाफ दिएर टार्ने गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्रै देश समृद्ध बनाउने नारा दिएका थिए । उनको शासनको तीन वर्षमा देश कहाँ पुग्यो ? जगजाहेर छ । देशले किनेका दुईवटा रेलहरू थन्केर बसेका छन् । पानीजहाज कार्यालय छ तर पानीजहाज कुन बन्दरगाह वा महासागरमा छ अत्तोपत्तो छैन । फेरि पनि मन्त्री र सिङ्गो सरकारले आर्थिक विकासको कुरा गर्न छाडेका छैनन् । कुनै उल्लेख्य पूर्वाधार वा उत्पादन एकाइहरू कतै बनेका छैनन् तर तीन वर्षमा निर्यात दोब्बर गर्ने घोषणा भएको छ । सरकारले निर्यातका अवरोधहरू हटाउन र निर्यातका लागि मित्रराष्ट्रहरूसँग सहजीकरण गर्न पहलकदमी गर्ने हो भने त्यो असम्भव पनि लाग्दैन । तर, नेपाल सरकारहरू यस्ता पहलकदमी लिनमा नितान्त असफल रहँदै आएका छन् । फेरि नेपालको आजको निर्यातको अङ्क डब्बल हुँदैमा पनि ठूलै आर्थिक विकास भयो भनी सोच्नु पनि सही हुने छैन । बच्चाहरूलाई फकाउन ललीपप देखाउने गरिन्छ । सरकारमा रहेका र सरकारमा पुग्न खुट्टा उचालिरहेका दलका नेताहरू जुन आर्थिक विकासको कुरा गरिरहेका छन् त्यो जनता फकाउने ललिपपमात्र नहोलान् भन्न सकिन्न । आशा गरौँ, त्यस्तो नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *