भर्खरै :

सत्य, इमानदारी र निष्पक्षताको सन्दर्भमा मौलिक पत्रिका

‘श्रमिक’ साप्ताहिक २८ वर्षमा र ‘मजदुर’ दैनिक २३ वर्षमा प्रवेश गरेको यस शुभ अवसरमा यी पत्रिकालाई निरन्तरता दिन दिनरात खटिरहने साथीहरूलाई धन्यवाद दिन चाहन्छु । नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र विचारको झन्डा बनेर देशका विभिन्न भागमा दुन्दुभिझैँ बजेर प्रचार गर्ने जिम्मेवारी सम्हालिरहेका साथीहरूको मिहिनेत र समर्पण आगामी वर्षमा अझ मुखरित हुँदै जाओस् ¤
पत्रकारिताको कुरा आउनासाथ व्यवसायिक र आस्थाको, सत्य, निष्पक्षता र इमानदारी आदिको कुरा आउँछ । हाम्रा पत्रिका व्यवसायिक होइनन्, आस्थाका हुन् । सत्य, इमानदारी र निष्पक्षताको सन्दर्भमा पनि यी पत्रिका मौलिक छन् । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराप्रतिको आस्था अविचलित रहेको तथ्य नै सत्य र इमानदारी हो । त्यसैले ‘श्रमिक’ र ‘मजदुर’ साम्राज्यवाद, पुँजीवाद र विस्तारवादलगायतका जनविरोधी नीति र विचारप्रति निष्पक्ष रहन सक्दैनन् । यसले समाजवाद, मजदुर–किसानलगायत काम गरी खाने वर्गको हितमा दृढतापूर्वक पक्ष लिन्छ र लिँदै आएको छ । त्यसैले यी पत्रिकालाई नेमकिपाको पत्रिका, मुखपत्र पनि मान्ने गरिन्छ । यसमा कुनै लाज र हिनताबोध छैन । त्यसको विपरीत गौरवको विषय हो । यो गौरवलाई अझ सशक्तरूपमा अनुभूत गराउन सकोस् भन्ने कामना गर्दछु । यसमा पाठकहरूबाट त्यतिकै दरो सहयोग आवश्यक छ ।
‘श्रमिक’ पढेपछि ‘मजदुर’ पढ्नै पर्दैन–केही वर्षअघि एक शुभचिन्तकले यस्तै गुनासो गरेका थिए । तर, अहिले ‘श्रमिक’ मा छापिएका ‘मजदुर’ मा र ‘मजदुर’ मा छापिएका श्रमिकमा महत्वपूर्ण र आवश्यक लेख, समाचारबाहेक अरू दोहोरिन छोडेको छ । यो खुसीको कुरा हो । धेरै लेखकहरू देखापरेबाट त्यस्तो गुनासो सुनिएको छैन ।
केही समयदेखि मजदुरमा कार्टुन निरन्तर आइरहेको छ । यसले निरन्तरता पाउने आशा गर्दछु । तर, कार्टुनमा लेखिएका अक्षरलाई अझ स्पष्ट गर्न पाए राम्रो हुने थियो । अक्षरलाई टाइप गरेर पोस्ट गर्न मिल्छ कि ? ‘श्रमिक’ मा पनि कार्टुन आउने आशा गर्दछु । उपयुक्त विदेशी कार्टुनलाई पनि साभार गर्दा अन्यथा होला जस्तो लाग्दैन ।
अन्तमा, वर्ष २३ मा ‘मजदुर’ माघ ९ गतेसम्म ३६६ अङ्क प्रकाशित भयो । माघ १० गते वर्ष २३ अङ्क १ प्रकाशित भयो र गते मिल्दो वर्ष फेरिएको छ । तर, श्रमिक वर्ष २७ मा अङ्क ५२ र माघ ६ गते नै वर्ष २८ अङ्क १ गरी प्रकाशित भयो । वर्ष २८ को सुरुमै माघ १३ गते अङ्क २ प्रकाशित हुँदा अलि अलमल परियो । यस्तो नहुनुपर्ने जस्तो लाग्छ ।
(‘श्रमिक’ साप्ताहिकको २८ औँ,
‘मजदुर’ दैनिकको २३ औँ र ‘अनलाइन मजदुर’ को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *