भर्खरै :

‘मजदुर’ र ‘श्रमिक’ को अर्कै महत्व

वर्गीय समाजमा राजनीति अति कठोर, अति क्रुर र आक्रामक हुने गर्छ । वर्ग हेर्ने राजनीतिले अरू केही हेर्दैन, मात्र राजनीति हेर्छ । वर्गीय समाजमा निम्न वर्गको मान्छे निम्न मध्यम वर्गमा, निम्न मध्यम वर्गको मान्छे मध्यम वर्गमा, मध्यम वर्गको मान्छे उच्च वर्गमा उक्लन यथाशक्ति प्रयत्न गर्छ । केही प्रतिशत मान्छे त माथिल्लो वर्गमा चढ्न सङ्घर्ष नै पनि गर्छन् । वर्तमानमा काठमाडौँ खाल्डोमा र यस बाहिरका पनि सहरी क्षेत्रमा जे–जति गगनचुम्बी विशाल भवन ठडिएका छन् । तीमध्ये आधाआधीजसो त्यही राजनीतिमा खेल्नेहरूका छन् । आधाजस्तो उद्योगी, व्यापारी, सरकारी जागिरेहरूका होलान् । राजनीति अवसरवादीको हातमा प¥यो भने गर्नु नगर्नु जे पनि गर्छ । सञ्चारमाध्यममा प्रवेश गर्छ र कतिपय अवस्थामा त कब्जा नै गर्छ । आफ्नो हुँदोबाहेक अरू केही सामग्री प्रचारप्रसार गर्न दिँदैन । यहाँसम्म गर्छ जनताको आवाज मुखरित गर्ने पत्रपत्रिका सहज र स्वाभाविकरूपमा बिक्री गर्न पनि दिँदैन । पत्रिका बिक्री गर्ने पसलेहरूलाई त्यस्ता अखबार नबेच्न, नदेखिने गरी राख्न पनि भन्छ । वर्गीय समाजमा राजनीति प्रतिस्पर्धामा उभिन चाहँदैन । प्रारम्भिक अवस्थामा नै जनताको राजनीतिलाई उखेल्न चाहन्छ । यो कुनै नयाँ र नौलो कुरो होइन । यसैले नेपाल मजदुर किसान पार्टीले आफ्नो स्थापनाको १९ वर्षपछि आफ्नै बन्दोबस्तमा साप्ताहिक ‘श्रमिक’, त्यसको ५ वर्षपछि दैनिक ‘मजदुर’ प्रकाशन सुरू ग¥यो ।
यस्तो अवसर दुर्लभ हुन्छ नि !
हामी कामदार जनताको पक्षको पत्रकारिता गर्न थालेको २८ वर्ष भएछ । तर, काम गरिखाने जनताको पक्षमा निरन्तर पत्रकारिता गर्न निश्चय पनि सजिलो छैन भन्छ हाम्रो २८ वर्षको ‘श्रमिक’, २३ वर्षको ‘मजदुर’ र पाँच वर्षको ‘अनलाइन मजदुर’ प्रकाशनको अनुभवले । ‘श्रमिक’ साप्ताहिकरूपमा प्रकाशन गर्न प्रारम्भ गर्नुपूर्व सकिन्छ, सकिन्न निकै मन्थनपछि दृढ आँट गरेरमात्र थालिएको हो । त्यसको पाँच वर्षको अनुभवले दैनिक ‘मजदुर’ प्रकाशन गर्न थालिएको हो । अब समाजका काम गरी खानेहरूका छोराछोरीहरू पनि पढ्न थाले, हाम्रै मजदुर–किसान पार्टीका मान्छेहरूमा पनि चेतना बढ्न थाल्यो साप्ताहिक ‘श्रमिक’ र दैनिक ‘मजदुर’ अपर्याप्त भयो । पाँच वर्षदेखि ‘अनलाइन मजदुर’ पनि थालियो । गर्दागर्दै भएर गयो त तीनै वटा प्रकाशन चलेका छन् हो ¤ यी सञ्चार माध्यममा संलग्न साथीहरू राति पूरा सुत्न पाउँदैनन्, परिवारसँग बस्न पाउँदैनन्, छोराछोरीलाई पेटभरि माया गर्न भ्याउँदैनन् । आफ्नो जीविकोपार्जनका लागि पेशामा घोटिनु छँदै छ । कति साथीहरू यसरी अतिरिक्त समय परिश्रम गरेर यी पत्रिका प्रकाशन भएका छन् । सबैले यस्ता मसिना कुरा बुझ्दैनन् । शोषित, पीडित कामदार वर्गको हितमा गरिने पत्रकारिता पक्कै पनि सजिलो हुँदैन । यस्तो पत्रकारिता गर्न निःस्वार्थ, निडर र निर्भिक भने हुनैपर्छ । जनताको हितमा काम गर्न गौरव मान्नुपर्छ । यस्तो काम गर्ने अवसर दुर्लभ हुने गर्छ ।
वितरकसँग पुनरावलोकन
‘श्रमिक’ र ‘मजदुर’ वर्गका बीचमा सही विचार पु¥याउन हाम्रा प्रकाशनहरू महत्वपूर्ण साधन भई आएका छन् । हाम्रा यी प्रकाशनले नेपालको राजनीतिलाई सही दिशानिर्देश गर्न, जनताका ऐया र आत्थुलाई सरकार र सम्बन्धित ठाउँसम्म पु¥याउने, सीमा अतिक्रमणविरूद्ध जनतालाई जागृत गर्ने काम सशक्तरूपमा गरिरहेका छन् । अन्तर्राष्ट्रियरूपमा पनि साम्राज्यवाद, शोषण, दमन, उत्पीडनका मुद्दाहरू उठाउँदै आएका छन् । हाम्रा प्रकाशनहरू सही सूचनाका कारण त्यहाँका वास्तविक समस्या अवगत गर्न विशेष सहयोग पुगेको छ । यस अतिरिक्त कोरोनाविरूद्ध ढाकछोप गर्ने फट्याइँलाई उदाङ्गो पार्दै खबरदारी गरेर धेरैको ज्यान बचाउन ठूलो सहयोग पु¥याएका छन् । हाम्रा यी प्रकाशनहरू सकभर सरल भाषा शैलीमा सामग्रीहरू दिन प्रयास गर्छन् जसका कारण साधारण साक्षर मानिसलाई पनि प्रस्तुत सामग्री पढेर विश्व मामला र आफ्नै देशको पनि वस्तुस्थिति बुझ्न ठूलो सहयोग पुग्ने गरेको छ । पत्रपत्रिकामा प्रकाशन हुनुमात्र ठूलो कुरो हुँदोरहेनछ । पढ्नेहरूकहाँ समयमा पुग्नुपर्ने पनि हुँदोरहेछ । यो कुरातिर पहिले पहिले हाम्रो ध्यान जाँदैनथ्यो । अब हामीले पनि बुझ्यौँ । पत्रिका समयमा प्रकाशन हुने एउटा कुरा हो भने पाठककहाँ समयमा पुग्ने त्योभन्दा महत्वपूर्ण हुँदोरहेछ । यो तथ्य हाम्रा ‘श्रमिक’ र ‘मजदुर’ ले बुझेको हुनुपर्छ । यस बँुदामा हामी अझै दुरूस्त भइसकेका छैनौँ । ‘श्रमिक’, ‘मजदुर’ले प्रति सात सात दिनमा पत्रिका वितरकहरूसँग परिस्थिति के छ ? पुनरावलोकन गर्ने गर्नु जाती होला । यो बुँदा समिष्टमा हेर्दा उति आँखा नलाग्ने तर रहेछ गाँठी कुरा ।
झूटो प्रचार भत्काउन सफल
काठमाडौँ खाल्डोमा समेत समयमा हाम्रा पत्रपत्रिका पुग्दैनन् भने कर्णाली, भेरी, सेती, महाकाली अञ्चल र जिल्लाहरूमा पत्रिका समयमा नपुग्नु स्वाभाविकै हो । नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विकले भेरी, कर्णालीजस्ता दुर्गम भेगमा कम्युनिस्ट सिद्धान्त र विचार पु¥याउने काम ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिक पत्रिकाहरूले निरन्तर गरिरहेको कुरा उल्लेख गरेर यी पत्रिकाको औचित्य पुष्टि गर्नुभयो । हवाई यातायातको अनियमितता, सवारी साधनको कमी र भौगोलिक जटिलताजस्ता कारण दुर्गम क्षेत्रका जनतामाझ मागअनुसार पत्रिका पु¥याउन नसकिएको वस्तुस्थिति पनि उहाँले राख्नुभयो । यी पत्रिकाले देशको राजनीति, अन्तर्राष्ट्रिय राजनीति, इतिहास, साहित्य एवम् संस्कृति आदि विषयहरूका गहन लेख–रचनाहरू प्रकाशन गरेर वास्तवमा पाठकहरूलाई बुद्धिजीवीकरण गरिरहेको वस्तुतथ्य पनि सार्वजनिक गरेर यी पत्रपत्रिकामा काम गर्ने साथीहरूको हौसला बढाइदिने काम भयो । पुँजीवादी सञ्चार माध्यमहरूले पनि झूटो कुराहरूको प्रचार गरी खडा गरेका गलत धारणा भत्काउने काम पनि गरिरहेको कुरा प्रस्तुत गरियो । यो काम पनि निकै महत्वपूर्ण हो । अनलाइन मजदुरबारे के होला ? भन्ने दोधार थियो तर यो सेवाको पाठकहरूको सङ्ख्या निरन्तर बढिरहेको टिप्पणी गरियो जसका कारण काम गर्नेहरूमा उत्साह थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *