भर्खरै :

क्रान्तिकारी पत्रकारिता

‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुर’को वार्षिकोत्सव शनिबार (२०७७ माघ १७ गते) मनाइयो । बौद्धिक पाठकहरूले यी सञ्चारमाध्यमले पु¥याएका योगदानबारे विभिन्न कोणबाट विश्लेषण प्रस्तुत गर्नुभयो । करिब एक दर्जन वक्ताका प्रस्तुति र मन्तव्य सुनिसकेपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अत्यन्तै सङ्क्षिप्त भनाइ राख्नुभयो जो अत्यन्तै मननीय थिए । उहाँले किसान तथा मजदुरवर्गीय सञ्चारमाध्यमले विज्ञान तथा प्रविधिको प्रयोग अझ विस्तार गर्नुपर्ने, लेखनलाई निरन्तरता दिनुपर्ने तथा व्यापक जनताको स्वार्थको निम्ति कलम चलाउनुपर्नेजस्ता केही शब्दसङ्केतहरू दिनुभयो । गत सालको यस्तै वार्षिकोत्सव समारोहमा अध्यक्ष रोहितले अत्यन्तै जोड दिएर पत्रकारितालाई व्यापार वा नाफानोक्सानको विषय बनाउनुहुन्न भन्नुभएको थियो  ।
जनउत्तरदायी आमसञ्चार (मासमिडिया) वा बोलीचालीमा भनिने मिडिया नै आजको एक मुख्य चासो एवम् चिन्तनको विषय पनि बनेको छ । मिडिया आज झन् शक्तिशाली बनेको छ तर यसले कसको सेवा गर्छ ? भैँसी कसको भनी सोध्नुअगाडि लाठी कसको भनेर सोध्नुपर्ने हुन्छ । सूचनाप्रविधिको विकास हुँदा मिडियाले धेरै फड्को त मा¥यो तर सही सूचना तथा विश्लेषण श्रमिक वर्गमाझ पुग्यो कि पुगेन ? सूचनाको पहुँच भएर पनि मजदुर तथा किसानले सूचना ग्रहण गर्न सके कि सकेनन् ? जनधारणा निर्माण गर्ने वा मानिसको चेतनाको स्तर उकास्ने सबभन्दा प्रभावकारी हतियार मानिएको मिडियाले गलत वा प्रतिगामी धारणा पो निर्माण गर्दै छ कि ¤ खसी काट्ने कुखुरीले मान्छे पो काटिरहेको छ कि ¤ यी विषय अत्यन्तै सङ्गीन छन् ।
सञ्चार साम्राज्य
मिडिया कसको हातमा छ ? यसबारे केही तथ्य केलाऔँ ! अधिकांश दक्षिण अमेरिकी मुलुकहरूमा संयुक्त राज्य अमेरिकामा उत्पादन भएका ९० प्रतिशतभन्दा बढी टेलिभिजन कार्यक्रमहरू प्रसारित हुने गरेको देखिन्छ । नेपाली समाजमा भारतीय टेलिभिजन कार्यक्रमको वर्चश्व अझै पनि घट्न सकेको छैन । टीभी भनेपछि बीबीसी, सीएनएन वा समाचार संस्था भनेपछि एपी, एफपीमात्र हुन् भन्ने ठान्ने विश्वव्यापी मानसिकता स्थापित कसरी भयो ? हाम्रो देशका ७५ प्रतिशतभन्दा बढी मुलधारका सञ्चारमाध्यम वा सञ्चारगृहहरू बहुराष्ट्रिय कम्पनीको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रणमा चल्ने गरेको विश्लेषण सोचनीय छ । बाँकी करिब २० प्रतिशत सञ्चारमाध्यमहरू देशका ठूला व्यापारी, प्रशासक तथा शासक वर्गको लगानी र संरक्षणमा सञ्चालित छन् । जनताको राजनीतिक तथा सांस्कृतिक स्तर उठाउने उद्देश्यका साथ पत्रकारिता गर्नेको सङ्ख्या अत्यन्त न्यून छ । अझ समाजवादी आस्थाको पत्रपकारिताको अवस्था कस्तो होला ? यस विषयमा हामी घण्टौँ घोत्लिन सक्छौँ ।
मिडियाले मानिसको दिमागलाई नै ‘कन्ट्रोल’ गरिरहेको छ । आजको जनधारणा मूलतः मिडिया नियन्त्रित छ । राजनीतिक प्रणालीको डिजाइनसमेत सञ्चारमाध्यमले गरिरहेका हुन्छन् । आर्थिक तथा सामाजिक क्षेत्र पनि मिडियाबाट प्रभावित छन् । मिडिया त साम्राज्यवादीहरूको सबभन्दा प्रभावकारी हतियार भइरहेको छ । विद्वान लेखक हर्वट स्किलरले यसलाई ‘सञ्चार साम्राज्य’ भनेका छन् र सञ्चार साम्राज्यवादलाई साम्राज्यवादकै एक हिस्सा मानेका छन् । आज सञ्चारको विश्वमानसमा कति प्रभाव परेको छ भन्ने कुरा मानिसको बोली, व्यवहार, रहनसहन, चेतनाबाट थाहा हुन्छ । त्यसैले सञ्चार साम्राज्यवादलाई वैचारिक साम्राज्यवादसमेत भनिएको छ । पश्चिमा संस्कृति नै सबभन्दा राम्रो, त्यहाँको राजनीतिक व्यवस्था नै सर्वोत्कृष्ट छ भन्ने मान्यता स्थापित गर्न पश्चिमा सञ्चारमाध्यम न्वारानदेखिको बल लगाएर लागिपरेका छन् । पश्चिमा चलचित्र, टीभी कार्यक्रम, सङ्गीत, समाचार आदिलाई सभ्यताको मानक मान्ने प्रवृत्ति नेपाली युवामा समेत व्यापक छ । पश्चिमा धनी देशहरू आफै सञ्चारका सामग्री (समाचार, फिचर, अन्तर्वार्ता, डकुमेन्ट्री, चलचित्र आदि) को उत्पादन गर्छन्, वितरण वा प्रसारण गर्छन्, साना तथा निर्धन देशले तिनको ‘उत्पादन’ स्वीकार गर्छन् । धनी तथा विकसित देशका उत्पादनलाई चुनौती दिने क्षमता साना तथा निर्धन देशमा हुन्न । प्रविधिको क्षेत्रमा हलिउडका चललित्रलाई माथ गर्न अरू देशले सकेका छैनन् । अनि हलिउडका चलचित्रलाई नै स्ट्यान्डर्ड मानेर अन्य देशले पनि त्यही धारणा प्रसारण गर्ने कसरत गर्न थाल्छन् ।

मिडियाले मानिसको दिमागलाई नै ‘कन्ट्रोल’ गरिरहेको छ । आजको जनधारणा मूलतः मिडिया नियन्त्रित छ । राजनीतिक प्रणालीको डिजाइनसमेत सञ्चारमाध्यमले गरिरहेका हुन्छन् । आर्थिक तथा सामाजिक क्षेत्र पनि मिडियाबाट प्रभावित छन् । मिडिया त साम्राज्यवादीहरूको सबभन्दा प्रभावकारी हतियार भइरहेको छ । विद्वान लेखक हर्वट स्किलरले यसलाई ‘सञ्चार साम्राज्य’ भनेका छन् र सञ्चार साम्राज्यवादलाई साम्राज्यवादकै एक हिस्सा मानेका छन् । आज सञ्चारको विश्वमानसमा कति प्रभाव परेको छ भन्ने कुरा मानिसको बोली, व्यवहार, रहनसहन, चेतनाबाट थाहा हुन्छ । त्यसैले सञ्चार साम्राज्यवादलाई वैचारिक साम्राज्यवादसमेत भनिएको छ ।

म्याकडोनाल्ड र केएफसीलाई विश्वभर फैलाउन तथा स्थापित गर्न साम्राज्यवादी मिडियाले नै भरथेग गरे । ‘चिसो भनेको कोकाकोला’ नै हो भनेर प्रचार गर्ने त्यस्तै मिडिया हुन् । हामीले के खाने, के लाउने, कुन ब्रान्डको सामान किन्ने कुराको निर्धारण सञ्चारमाध्यममा आउने विज्ञापनले गर्दछन् । हाम्रो सोच पनि सञ्चारमाध्यमका सूचनाबाट प्रभावित हुन्छन् । समग्रमा मानिसको ‘विश्व दृष्टिकोण’ अर्थात् ‘वल्र्ड भ्यु’ बनाउने काम सञ्चारमाध्यमले नै निर्देशित गर्छन् ।
समाजवादी पत्रकारिता
पञ्चायती शासकहरूले आमसञ्चारमाध्यमलाई आफ्नो निरङ्कुशता कायम गर्न प्रयोग गरे । बहुदलीय प्रजातन्त्रकालका सञ्चारमाध्यमले पनि शासकहरूको महिमामण्डन गर्न छोडेनन् । त्यस्ता सञ्चारमाध्यमले आस्थाभन्दा नाफाको व्यापार गर्ने मूल उद्देश्य राखेको देखिन्छ । करछली गर्ने ठूल्ठूला कम्पनीको समाचार लुकाउने, विज्ञापनदातालाई खुशी पार्न कालोबजारीसम्बन्धी समाचार प्रसारणमा रोक लगाउने, अपराधीसँगको ‘ब्ल्याकमेलिङ’ मा कुरा नमिल्दा भने लुकाइएका समाचारले स्थान पाउने चालबाजी नेपाली सञ्चारमाध्यममा बारम्बार दोहोरिरहन्छन् । नाफा कमाउने उद्देश्यले पुँजीपति वर्गको साँठगाँठमा सञ्चालित मिडियाले जनताको व्यापक हितको पक्षपोषण गर्नै सक्दैनन् । तिनीहरूले मालिक रिझाउने कामबाहेक अरू केही गर्दैनन् । तिनीहरूले इतिहासको सही विश्लेषण गर्दैनन् । देशविदेशका क्रान्तिकारी आन्दोलनको चर्चा पनि गर्दैनन् । तिनीहरूबाट सामूहिक भावना जगाउने, उपभोक्तावादी चिन्तन छोड्न उत्साहित गर्ने सामग्रीको आशा गर्न सकिन्न ।
पुँजीवादी तथा साम्राज्यवादी मिडियाविरुद्ध समाजवादी मिडियाको विस्तार गर्न अलि ढिला भइसकेको छ । समाजवादी संस्कृति स्थापित गर्ने मिडिया कसरी अगाडि बढाउने भन्नेबारेको छलफल सघन बनाउने बेला आएको छ । समाजवादी क्रान्तिको आधारशिला तयार गर्ने मिडियाको विकास नभई त्यस्तो खालको परिवर्तन सम्भव हुन्न । इमानदार राजनीतिक कार्यकर्तालाई केही गर्न नसक्ने, कमजोर वा लुते देखाउने संस्कृतिविरुद्ध लड्न समाजवादी पत्रकारहरूले कलम अझ तिखार्ने बेला आएको छ । क्रान्तिकारी आन्दोलन तथा सङ्घर्षमा दिलोज्यान दिने, सामूहिक हितको निम्ति सदा तत्पर रहने, गरिब तथा निमुखाको पक्षमा वकालत गर्ने, निःस्वार्थ भावनाले जनताको सेवा गर्ने सामाजिक कार्यकर्तालाई आदर्श मान्ने संस्कृति स्थापित गर्नु क्रान्तिकारी पत्रकारको कर्तव्य हुन्छ ।
‘श्रमिक’, ‘मजदुर’ र ‘अनलाइन मजदुर’ ले समाजवादी व्यवस्थाको पक्षमा आरम्भदेखि नै पक्षपोषण गरिरहेका छन् । जनताको आर्थिक तथा वैचारिक सहयोगमै टिकेका संस्था भएर होला यी सञ्चारमाध्यम निर्धक्क बोल्न सक्छन् । गरिब जनताको सानोतिनो आर्थिक सहयोगबाट सञ्चालन भएका पत्रिका भएकाले यी ‘स्वतन्त्र एवम् निष्पक्ष’ व्यावसायिक पत्रिकाभन्दा फरक लाग्छन् । यी पत्रिकाहरूले धूमपान, मध्यपान, सफ्टड्रिङ्क्स, पतुर खानेकुरा (जङ्कफुड) आदिका उत्पादकसँग विज्ञापनको निम्ति कहिल्यै सम्झौता गरेनन् । यी पत्रिकामा किसान र मजदुरका छोराछोरीले नै स्वामित्व ग्रहण गरेका छन् । त्यसैले त्यहाँ मजदुर र किसानको आवाज लेखिन्छ, मजदुर र किसानको विचार सम्प्रेषित हुुन्छन् ।
‘श्रमिक’, ‘मजदुर’ र ‘अनलाइन मजदुर’ ले कहिल्यै पनि वैचारिक निष्पक्षताको कुरा गरेनन् । सन्तुलन मिलाउने बहानामा प्रतिक्रियावादी विचार सम्प्रेषण गर्ने काम यी पत्रिकाहरूले गरेको देखिन्न । तर, कुनै पनि घटना, दुर्घटना वा विषयको समाचार दिँदा एकपक्षीय हुननदिन सदा सजग देखिन्छन् । सञ्चार सामग्री सत्यतथ्यमा आधारित बनाउन कटिबद्ध देखिन्छन् । अनुमान वा स्वैरकल्पनाको आधारमा निराधार कुरा जनतामा फैलाउने, भ्रामक वा आंशिक सत्यलाई बढाइचढाइ प्रस्तुत गर्ने, निहित स्वार्थवश सत्यतथ्य लुकाउने, वा बङ्ग्याउने पत्रकारिताको विरुद्ध लागिरहेकैले जनमानसबीच यी सञ्चारमाध्यमप्रति विश्वास बढिरहेको छ ।
समाजप्रतिको जिम्मेवारी प्रधान पक्ष हो भन्ने मान्ने, सर्वसाधारणलाई सुसूचित गर्ने, शिक्षित गर्ने र उत्साहित गर्नेजस्ता पत्रकारिताका उद्देश्य आत्मसात् गर्नु आजको पत्रकारिताको धर्म हो । पत्रकार सदा प्रतिक्रियावादी सत्ताको विपक्षमा उभिएको हुनुपर्छ । उनीहरू ‘ल्यापडग’ नभएर ‘वाचडग’ हुन्छन् । ‘राज्यको चौथो अङ्ग’ भई सूचनामात्र होइन, शिक्षा दिने उद्देश्य पूरा गर्नु जनपक्षीय पत्रकारिताको मर्म हो । जनसरोकार नै समाजवादी पत्रकारका विषय हुनुपर्दछ, आवाजविहीनहरूको आवाज बन्नु उनीहरूको लक्ष्य हुनुपर्दछ, उनीहरू सम्बन्धित निकाय र सम्बन्धित जनताबीचको पुल हुन्, उनीहरू जनधारणा निर्माण गर्न सदा क्रियाशील हुन्छन्, समाज र देशको पहरेदार भएर जनताको वास्तविक प्रतिनिधि बन्छन् । नेपालको जनपक्षीय इतिहास क्रान्तिकारी पत्रकारहरूले मात्र लेख्नसक्छन् । चिनियाँ साहित्यकार लुशुनले ‘क्रान्तिकारीहरूले लेख्न थालेपछि क्रान्तिकारी साहित्यको विकास’ हुन्छ भन्नुभएझैँ क्रान्तिकारी पत्रकारले लेख्न थालेपछिमात्र क्रान्तिकारी पत्रकारिताको विकास हुन्छ ।
जसरी ‘संसार हल्लाउने ती दश दिन’ का लेखक तथा पत्रकार जोन रिडले रूसी अक्टोबर क्रान्तिको यथार्थ ‘रिपोर्ट’ संसारलाई गरे, जसरी पत्रकार एड्गर स्नोले चिनियाँ क्रान्तिको वास्तविक चित्र उतारे, संसारलाई अमेरिकी आणविक आतङ्कको भयबाट मुक्ति दिन चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङको सन्देश जसरी पत्रकार अन्ना लुइस स्ट्रङ्गले विश्वसामु पु¥याइन्, जसरी अमेरिकी आक्रमणविरुद्ध हिन्दचीनका जनताको प्रतिकार संसारलाई अवगत गराउने काम पत्रकार विल्फ्रेड बर्चेटले गरे, त्यसरी नै संसारका न्यायपूर्ण आन्दोलन तथा सङ्घर्षका कथा सगर्व लेख्न सक्ने धेरैभन्दा धेरै पत्रकार जन्माउनु आजको समयको माग हो । समाजवादी आन्दोलनको एउटा मुख्य आधार क्रान्तिकारी पत्रकारिता नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *