भर्खरै :

मङ्गलबजार, रत्नपार्क, टौमढी र चारदोबाटो

नेमकिपाको ४७ औँ स्थापना दिवसको सिलसिलामा जिल्ला – जिल्लामा बैठक, अन्तरक्रिया, कोणसभा, जुलुस प्रदर्शन, जनसभा र पुस्तक प्रदर्शनहरूको आयोजना भइरहेको छ । ती गतिविधिले एक खालको आन्दोलनको रूप लिँदै छ । सहर–बजार र राजधानीमा बुद्धिजीवीहरूको घुइँचो हुने हुँदा त्यस्तै ठाउँमा पुस्तक प्रदर्शनीहरू भए । ती प्रदर्शनीको क्रममा आयोजकले फरकफरक जानकारी पाएको सम्बन्धमा १७ माघको ‘मजदुर’ दैनिकमा ‘एक सहभागी’ ले ‘पुस्तक प्रदर्शनीका चार दिन’ शीर्षकमा आफ्नो अनुभव लेखे । त्यसबारे मिश्रित टिप्पणीहरू प्राप्त भयो ।
मङ्गलबजार (ललितपुर) र रत्नपार्कको शान्तिबाटिकामा आयोजित पुस्तक प्रदर्शनी नेकपाको माधव–प्रचण्ड गुटको जनसभाको कारण अशान्त भएपनि दर्शक र पाठकहरूबाट राम्रै सल्लाहसुझाव प्राप्त भएको हुँदा आयोजकहरू हर्षित भएको सुन्दै र पढ्दैमा सन्तोष लाग्ने विषय हो । अरूको कार्यक्रमलाई नबिथोलेर भएका मित्रवत सल्लाह एवम् टिप्पणीहरूबाट राजनैतिक संस्कृतिको स्तरमा वृद्धि भएको अनुमान आयोजकहरूले गरेको पढ्दा चित्त बुझ्यो । यस्तो अवस्थामा पहिले भएको भए एकले अर्काे समूहको कार्यक्रममाथि ढुङ्गामुढा हुन्थ्यो र जथाभावी गाली र अपशब्द प्रयोग हुन्थे ।
विडम्बनाको विषय हो ललितपुर र काठमाडौँको पुस्तक प्रदर्शनीका दुवै दिन नेकपा (माधव–प्रचण्ड) को गुटले जुलुस र जनसभामा ‘चोर’, ‘ठग’, ‘दलाल’, ‘भ्रष्टाचारी’, ‘अपराधी’ र ‘ढुकुटी’ लुट्नेहरूजस्ता शब्दहरू प्रयोग गर्दा दर्शक र स्रोताहरू एकापसमा कानेखुसी गर्दै थिए । ‘के त्यसो भए एमाले, एमाओवादी वा नेकपा साँच्चै चोर, ठग, दलाल, भ्रष्टाचारी, अपराधी र ढुकुटी लुट्नेहरूकै पार्टी रहेछ त ? सत्य यही हो भने यो सच्चाइ पहिल्यै किन बाहिर आएन ? के प्रधानमन्त्री हुन र पदकै निम्तिमात्र नेकपाका नेताहरूको सच्चाइ बाहिर आएको हो ? आदि प्रश्न उठ्नु स्वाभाविकै छ । !
बनेपा चारदोबाटोमा भएको पुस्तक प्रदर्शनीमा नेकपा (माधव–प्रचण्ड) गुटले काठमाडौँमा ‘१० लाख जनता जम्मा गर्ने’ भने तापनि ‘निःशुल्क बसहरू’ र ‘भाडा गाडीहरू’ मा यात्रु वा सहभागीहरू थोरथोरै थिए । शासक दलहरूको आलोचना गरिएकोमा केही ज्येष्ठ नागरिकहरूले ‘चित्त दुखाउँदा’ ती दलहरूको कर्तुतहरूकै कारण देशका जनताले दुःख पाएको र मादक पदार्थ प्रयोग गर्ने एवम् निधारमा चन्दन लगाउनेहरूले ‘फेरि राजा ल्याउन’ उफ्रँदै चम्केकोबारे प्रस्ट गर्दा नाजवाफ भएको वर्णन छ ।
पाँचतले देवल अगाडि भक्तपुरमा चौथो दिन भएको पुस्तक प्रदर्शनीमा विभिन्न जिल्लाबाट घुम्न आएका देशवासीसँग पनि छलफल भएको उल्लेख छ । शिष्ट र राजनैतिक शब्दावलीमा गरिएको आलोचनालाई पनि ‘गाली’ सम्झने ‘साधारण स्रोता’ समाजमा बाँकी रहेको आयोजकहरूको अनुभव छ । तीमध्ये कतिपयले चोर, ठग, दलाल, भ्रष्टाचारी, अपराधी, देशको ढुकुटी लुट्नेजस्ता शब्दहरूलाई पचाउने तर नेकालाई ‘नवउदारवादी’ र ‘युवाहरूलाई विदेशमा बिक्री गर्ने नीति ल्याउने’ दल भनेकोमा चित्त दुखाउनेहरू पनि थिए । यसरी राजनैतिक संस्कृतिको स्तरमा समानता देख्न केही सयम अझ पर्खनुपर्ने देखियो भन्ने आयोजकहरूको अन्दाज छ ।
‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीहलाई चिठी’, ‘जनताको साहित्य र साहित्यकार’, ‘खोटा विचारहरूको खण्डन’, ‘गुप्त दस्तावेज’, ‘चिनियाँ जनकम्युन’, ‘आत्मनिर्भरताको प्रश्नबारे’ जस्ता पुस्तक र पुस्तिकाहरू पुनः प्रकाशन गर्नुपर्ने आयोजकहरूको सुझावले साधारण जनताले सरल वा बुझिने साहित्य मन पराएको देखिन्छ ।
केही बैठकमा ‘श्रमिक’ र ‘मजदुर’ मा छापिएका राम्रा लेखहरू स–साना पुस्तकको आकारमा हेर्न पाएमा फेरिफेरि पढ्न पाइने र सङ्ग्रहणीय पनि हुने सल्लाह सकारात्मक देखियो । आशा गरौँ, पुस्तक प्रदर्शनीका भाइबहिनीले पाठकको सुझावलाई मनन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *