भर्खरै :

नेकपाभित्र आन्दोलनको प्रतिस्पर्धा !

सरकारविरुद्ध लक्षित भएर आन्दोलन गर्नु जरुरी छैन भनी उपदेश बाँड्ने प्रधानमन्त्री केपी ओली आफैले अहिले आन्दोलनमा उत्रन आग्रह गरेका छन् । आन्दोलनमा सरिक हुन आग्रह गर्ने प्रम ओलीमा द्वैधचरित्र देखिएको छ । सत्तारुढ दल नेकपाको आन्दोलन आफ्नै सरकारको विरोध गर्ने दाहाल–नेपाल पक्षधर नेकपाको विरुद्ध लक्षित छ । कसको विरुद्ध आन्दोलन गर्नु छ र भनी प्रश्न गर्ने प्रम ओलीले आफ्नै दलका नेताहरूको विरोधमा आन्दोलन गर्न उत्रेका हुन् ।
नेकपाकै नेताहरू नेकपाको नेतृत्वमा रहेको सरकारको विरोध गर्दै छन् । सरकारको विरोध गर्न र सरकारको विरोध गर्ने दलको प्रतिकार गर्न नेकपाका नेताहरू दिनरात जुटिरहेका छन् । ओली पक्षधर नेकपा र दाहाल–नेपाल पक्षधर नेकपाका नेताहरूबीच आन्दोलनको प्रतिस्पर्धा भइरहेको छ । उनीहरू को भन्दा को कम भन्दै सकेसम्म आन्दोलनमा बढीभन्दा बढी जनता सहभागी गराएर आफ्नो पक्षको आन्दोलन ठूलो दाबी गर्ने र त्यसैको आधारमा आफ्नो दललाई ठूलो मान्ने सपना नेकपाका नेताहरूले बुनिरहेका छन् ।
आफ्नै दलको विरोध गर्न नेकपाका नेताहरूले भएभरको शक्ति प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा सकेसम्म कार्यकर्ता जुटाउनु या सहभागी गराउनु नै उनीहरूको निम्ति गौरवको अनुभूति जस्तो भइरहेको छ । आन्दोलनमा बढीभन्दा बढी कार्यकर्ता जुटाउन सकिएन भने इज्जत जाने, ठूलो दल सावित नहुने जस्तो अनुभूति उनीहरूलाई भइरहेको छ । दुवै पक्षको यो आन्दोलन सीमा बचाउने या नेपाली भूमि अतिक्रमणको विरुद्ध लक्षित भएको भए कति जाती हुन्थ्यो ? यी आन्दोलन भ्रष्टाचार, पक्षपात, घूस, अनियमितता, कालाबजारी, महँगीविरुद्ध भएको भए कति जाती हुन्थ्यो ?
नेकपाको आन्दोलन इज्जत जोगाउने आन्दोलनमा फेरिरहेको छ । नेकपाको आन्दोलन एकले अर्काे माथि लगाएको आरोपको खण्डन गर्नेतर्फ उन्मुख भइरहेको छ । नेकपाको आन्दोलन सरकार जोगाउने र सरकार ढाल्नेहरूको भइरहेको छ । नेकपाको आन्दोलन भागबन्डाको भइरहेको छ । यो देश र जनताको पक्षमा भइरहेको आन्दोलन होइन । यो आन्दोलन एउटै दलका नेताहरूबीचको असन्तोषको आन्दोलन हो ।
नेकपाका दुवै थरीको आन्दोलन सिद्धान्त र विचारसित सम्बन्धित छैन । यो आन्दोलन माक्र्सवाद, लेनिनवाद र माओ विचारधारासित सम्बन्धित छैन । यो आन्दोलनले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन बलियो हुँदैन । यो आन्दोलनले न भ्रष्टाचार नियन्त्रण हुन्छ न त सीमा अतिक्रमण रोक्छ र मिचिएको सीमा फिर्ता हुन्छ ? यो आन्दोलन सरकार जोगाउने र सरकार ढाल्नेसित सम्बन्धित छ । हो, यो आन्दोलनले नेकपालाई चिन्न सजिलो भएको छ । यो आन्दोलनले नेकपा नेताहरूको चरित्र थाहा पाउन सघाउ पुगेको छ । आफ्नै दलको सत्तासित सम्बन्धित यो आन्दोलन क्षणिक हुन्छ, यो आन्दोलनको कुनै दीर्घकालीन उद्देश्य छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *