भर्खरै :

यात्रा गण्डकीको

लमजुङको सुन्दरनगरबाट माघ १० गते दिउँसो १ बजे तनहुँको दमौली पुग्यौँ । दमौली व्यास नगरपालिकामा पर्दछ । तनहुँमा चार नगरपालिका– व्यास, भानु, शुक्लागण्डकी र भिमाद छन् भने ६ गाउँपालिकामा म्यादेव, वन्दीपुर, आँबुखैरेनी, देवघाट, रिप्विङ, घिरिङ छन् ।
दमौली बजारको दक्षिणतर्फ सेती र मादीको दोभानमा धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएका परासर गुफा र व्यास गुफा रहेका छन् । माझीकी छोरी मत्स्यगन्धाबाट जन्मिएका परासर ऋषिका छोरा वेदशास्त्रका रचनाकार ऋषि वेदव्यासको जन्म सेती मादी दोभानको गुफामा भएको धार्मिक मान्यता छ । सोहीकारण बर्सेनि हजारौँ धार्मिक आस्थावानहरू उक्त ठाउँ आउने गर्दछन् । जसले दमौलीका जनताको आर्थिक अवस्थामा पनि सुधार ल्याएको स्थानीय बताउँछन् ।
उक्त दोभानको करिब ५०० मिटरमाथि सेती नदीमा १४० मेघावाट क्षमताको तनहुँ हाइड्रोपावर कम्पनीको बाँध बन्दै छ । उक्त ठाउँबाट टनेल खोपेर रिसिङ गापामा पावर हाउस रहेको छ । सोभन्दा तल सेती नदीमै १०४ मेघावाटको तल्लो सेती हाइड्रोपावर प्रोजेक्ट निर्माणको निम्ति अध्ययन भइरहेको पनि जानकारी भयो ।
दिउँसो करिब १ः३० बजे दमौलीको हस्पिटल ग्राउन्ड (अवसन चौर) मा व्यास नपा वडा नं. ६ का दुई जना युवाहरूसँग चिनजान भयो । देशको समसामयिक राजनीतिबारे छलफल गर्दै गर्दा उहाँहरूले कुनै पनि दल र नेताहरूप्रति आफूलाई विश्वास नभएको बताउनुभयो । हामीले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त, विचार र देशको सार्वभौमिकताको निम्ति खेल्दै गरेको भूमिकाबारे बताएपछि उहाँहरू केही ‘कन्भिन्स्’ हुनुभयो र पछिका दिनमा सहयोग गरौँला भन्नुभयो । केही समयपछि नेपाल क्रान्तिकारी युवा सङ्घ म्यादे रानीटारीका अध्यक्ष रेशम साइकलबाट लामो यात्रा गर्दै दमौली आइपुग्नुभयो । उक्त दिन बन्दको हल्लाको कारण सवारीसाधन राम्ररी चलेको थिएन । सोहीकारण अरू युवासँग भेट हुन सकेन । अध्यक्ष रेशमसँग केही समय सङ्गठन र पार्टीको ४७ औँ स्थापना दिवसबारे छलफल गरेपछि अर्को दिन कार्यक्रम राख्ने निधो गरी उहाँ जानुभयो । हामी साँझ गाडीबाट पोखरा आयौँ ।
भोलिपल्ट बिहान १० बजे केही युवा साथीहरूको भेलाको आयोजना गरियो । पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले पार्टीको स्थापनाका आधारहरू र हालको राजनैतिक अवस्थाको बारेमा प्रशिक्षण दिनुभयो । सोही भेलाबाट नेक्रायुसङ्घ पोखरा समिति गठन गरियो ।
पोखरा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थल हो । कोभिड–१९ को कारण करिव १ वर्ष देशभरिकै पर्यटन व्यवसाय ठप्प रह्यो । लकडाउन खुला भइसकेपछि अहिले केही पर्यटन व्यवसाय सञ्चालनमा आए पनि गति लिन सकेको छैन । पोखराको पर्यटन व्यवसाय अहिले बिस्तारै खुल्न थालेको छ । पोखराको आकाशमा साना हवाइजहाज उडेसँगै होटेल खुल्न थालेको छ । पुनः प्याराग्लाइडिङ सञ्चालन भएको छ । आन्तरिक पर्यटक बिस्तारै बढ्दै छ । सवारीसाधनमा यात्रीको भिड बढ्न थालेको छ । कोभिड–१९ को डर अब मान्छेमा छैन जस्तो भान भएको छ । जनताले कोभिडसँग सङ्घर्ष गर्दै अघि बढ्ने निश्चित गरेको देखिन्छ । गण्डकी प्रदेशको सदरमुकाम पोखरा केही तङ्ग्रिन थालेको देखिए पनि यसका धमनीहरूमा अझै राम्ररी रक्तसञ्चार हुन सकेको छैन । पोखराको सोन्दर्यले विदेशी पर्यटकको आवागमनलाई पर्खिरहेको छ ।
माघ १२ गते कास्कीको नौडाँडा, लुम्ले हुँदै पर्वततर्फ लाग्यौँ । बाटोमा मोदी खोला बगिरहेको देख्यौँ । अन्नपूर्ण (पहिलो) हिमालको पानी कास्की र पर्वतको दोसाँध हुँदै बगेको छ । त्यसलाई मोदी खोला भनिन्छ । मोदी खोला पर्वतको कुस्मा बजारको दक्षिणतिरबाट कालीगण्डकीमा मिसिन्छ । सो खोलामा नेपाल विद्युत् प्राधिकरणले १४.५ मेघावाट विद्युत् उत्पादन गरेका छ भने २ वटा निजी कम्पनीले विद्युत् उत्पादन गरी वितरण गरेका छन् । अर्को २ वटा निर्माणको क्रममा रहेका छन् । बाटोमा जाँदा खोलामा कतै ड्याम बनाउँदै गरेको, कतै पहाडमा सुरुङ्ग खन्दै गरेको र कतै पावर हाउसहरू देखिन्छ । दिउँसो १ः३० बजे म्याग्दीको बेनीमा पुग्यौँ ।
बेनी बजारको दक्षिण पश्चिमतर्फ धौलागिरी हिमालको दक्षिण मोहडामा बगेको म्याग्दी र उत्तर पूर्वतर्फ दामोदर कुण्डबाट बगेको कालीगण्डकी नदी छन् । आधा बेनी पूर्वतर्फको पर्वत जिल्लामा पर्दछ ।
मगर जातीको बसोवास रहेको म्याग्दी जिल्ला प्राकृतिक र सांस्कृतिक महत्व बोकेको जिल्ला हो । म्याग्दी खोलाको नामबाट यस जिल्लाको नाम राखिएको छ । सो खोलामा पनि निर्माणको विभिन्न चरणमा रहेका ४ वटा निजी जलविद्युत् आयोजना छन् । जसमध्ये २५ मेघावाटको तल्लो म्याग्दी निर्माणाधीन अवस्थामा छ भने बाँकी ३ वटा निर्माणको प्रकृयामा छ । म्याग्दी खोला बेनी बजारको पुछारमा कालीगण्डकीमा समाहित भएको छ ।
बेनीमा जुम्लाबाट व्यापार–व्यवसायका लागि रहेका साथीहरूसँग केही समय छलफल गरेपछि तातोपानी राक्से स्थित साथीको घरमा बास बस्यौँ । घरमा ४–५ वटा भैँसी पालेर दूधको व्यवसाय गर्दै आउनुभएका परिवारले हामीलाई सत्कार गर्नुभयो । द्वन्द्वकालमा सरकारपक्ष र माओवादीको चेपुवामा परेर आफू खाडी मुलुकमा रोजगारीका लागि जानुपरेको, अनेक दुःख–कष्ट व्यहोर्नुपरेको घटना उहाँले सुनाउनुभयो । ‘माओवादी’ ले परिवर्तनको आशा देखाएर सोझा–सिधा गाउँलेलाई धम्क्याउँदै बन्दुक बोक्न बाध्य पारेको प्रसङ्ग कोट्याउँदै अहिले कुर्सीका लागि छिनाझम्टी गर्दै जनतालाई धोका दिएको उहाँको भनाइ थियो ।
हामीले एमाले र माओवादी हालको नेकपा संशोधनवादी र अवसरवादी चरित्र भएकोले त्यसका विरुद्ध सैद्धान्तिक सङ्घर्ष गर्दै समाजवाद स्थापनाका लागि नेमकिपा लागेको बतायौँ ।
माघ १३ गते मङ्गला गापाको बाबियाचौरमा पुगेर त्यहाँका साथीहरूसँग भेटघाट ग¥यौँ । मङ्गला गापा वडा नं. ५ को अर्मनमा मान्छे र पशुको मुत्र सङ्कलन गरेर फलफुलका बोट र बालीनालीमा उपयोग गर्ने कार्यक्रम सञ्चालन भएको रहेछ । हामीले त्यसबारे थप कुरा गापा कार्यालयमा गएर बुझ्यौँ । अघिल्लो वर्ष गापाले बजेट बिनियोजन गरी २५ जना कृषकलाई मलमुत्र सङ्कलन र उपयोगसम्बन्धी तालिम सञ्चालन गरी कृषकहरूलाई पिसाव सङ्कलनको निम्ति ड्रम वितरण गरेको रहेछ ।
कृषकहरूले मान्छेको पिसाब सङ्कलन गरेर आफ्नै खेतबारीका फलफुलका बोट र तरकारी बालीमा लगाउने गर्दा त्यसले किट्नाशकको काम गरी विषादी प्रयोग गर्नुनपरेको बताए । मानवमुत्रले नाइट्रोजनको काम गर्ने भएको हुँदा रासायनिक मलको जरुरी नहुने उक्त गाउँपालिकामा कार्यरत जेटीए सीमा सुवेदीले हामीलाई बताइन् । एक लिटर मानवमुत्रमा दस लिटर पानी मिसाएपछि पातहरू उपयोग गर्न मिल्ने र १ लिटर मानवमुत्रमा ३ लिटर पानी मिसाएपछि जरामा राख्न मिल्ने पनि उनले बताइन् ।
पिसाबको उपयोगबारे जानकारी प्राप्त गरेपछि केही किसानले लिटरको पच्चीस रुपैयाँसम्म तिरेर खरिद गरेको पनि जानकारी भयो । गाउँले प्रत्येक घरमा ड्रम, ग्यालिन राखेर पिसाव सङ्कलन गर्नुका साथै विद्यालयमा पनि सङ्कलन गरिएको रहेछ । गाउँपालिकाले हाल एउटामात्रै वडामा कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै अन्य वडाहरूमा पनि बिस्तारै कार्यक्रम गर्दै जाने जानकारी दियो ।
क्युवामा सन् १९५९ को क्रान्तिपछि संरा अमेरिकालगायत साम्राज्यवादी देशहरूले क्युवाको अर्थतन्त्र तहसनहस हुनेगरी नाकाबन्दी गरेको बेला फिडेल क्यास्ट्रो नेतृत्वको क्युवाली सरकारले पशुमुत्र सङ्कलन गरेर जैविक मल र कीटनाशक पदार्थको रूपमा उपयोग गरी कृषि उत्पादन वृद्धि गरेको प्रसङ्ग उल्लेखनीय छ ।
नेपालमा रासायनिक मल अत्यधिक प्रयोग हुन्छ । जसले माटोको उर्वराशक्ति नष्ट गर्दै लगेको विज्ञहरू बताउँछन् । त्यसमाथि हामी रासायनिक मलमा आत्मनिर्भर छैनौँ । यसर्थ, म्याग्दीको मङ्गल गाउँपालिकाले चालेको कदम अनुकरणीय रहेको हुँदा सरकारले यसबारे चासो दिनु जरुरी छ ।
म्याग्दी जिल्लाको माथिल्लो भेगमा सुन्तला, कागती, किवी उत्पादन हुने गरेको छ भने तल्लो भेगमा केरासमेत पाक्ने गरेको पाइन्छ । माथिल्लो बेल्टमा अन्नबालीमा कोदो, फापर, मकै, भटमास आदि उत्पादन हुन्छन् भने तल्लो बेल्टमा धान, गहुँ, आलु, काउली, बन्दाजस्ता तरकारी पनि उत्पादन हुने गर्दछन् ।
अन्नबाली, तरकारी, फलफुलमा म्याग्दी जिल्ला आत्मनिर्भर हुनसक्ने सम्भावना भएपनि बेमौसममा चामल, फलफुल र केही तरकारी आयात हुने गरेको स्थानीय बताउँछन् । अनुसन्धान केन्द्र र कृषिसम्बन्धी परामर्श दिने संस्थाको म्याग्दी जिल्लामा अभाव छ । यसकारण, कास्कीको कृषि अनुसन्धान केन्द्र लुम्लेबाट सहयोगको लागि आउने गरेको पनि सुनियो ।
भ्रमणका क्रममा म्याग्दीका विभिन्न गाउँहरूमा हामी पुग्यौँ । पुगेका ठाउँमा स्थानीयहरूसँग भेटघाट र छलफल ग¥यौँ । नेपाल मजदुर किसान पार्टीको विचार र सिद्धान्तलाई जनतामाझ पस्कने कोसिस ग¥यौँ । अन्य शासक दल र संशोधनवादी चरित्र बोकेका नामधारी कम्युनिस्टहरूको पर्दाफास पनि गर्दै अगाडि बढ्यौँ । केही मान्छेले राजनीतिप्रति व्यङ्ग्य गर्दै ‘नेपालमा राजनीतिक दल च्याउ उम्रिएजस्तै उम्रिएका छन्, जुन पार्टी आए पनि उस्तै हो’ भनेर रोष प्रकट गर्थे । हामीले नेमकिपा चैत–वैशाखमा उम्रिएर छोटो समयमै मर्ने (कुहिने) च्याउजस्तो नभएर हजारौँ वर्षसम्म आँधी–हुरी थेगेर उभिने देवदारको रुखजस्तै भएको बतायौँ ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *