भर्खरै :

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ५० हजारभन्दा कम

२४ माघ (सिन्ह्वा) । भारतमा शनिबार प्राप्त समाचारअनुसार कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५९० मात्र रहेको छ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५३ लाख व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।
यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड आठ लाख १४ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ७१३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख १४ हजार ३०४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ९१८ जना पुगेको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड पाँच लाख १० हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ४८ हजार ५९० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार १५४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र दुई जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८७३ को मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभरी २० करोड ६ लाख ७२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शुक्रबार एकै दिनमा मात्र सात लाख ४० हजार ७९४ व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको शुक्रबार जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *