भर्खरै :

सक्कली र नक्कलीको चिनो जनप्रदर्शन !

सक्कली र नक्कली पार्टीको चिनो या आधार कुनै दलले गर्ने प्रदर्शन र सभा होइन । कार्यक्रममा कुनै पनि दलको सभा ठूलो र सानो हुनसक्छ । कुनै दलको सभा या प्रदर्शन सानो हुँदैमा नक्कली र ठूलो हुँदैमा सक्कली हुने होइन । प्रम केपी ओलीले जनप्रदर्शनको आधारमा आफ्नो दललाई सक्कली कम्युनिस्ट पार्टी ठाने । यसअघि पुष्पकमल दाहालले पनि राजधानीमा आयोजित जनसभालाई इङ्गित गरी आफ्नो दललाई नै सक्कली या मूल पार्टी ठाने । प्रम ओलीले पनि राजधानीमा आयोजित जनसभाकै आधारमा अब ‘सक्कली पार्टी कुन हो, नक्कली कुन हो, टुङ्गो लाग्यो’ भनी स्पष्ट पारे ।
जनप्रदर्शनको आधारमा कुनै दल कम्युनिस्ट हुने र नहुने पनि होइन । नेकपालाई कम्युनिस्टको मात्रै होइन, देशकै मूल पार्टी दाबी गर्ने प्रम ओलीले त्यत्रो ठूलो जनसभामा कम्युनिस्टको सिद्धान्त र विचारबारे एकशब्द बोलेनन् । कम्युनिस्टको मूल पार्टी ठान्ने प्रम ओलीले लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि तलमाथि गर्न नसक्ने वाचा गरे । के लोकतान्त्रिक गणतन्त्र कम्युनिस्टको उद्देश्य हो ? लोकतान्त्रिक गणतन्त्रलाई नै दलको आजु ठान्ने दलका अध्यक्ष केपी ओलीलाई कसरी कम्युनिस्ट पार्टीको नेता मान्ने ?
लोकतान्त्रिक गणतन्त्र पुँजीवादी गणतन्त्र हो । यो पुँजीवादी गणतन्त्र हो भन्ने कुरा नेकपा अध्यक्ष ओलीलाई थाहा नभएको होइन । समाजवादी गणतन्त्रको स्थापनाको निम्ति लड्न आफ्ना कार्यकर्तालाई आह्वान गर्नुपर्नेमा लोकतान्त्रिक गणतन्त्रलाई अब कसैले केही गर्न नसक्ने भनी नेकाले जस्तै पुँजीपति वर्गको पक्षमा बोले । लोकतान्त्रिक गणतन्त्र ल्याउन लडेजस्तै समाजवादी गणतन्त्र ल्याउन फेरि लड्नुपर्छ । कम्युनिस्टहरू समाजवादी गणतन्त्र ल्याउन सङ्घर्ष गरिरहेका छन्, सङ्घर्ष गरिरहनुपर्छ  ।
नेकपाको मूल पार्टी के हो भन्ने कुरा पछि निर्वाचन आयोगले निर्णय गर्छ । विभाजित नेकपा एक हुने स्थितिमा नभएको दाहाल–नेपाल पक्षधर नेकपाका नेताहरूले भनिरहेका छन् । ती दुईमध्ये कुनै एक नेकपा हुनेछ । तर, नेकपा विभाजित भए पनि एकै भए पनि लोकतान्त्रिक गणतन्त्र आफ्नो उद्देश्य मान्ने नेकपा कम्युनिस्ट पार्टी होइन भन्ने थाहा हुन्छ । नेकपाका नेताहरूले नै नेकपा साँच्चै कम्युनिस्ट नभएको दाबी गरिसकेका छन् । एकले अर्काे पक्षलाई कम्युनिस्ट आन्दोलनविरोधी कम्युनिस्टविरोधी भनी आरोप लगाइरहेको घटनाले पनि नेकपा कम्युनिस्ट पार्टी नभएको पुष्टि हुन्छ । शक्ति प्रदर्शन गरेर सत्ता जोगाउने र सत्ता ढाल्ने पक्षमा रहेका नेकपाका नेताहरूले सत्ताकै लागि प्रदर्शन गरिरहेकोमा शङ्का छैन । अब दाहाल–नेपाल पक्षधर नेकपाले माघ २८ गते अर्काे ठूलो जनसभा राखेर ओली पक्षधर नेकपालाई हाँक दिने बताइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *