नेपालभाषा साहित्य तःमुंज्या राजनीतिक र साहित्यिक दबु
- आश्विन १४, २०८३
मरिया इल्यीनिच्नाले अगाडि लेखेकी थिइन्, “आशा छ, खामहरूमा डाकद्वारा साहित्य पठाउने कामलाई कुशलतापूर्वक चलाउनेछौँ । यसको धेरै महत्व हुनेछ । खबर पाएअनुसार मेन्सेभिक समूहले पनि यो काम गरेको छ, तर धेरै खराब तरिकाले चलाइरहेको छ । विशेषतः यसको लागि पनि यो धेरै महत्वपूर्ण छ । हामीले एकदम भरोसा गर्ने साथी लीपजिग आजकल ‘इस्क्रा’ पठाउनमा व्यस्त छ । लन्डन बिल्कुलै मौन छ ।” अगाडि मरिया इल्यीनिच्नाले ती सबै ठेगानाहरूको सूची मागेकी थिइन्, जहाँ पेरिसबाट बोल्शेभिक साहित्य पठाइरहेको थियो । उनले कुन चिज कहाँ पठाइन्छ, त्यसको कुनै रेकर्ड राखिन्छ कि नाइँ ? सोधेकी थिइन् । उनले हामीलाई केही नयाँ ठेगाना दिने बाचा पनि गरेकी थिइन् । महत्वपूर्ण केवल यही हो । उनले लेखेकी थिइन्, “बोल्शेभिक साहित्यको अनिवार्य प्रयोग गरिनुपर्छ ।”
पेरिसजस्तो सहरमा पनि खाममा बन्द गरिएको साहित्य या अन्य मुद्रित सामग्री केही मात्रामा मात्र (दैनिक एक वा दुई पार्सलभन्दा धेरै होइन) पठाउन सकिन्थ्यो । धेरै भएमा सीमामा कुनै गडबडी हुनसक्थ्यो । डाकबाट खामहरूलाई नियमितरूपले प्रतिदिन पठाउनुको महत्वलाई आज कसैले मुस्किलले बुझ्न सक्ला । यसको महत्व नबुझिकन रुसमा पार्टी मुखपत्रको नयाँ अङ्कहरू पु¥याउनुको महत्व कहिल्यै बुझ्न सक्दैन । जसमा लेनिनका लेखहरू छापिएका हुन्थे । यी साहित्यहरू पठाउनु पेरिसमा हाम्रो एकदम महत्वपूर्ण कामको हिस्सा थियो । हामीले यस महत्वपूर्ण कामलाई आफ्नो पूरा क्षमताका साथ सफल पाथ्र्यौँ ।
हामीमाथि राजनीतिक प्रवासीहरूका समुदायबीचमा बोल्शेभिक साहित्यको वितरण गर्न सँगसँगै आउने साथीहरूलाई (जो मुख्यतः जेनेभाबाट आउँथे) व्यवस्था मिलाइदिने पनि जिम्मेवारी थियो । हामीले पार्टीको कोषमा धन–सङ्ग्रहको लागि जलपानको साथसाथै साँझमा गोष्ठी र भाषणको आयोजना गथ्र्याैँ । जसको लागि केही प्रवेश शुल्क पनि लिन्थ्यौँ ।
जनवरी ९ को घटना (१) ले सम्पूर्ण निर्वासित–समुदायलाई हल्लाइदियो । हामीले रुसबाट आउने धेरैभन्दा धेरै नयाँ खबरहरूको आतुरताका साथ प्रतिक्षा गर्ने गथ्यौँ । रात–रातभरि हाम्रो एउटा समूहले प्रकाशले नुहाएको “ग्राँ बुलभार” को चक्कर लगाइरहथ्यो । बीच–बीचमा हामीहरू अखबारको कार्यालयमा रुसदेखि केही खबर त आएको छैन भनी गइरहन्थ्यौँ । हामीलाई यस्तो लाग्थ्यो, हामीहरू एक–अर्काबिना बाँच्न सक्दैनौँ । हामी कोठामा शान्तसँग बस्न, निदाउन सक्दैनथ्यौँ । रुस फर्किने इच्छा मनमा पहिलाभन्दा धेरै हुन लागेको थियो । तर त्यस समयमा फर्किने वातावरण थिएन ।
९ जनवरीको केही दिनपछि हामीहरू एउटा सभामा सरिक थियौँ । त्यो सभा त्रोकादेरो निवासको ग्रैन्ड हलमा भएको थियो । त्यहाँ जनवरी ९ को घटनाहरूको बारेमा जोरेसले भाषण गरे । पूरा हल, जसमा दस हजार जना मानिस अटाउँथे, खचाखच भरिएको थियो । जोरेस मञ्चमा फटाफट यता–उता हिँडिरहेका थिए । लगभग दौडिरहेका थिए । उनले फ्रान्सीसी भाषण–शैलीमा प्रभावपूर्ण लयबद्ध भाषण गरे । मानौँ, कविता पाठ गरिरहेका थिए । रुसी श्रोताहरूलाई त्यो धेरै अनौठो लागिरहेको थियो । उनको जोसिलो भाषणले श्रोताहरूलाई औधी उत्तेजित ग¥यो । जब उनको भाषण सकियो, तब सबैले एक स्वरमा नारा लगाउन सुरु गरे, जुन धेरै समयसम्म चल्यो । हत्यारा निकोलाई !) यसको प्रभाव धेरै उत्साहवद्र्धक थियो । तर, हलबाट बाहिर निस्केपछि हामीले देख्यौँ, गेटमा घोडासवार पुलिसहरू तैनाथ थिए । फ्रान्सेली संविधानले आफ्ना नागरिकहरूलाई कुनै बन्द भवनको भित्र मनलाग्दो तरिकाले हल्ला गर्ने–चिच्याउने, उत्तेजित हुने तथा क्रान्तिकारी भाषण गर्ने अनुमति दिन्थ्यो । तर, बाहिर निस्कँदा त उनीहरू अनुशासनबद्ध हुनु नै थियो…। दश हजारको भीड सडकमा एउटा शान्त, मन्द नदीजस्तै निस्कियो । हरेक आफ्नो–आफ्नो बाटो लागे ।
त्यसपछि कैयौँ रात हामी लगातार विभिन्न सन्ध्या–समारोहहरू र सङ्गीत–गोष्ठीहरूमा “९ जनवरी का पीडितहरूको सहायतार्थ” धन–सङ्ग्रहको लागि घुमिरह्यौँ । फ्रान्सेली महिला पुरुषहरूले खुसीले चन्दा दिए । हरेक बिहान हामी पिटर्सवर्गमा के भइरहेको छ भनी जान्न आतुरताका साथ ताजा अखबारहरूलाई झम्टिन्थ्यौँ । निहत्था मजदुरहरूमाथि गोलीको वर्षा, धेरै सङ्ख्यामा मानिसहरूको ज्यान गयो…। जारशाही जल्लादहरूको यस्तो नृशंस अत्याचारबाट हामी स्तब्ध भयौँ । हाम्रो ध्यान बारम्बार जेनेभातर्फ जान्थ्यो । यहाँका साथीहरूले रुसबाट आएको खबरको बारेमा के सोच्छन् ? हामीलाई थाहा थियो । भ्लादीमिर इल्यीचले रुसका घटनाहरूलाई कसरी हेरिरहनुभएको छ ? यो के हो ? क्रान्तिको आरम्भ ?
लामो अवधिपछि क्रुप्सकायाले आफ्ना संस्मरणमा लेख्नुभएको थियो, “९ जनवरीको खबर बिहान जेनेभामा आयो । भ्लादीमिर इल्यीच र म पुस्तकालय जाँदै गर्दा लुनाचास्र्की दम्पत्तिसँग भेटियौँ । उहाँहरू हाम्रो घर गइरहनुभएको रहेछ । मलाई लुनाचास्र्कीकी पत्नी आन्ना अलेक्सान्द्रोभ्नाको आकृति याद छ । उहाँ हडबडीको कारणले बोल्न सकिरहनुभएको थिएन । आफ्ना पन्जाहरू हातमा खेलाइरहनुभएको थियो । हामी त्यता गयौँ, जता पिटर्सबर्गका घटनालाई बुझेका सबै बोल्शेभिकहरू स्वभावतः आइरहेका थिए । लेपेशीन्स्की दम्पत्तिको खाजाघरतर्फ । हामीहरू सँगसँगै हुन चाहन्थ्यौँ । आएका मानिसहरू प्रायः चुप थिए । उनीहरू सबै हड्बडाएका र उत्तेजित देखिन्थे । सबैले गाउन थाले “तिमी सहिद भयौ…” मानिसहरूको अनुहार गम्भीर थियो । क्रान्ति सुरु भइसकेको छ भनी सबैजनाले बुझिसकेका थिए । जारमाथिको विश्वासका सबै बन्धनहरू चँुडिए । अब त्यो जमाना धेरै नजिक छ , जब “अत्याचार हट्नेछ, जनता उठ्नेछन् …”
“हामीले अस्वाभाविक जीवन बिताउन थाल्यौँ जुन जेनेभाका सबै निर्वासितहरूका लागि स्वाभाविक थियो ः स्थानीय समाचारपत्र ‘ट्रिब्युन’ को एउटा संस्करणदेखि अन्य संस्करणसम्म ।”
“भ्लादीमिर इल्यीचको सारा विचार रुसतर्फ तानिएको थियो ।”
केही दिनपछि हामीले धेरै उत्साहका साथ ‘व्पेर्योद’ को चौथो अङ्कको अग्रलेख पढ्यौँ । लेनिनद्वारा रुसमा घटिरहेका घटनाहरूउपर गरिएको वर्णन र विश्लेषण क्रान्तिकारी पर्चाहरूजस्तै गुञ्जियो । के लेनिनजस्तो अरू कसैले लेख्नसक्थ्यो ? कसैले सक्थेन ¤
“मजदुर वर्गले गृहयुद्धको एकदम महत्वपूर्ण पाठ सिकेका छन् । सर्वहाराहरूको क्रान्तिकारी शिक्षाले एकै दिनमा यति प्रगति गरेको छ, त्यति त निरस, उदास र घृणित जीवनको महिनौँ र वर्षाँैसम्म पनि सम्भव थिएन….”
“पिटर्सवर्गको वर्तमान विद्रोहको जुनसुकै परिणाम निस्कियोस्, हर हालतमा यो अझै विस्तृत, अझै सजग र अझै राम्रो तयारीसाथ गरिने भावी विद्रोहको दिशामा पहिलो कदम हुनेछ ।” (२)
अग्रलेखमा सबै नागरिकहरूद्वारा हतियार सम्हाल्न र निरङ्कुश शासनको विरुद्ध सङ्घर्ष गर्नको निम्ति सबै क्रान्तिकारी शक्तिहरूलाई तयार गर्न, तिनलाई सङ्गठित तथा एकत्रित गर्न आह्वान गरिएको थियो ।
बोल्शेभिक अखबार ‘व्पेर्योद’ प्रकाशन र वितरणले रुसमा बोल्शेभिकहरूको स्थिति बलियो हुँदै गयो । स्थानीय समितिहरूले मेन्सेभिक र बोल्शेभिकहरूबीचका विचारका मतभेदहरूलाई स्पष्टसँग बुझ्दै गइरहेका थिए । जसमाथि मेन्सेभिकहरूले तँ–तँ, म–म तथा रुसी समितिहरूको विघटन र गलत सिद्धान्तहीन जानकारीको सहारामा उनीहरूलाई भ्रममा पार्ने कोशिश गरिरहेका थिए । दोस्रोतर्फ मेन्सेभिकहरूको स्थिति एक–एक गर्दै कमजोर भइरहेको थियो । उनीहरू आत्तिएर चिच्याउँथे, अधिवेशनले पक्का फुट ल्याउँछ भन्थे ।
अति आग्रहपूर्वक अधिवेशन बोलाउने माग गरिरहेका रुसी पार्टी सङ्गठनहरूको स्थितिलाई ध्यानमा राखेर रुसमा सम्झौतापरस्त केन्द्रीय समितिले १२ मार्च १९०५ मा बहुमतवालाको समितिहरूसँग सम्झौता गरे । उनीहरूसँग मिलेर संयुक्तरूपले ‘पार्टीको नाममा’ एउटा अपिल प्रकाशित गरे । अपिलमा अधिवेशनलाई संयुक्तरूपले सङ्गठित गर्नेबारेमा एक निर्णयमा पुगेको भनिएको थियो । यस निर्णयको अन्तिमको अनुच्छेदमा भनिएको थियो, “केन्द्रीय समिति र ब.स.ब्यू. (बहुमतवालाको समितिहरूको ब्युरो) ले ‘इस्क्रा’ को ८९ औँ अङ्कमा प्रकाशित गरेको तेस्रो पार्टी अधिवेशन बोलाउनेहरूविरुद्धको पार्टी परिषद् (३) को प्रस्तावलाई अधिवेशन सङ्गठित गर्ने कामलाई रोक्ने आधार मान्दैन ।” यो बोल्शेभिकहरूको नैतिक विजय थियो । यो गुटबन्दीविरुद्ध पार्टीको सिद्धान्तको विजय थियो ।
पार्टीको नाममा केन्द्रीय समिति र ब.स.ब्यू.को अपिल ‘व्पेर्योद’ को १३ अङ्कमा ५ अप्रिल १९०५ मा छापियो । त्यसलाई पम्प्लेटको रूपमा पनि अलग्गै छापियो । लेनिन र उहाँका नजिकका साथीहरूमा यस अपिलको जुन प्रतिक्रिया भयो, त्यो मरिया इल्यीनिच्नाको पत्रबाट थाहा हुन्छ , त्यस पत्रमा उनले लेखेकी थिइन् ः
‘‘अङ्क १३ वाला पम्प्लेट तपार्इँलाई कस्तो लाग्यो ? घटनाहरूको पनि कस्तो अप्रत्याशित मोड छ ¤ हैन ? यसको आशा कसले गर्नसक्थ्यो ? केन्द्रीय समितिका दुई जना सदस्यहरूले दुई जना सम्झौतावादी र दुई जना मेन्सेभिकहरू (एकजना रुसी साथीको शब्दमा त्यो पनि ‘पूज्य’) लाई मनोनीत गरिदिएका थिए, तर त्यति भए पनि ‘इस्क्रा’ को ८९ औँ अङ्कमा प्रकाशित पार्टी परिषद्को प्रस्ताव अधिवेशन सङ्गठित गर्ने कामलाई रोक्ने आदेश मानिएन ?¤ हाम्रा साथीहरू यस समाचारले दङ्ग भएका थिए । अब अधिवेशनबाट अति अप्रत्याशित परिणामको आशा गर्न सकिन्छ । त्यसमा सम्भवतः सबै रुसी समितिहरू सरिक हुनेछन् । परिषद् पनि सरिक हुने सम्भावना छ । उनीहरूले अरू गर्न नै के सक्छ ?¤ परिषद् जुन स्थितिमा छ, आश्चर्यजनकरूपले त्यो मूखर्तापूर्ण स्थिति हो । तर, उनीहरूले सङ्घर्षबिना आत्मसमर्पण त पक्कै नगर्लान् । मलाई लाग्छ, पहिला त उनीहरूले आफूलाई पार्टीबाट निकाल्नुपर्नेछ, जस्तो गर्ने धम्कीे रिसले मुर्मुरिँदै अधिवेशनमा सरिक हुने साहस गर्नेहरूलाई दिएका थिए । मेन्सेभिकहरूको नाक नराम्ररी झुकेको छ । उनीहरूमध्ये कसैले भन्छ, ‘‘हो तिमीहरूले जित्यौ,” त कसैले स्पष्टसँग उद्घोष गर्छ ‘‘कुरा ठिक्कै हो तर हामीले अझै पनि केही न केही सोच्नेछौँ ।” ठूलाबडाहरू अझैसम्म केही बोलेका छैनन् ।
“हाम्रा मानिसहरू उत्तेजनामा छन् । कसैले पनि केही गरिरहेका छैनन् । सबैले भविष्यको मात्र कुरा गर्छन्, अब के होला भन्छन् । लेनिन त बिल्कुल ‘पागल’ हुनुहुन्थ्यो । (लेपेशीन्स्कीको व्यङ्ग्यचित्र ‘मुसाले बिरालोलाई कसरी गाडे’ को पुच्छारमा लेखिएको मूलपाठले) । पहिला त उहाँ हाँसेको हाँस्यैमात्र गर्नुहुन्थ्यो । हरेकलाई उहाँले प्रफुल्लित बनाउनुभयो । मैले उहाँलाई यति खुसी धेरै दिनपछि देखेकी थिएँ । विचलनशील समितिहरू सम्भवतः बहुमतमा हुनेछन् । धेरै कुरा अधिवेशनको सदस्यतामाथि निर्भर हुनेछ । हाम्रो अवस्था के हुनेछ, दैवले जानून्…”
लेनिनले अधिवेशनको तयारीको लागि कठिन परिश्रम गर्नुभयो । उहाँ त्यस सिलसिलामा खासगरी १९०५ को मार्च र अप्रिलमा व्यस्त रहनुभयो । जेनेभामा उहाँले अधिवेशन बोलाउने सम्बन्धित समस्याहरूमाथि भाषण गर्नुभयो, ‘व्पेर्योद’ का लागि लेखहरू लेख्नुभयो र अधिवेशनका प्रस्तावका मस्यौदा तयार पार्नुभयो । अधिवेशनका लागि प्रतिनिधिहरूलाई मनोनीत गर्नेबारेमा रुसमा पार्टी समितिहरूलाई पत्र लेख्नुभयो । बोल्शेभिक समितिहरू सँगसँगै मेन्सेभिक समितिहरूलाई पनि अधिवेशनमा आमन्त्रित गर्ने र तेस्रो अधिवेशनको सङ्गठन समितिद्वारा जेनेभामा आयोजित बैठकहरूमा सम्मिलित हुने प्रस्ताव राख्नुभयो । तिनै दिनहरूमा लेनिनले सडकमा लडाइँका विधिहरूको अध्ययन–मनन गर्नुभयो । रुसमा जन–क्रान्ति सुरु भइरहेको थियो ।
लेनिनले ५ अप्रिलमा पेरिसमा बस्ने क्रासिकोभलाई पत्र लेख्नुभयो । क्रासिकोभलाई विदेशस्थित सङ्गठनका समितिहरूका प्रतिनिधिको हैसियतले अधिवेशनमा सरिक हुनका लागि प्रस्थान गर्नुअघि अधिवेशनको तयारीको बारेमा लिएज गएर भाषण गर्नु थियो । लेनिनले उनलाई पेरिस–लिएजलगायतका ठाउँहरूदेखि फर्किन सकिने ४५ दिनवाला एउटा विशेष टिकट काट्ने सल्लाह दिए । यस कुरातर्फ पनि इसारा गरे कि प्रतिनिधिहरूप्रति क्रासिकोभले कस्तो दृष्टिकोण अख्तियार गर्नुपर्छः “प्रतिनिधिहरूप्रति हाम्रो दृष्टिकोण निश्चय नै सल्लाह–सम्झौताको दृष्टिकोण हुनुपर्छ, हामीलाई ‘गुमाउन केही पनि छैन’ हामीले (विजयको स्थितिमा) सबै कुरा जित्नैपर्छ र हाम्रा विरोधीहरूको सभाको कुराकानी ठीक उल्टो छ ।”
लेनिन कुस्र्क र ओदेस्साका समितिको तर्फबाट निर्णायक भोटको लागि प्रमाणपत्र बोकेर २५ अप्रिलमा तेस्रो पार्टी अधिवेशनको लागि लण्डनतिर लाग्नुभयो । क्रुप्सकाया पनि एउटा सल्लाहकारी भोटको अधिकारी प्रतिनिधिको हैसियतले अधिवेशनमा जानुभयो ।
मरिया इल्यीनिच्ना १९०५ को वसन्तमा पेरिस आइन् । यो सायद त्यस समयको कुरा हो, जब लेनिन र क्रुप्सकाया लण्डनमा हुनुहुन्थ्यो । उनी पेरिसमा किन आइन् र कति दिन बसिन्, मलाई यो त याद छैन । तर, पियर–लाशेज चिहानघरसम्म हामी दुवैजना सँगसँगै हिँड्डुल गरेको मैले कहिल्यै बिर्सन सक्दिनँ । हामीहरू घण्टौँ त्यस डाँडामा बसेर बिताउँथ्यौँ, जुन कम्युनार्ड पर्खालको सामुन्ने छ, त्यहीँ १८७१ मा वेर्साईका फौजहरूले पेरिसका ती १५०० भन्दा धेरै मजदुरहरूलाई गोलीले एक चिहान बनाएका थिए, जो पेरिस कम्युनका अन्तिम रक्षक थिए । हामीले त्यहाँ एक–अर्काका व्यक्तिगत विचार र भावी योजनाहरूलाई सुन्दै–सुनाउँदै बसिरहन्थ्यौँ । मरिया इल्यीनिच्नाले लेनिनको बारेमा मलाई धेरै कुरा बताइन् ।
जेनेभा फर्किएपछि लेनिनले तेस्रो पार्टी अधिवेशन र मेन्सेभिक सम्मेलनका सम्बन्धमा एउटा शिक्षाप्रद भाषण दिनुभयो ।
प्रस्तुतिः आरम्भ
Leave a Reply