तःमुंज्या नयाँ–पुराना साहित्यकारको साहित्यमार्फत जनचेतना जगाउने विराट् मञ्च
- आश्विन १४, २०८३
निष्कृय, स्थिर, सुस्त र सम्भ्रान्त
निकिता ख्रुश्चेभपछिको सोभियत सङ्घ यही थियो जहाँ मैले सन् १९६९ देखि १९७६ सम्म आफ्नो अध्ययनकाल बिताएँ ।
सन् १९६४ मा सोभियत नेता निकिता ख्रुश्चेभलाई सत्ताच्युत गरेर स्थापना भएको ब्रेझनेभ काल सन् १९७६ सम्म अन्य सोभियत युगभन्दा बढी शान्तिपूर्ण थियो । बिनाकुनै युद्ध र सङ्घर्ष अरू देशसँग सोभियत जनताले आफ्नो सम्पन्न जीवन बिताउन पाएका थिए । यद्यपि, संरा अमेरिकासँगको शीतयुद्धले निरन्तरता पाइरहेको थियो । त्यस युद्धले गर्दा विश्व दुई खेमामा विभाजित थियो । एकातिर संरा अमेरिकासँग नाटो सैनिक सङ्गठनका पश्चिमी युरोपेली देशहरू थिए भने अर्कोतिर सोभियत सङ्घसँग वार्सा सन्धि सङ्गठनका राष्ट्रहरूसँगै विश्वका थुप्रै उपनिवेशवादबाट भर्खर भर्खर स्वतन्त्र भएका देशहरू सोभियत खेमामा आकर्षित हुँदै थिए । सोभियत सङ्घले पनि विश्वमा साम्यवादको विजय हुुनुपर्छ भन्ने नीतिअन्तर्गत तेस्रो विश्वका देशहरूलाई प्रभाव पार्दै आफ्नो खेमामा तान्ने प्रयास गर्दै थियो । संरा अमेरिकाले विश्वमा आफ्नो पुँजीवादी आधिपत्य जमाउन भियतनाम र अरब भूमिमा प्यालेस्टाइन–इजरायल युद्ध चलाइराखेको थियो ।
भियतनाम युद्धमा साम्राज्यवादी देश अमेरिका एकातर्फ थियो । विश्वविख्यात कम्युनिस्ट नेता हो चि–मिन्हको नेतृत्वमा सम्पूर्ण भियतनामी जनता युद्धमा होमिएका थिए । भियतनामी जनतालाई विश्वका प्रगतिशील र मानवतावादी देशहरूको नैतिक समर्थन प्राप्त थियो । भियतनामलाई चीन र सोभियत सङ्घले आर्थिक र सैन्य सहयोग उपलब्ध गराइरहेका थिए । सोभियत उक्राइनाको खार्कोभ सहरमा म सोभियत सङ्घमा अध्ययन गर्दै गर्दा मस्कोमा सन् १९७० को प्रथम आधा दशकमा थुप्रै भियतनामी विद्यार्थीहरू देखेको थिएँ । आफ्नो ६ वर्षको अध्ययन कालमा मैले एक वर्ष सोभियत रुसको राजधानी मस्कोमा बिताएको थिएँ भने बाँकी ५ वर्ष सोभियत उक्राइना कीभपछि दोस्रो ठूलो सहर खार्कोभमा बिताएको थिएँ । कीभ सहर उक्राइनाको राजधानी थियो र खार्कोभ दोस्रो ठूलो औद्योगिक सहर उक्राइनाको । उक्राइना सोभियत गणराज्यमध्ये सबभन्दा बढी अन्न उब्जाउने राज्यमध्ये एक थियो भने विश्वप्रख्यात आन (आन्टोनोभ) कार्गो हवाईजहाज पनि उक्राइनाको खार्कोभ क्षेत्रमै निर्माण हुन्थ्यो । ‘आन’ कार्गो विमानले नेपालमा केही दशकअघि बेलायतदेखि एकै खेपमा सिङ्गै बेलीब्रिज बोकिल्याएको थियो ।
खार्कोभमा मेरो विद्यार्थी जीवन धेरै रमाइलोसँग बितेको थियो । आफ्नो अध्ययन सँगै मैले त्यहाँ आफ्नै समकक्षी भालेन्टिना श्रेष्ठसँग विवाह पनि गरेँ र उनीबाट अलेक्जेन्डर र देनीस दुई छोराहरू पनि भए ।
स्वास्थ्य शिक्षा सबै सेवा सुलभ र निःशुल्क थियो । कुनै कठिनाइ थिएन । विद्यार्थीहरूलाई छात्रावासमा बस्नको लागि राम्रो व्यवस्था थियो । स्वदेशी तथा विदेशी विद्यार्थीहरूबीच राम्रो सौहार्दपूर्ण वातावरण थियो । कहीँ केही झै–झगडा थिएन । सोभियत सङ्घको हरेक ठूल–ठूला सहरमा दसौँ–बीसौँ हजार विदेशी विद्यार्थी थिए । म बसेको खार्कोभ सहरमा मात्र हजारभन्दा बढी भियतनामी विद्यार्थी थिए । त्यत्तिकै अरब मुलुकका विद्यार्थीहरू र अफ्रिकी देशहरूबाट पनि थुप्रै विद्यार्थीहरू पढ्न आएका देखिन्थे । म बस्ने कोठामा एक रुसी र एक उक्राइनी विद्यार्थी थिए । मसँग अफ्रिकी महादेशका माली देशबाट आएका जैदी कारम्बे र दुई सोभियत नागरिक थिए । सबै विद्यार्थी एक आपसमा मिलीजुली बस्थे ।
पश्चिमा पुँजीवादका विद्यार्थीहरू प्रायः देखिँदैनथे तर वार्सा सन्धिमा आबद्ध पूर्वी युरोपका समाजवादी देशहरूका विद्यार्थीहरू जताजतै देखिन्थे । मेरै छात्रावासमा बस्ने र मसँगै कक्षामा पढ्ने विद्यार्थीहरूमध्ये पूर्वी जर्मनी, हङ्गेरी, बुल्गेरिया, पोल्यान्डका विद्यार्थीहरू थुप्रै थिए ।
हामी तेस्रो मुलुक भनिने विकासोन्मुख देशका विद्यार्थीलाई छात्रवृत्ति अन्य समाजवादी देशका विद्यार्थी र स्वयम् सोभियत विद्यार्थीहरूलाई भन्दा बढी दिइन्थ्यो । प्रतिमहिना हामी ९० रुबल छात्रवृत्ति पाउँथ्यौँ । भियतनाम, चीन, पूर्वी जर्मनी, पोल्यान्डजस्ता समाजवादी देशका विद्यार्थीले ६० रुबल पाउँथे भने सोभियत विद्यार्थीहरूले ३५ रुबलमात्र पाउँथे ।
३५ रुबलमा अलि गाह्रो भए पनि रुसी विद्यार्थीहरू सन्तोष नै देखिन्थे । उनीहरूमा देशभक्तिपूर्ण भावना देखिन्थ्यो । कहीँ कसैले गुनासो गरेको देखिँदैनथ्यो । सबै विद्यार्थीजगत् खुसी नै देखिन्थे । पढ्नमा धेरै रुचि राख्थे र प्रत्येक शनिबार स्वयम्सेवक भई श्रमदान गर्दथे । हिउँदमा हिउँ सफा गर्न आ–आफ्नो छात्राबासका भवनहरूका छानामा चढ्दथे भने गर्मीयाम र शिशिर–वसन्तमा खेतमा बाली भित्र्याउन र मकै, आलु खन्नमा विद्यार्थीहरू लाग्दथे । यस्तो समाजसेवी जनहित कार्यहरूमा सोभियत विद्याथीहरूसँगै हामी विदेशीहरू पनि संलग्न हुन्थ्यौँ । महान् अक्टोबर समाजवादी क्रान्तिपछि प्रत्येक शनिबार यस्तो जनश्रमदान गर्ने कार्य भ्लादिमिर लेनिनले आफै संलग्न भई सुरुवात गरेका थिए ।
सोभियत सङ्घमा गरिने यस्तो स्वयम्सेवी कार्यलाई ‘सुबोटनीक’ भनिन्छ । ‘सुबोटनीक’ भनेको ‘सुबोटा’ शब्दबाट आएको हो । ‘सुबोटा’ भनेको रुसी भाषामा शनिबार हो । सुबोटनीकको यसरी अर्थ लाउँदा शनिबारीय श्रमदान भन्ने बुझिन्छ ।
महान् क्रान्तिकारी नेता लेनिनले सुुरु गरेको ‘सुबोटनीक’ म सोभियत सङ्घमा पढ्न बस्दासम्म यथावत थियो । तर, अहिले थाहा भएन, सायद छैन पनि होला । सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि सायद ‘सुबोटनीक’ को बन्दोबस्त छैन होला । तर, एउटा खुसीको खबर छ, सोभियत सङ्घमा भएको ‘सुबोटनीक’ जस्तो श्रमदान गर्ने कार्यक्रम भक्तपुरमा ‘नेपाल मजदुर किसान पार्टी’ का कार्यकर्ता तथा नेताहरूले अवलम्बन गरिरहेको जस्तो लाग्छ । भक्तपुर सहरमा ‘नेमकिपा’ का नेता तथा कार्यकर्ता कुनै ठूलो ऐतिहासिक तथा सांस्कृतिक महत्वका भवन र मन्दिरहरूको पुनःनिर्माणमा लाइन लागि एकताबद्ध भएर काम गरिरहेको देख्छु । भक्तपुरका ठूलठूला सुन्दर र रमणीय ऐतिहासिक पोखरी वरिपरि नेपाल मजदुर किसान पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरू सरसफाइमा लागिरहेको देख्दा मलाई सोभियत सङ्घमा भएको सुबोटनीकको स्मरण हुन्छ ।
Leave a Reply