विश्व मञ्चमा रास्वपा सरकार पनि गुनासोमै सीमित !
- आश्विन १४, २०८३
बिहीबार दाहाल–नेपाल समूहको ‘आम्हडताल’ ले देशभरको जनजीवन अस्तव्यस्त भयो । ‘अब कहिल्यै पनि बन्द हड्ताल गर्दिनौँ’ भनी हस्ताक्षर गरेका नेताहरू नै हडतालमा उत्रेको देखियो । त्यस्तै शुक्रबार ओली समूहले आयोजना गरेको जनसभाले पनि राजधानीको जनजीवन प्रभावित बन्यो । काठमाडौँको अति व्यस्त ठाउँमा आयोजित सभाले सवारी आवागमनलाई प्रभावित गरेपछि सर्वसाधारण घण्टौँ सवारी जाममा बस्न बाध्य भए । परीक्षा दिन परीक्षाकेन्द्रमा जान हतारिएका विद्यार्थीदेखि कार्यालय भ्याउन हतारमा हिँडिरहेका कर्मचारीहरू सबैको दैनिकी सडक अवरोधका कारण प्रभावित बन्यो । नेकपाका नेताहरूबीचको कलहले यतिबेला देशभरका जनता विभिन्न हिसाबबाट प्रभावित बनेका छन् ।
राजनीतिक दलहरूले कुनै पनि सभा–सम्मेलन र प्रदर्शन गर्दा सर्वसाधारण जनताका समस्याप्रति जिम्मेवार बन्न जरूरी छ । प्रजातान्त्रिक अधिकार प्रयोगको नाममा सर्वसाधारण जनताको सुविधामाथि थिचोमिचो गर्ने अधिकार कसैलाई हुँदैन । सरकार सञ्चालन गरिरहेको राजनीतिक दलले नै राजधानीको मूल केन्द्रमै यसरी ठूलो सङ्ख्यामा मानिस जम्मा गरी झन्डै दिनैभरिजसो कार्यक्रम गर्दा सर्वसाधारण जनताको दैनिकी अस्तव्यस्त बनेको छ । राजनीतिक दलका आ–आफ्ना अहम् साध्न यसप्रकार जनताको दैनिकी प्रभावित बनाउने गतिविधि आयोजना गर्नु पक्कै पनि उचित होइन ।
राणाकालमा सरकारी सभा समारोह वा कुनै सार्वजनिक घोषणा टुँडिखेलको खरीको बोटबाट गर्ने चलन थियो । समयान्तरमा खरीको बोट नजिकको खुला मञ्चमा त्यस्ता खुला सभा–समारोह हुन थाले । तर, केही वर्ष यता त्यही खुला मञ्च पनि खुम्च्याएर समाप्त पार्न खोजिँदै छ । खुलामञ्च कार्यक्रम गर्न अनुपयुक्त भएपछि राजनीतिक दलहरूले राजधानीका अति व्यस्त सडकहरूमा आवागमन प्रभावित हुने गरी सभा सम्मेलन गर्ने गरेका छन् । शासकहरू घुम्ने मेचमाथि रहँदा सकेसम्म खुलामञ्चमा सरकारको विरोधमा कुनै सभा समारोह नहोस् भनी खुलामञ्च सखाप पार्न खोज्छन् । तर, जब सत्ताको लागि सङ्घर्ष गर्ने बखत हुन्छ, तिनलाई त्यही खुलामञ्चको सम्झना हुन्छ । खुलामञ्च हुँदो हो त परिसरभित्र सभा चलिरहने थियो र मानिसको आवागमन पनि सुचारू हुने थियो । तर, आज नारायणहिटी, माइतीघर र प्रदर्शनीमार्गमा त्यस्ता सभा–सम्मेलन गर्दा जनजीवन प्रभावित बनेको छ ।
विभिन्न देशमा सरकारप्रतिको विमति वा राजनीतिक प्रदर्शनको निम्ति खुला क्षेत्रहरू निर्धारण गरिएको हुन्छ । त्यस्ता खुला क्षेत्रमा मानिसहरूले अन्य जनताको दैनिकीमा कुनै प्रभाव नपारी आफ्नो अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्छन् । खुलामञ्चलाई बस पार्क र बजार बनाएपछि खुला गतिविधि गर्ने ठाउँ पनि खुम्चिएको छ । खुला मञ्चको सट्टा अन्यत्र गतिविधि गर्दा अन्य जनता प्रभावित बनेका छन् । त्यसकारण सम्पदाकर्मी, सचेत नागरिक र अभियन्ताहरूले ‘अकुपाई टुँडिखेल’ नामको अभियान सञ्चालन गरेका थिए । खुलामञ्च नहुँदा भूकम्प वा त्यस्तै केही आपत्विपद् आउँदा काठमाडौँमा खुला क्षेत्रको नै अभाव हुने उनीहरूको तर्क थियो । उनीहरूका जायज कुरालाई शासक दलहरूले त्यत्तिबेला सुनेको नसुनेझैँ गरे ।
आज आफै सडकमा उत्रनु पर्दा पक्कै पनि शासक दलका नेताहरूलाई खुलामञ्चको याद भएको हुनुपर्छ । भौतिक निर्माणको नाममा भएका संरचनाको मौलिकता बिगार्ने काम तत्काल रोकियोस् । राजनीतिक कार्यक्रमको नाममा जनताको दैनिकीलाई प्रभावित बनाउने काम रोकियोस् र राजधानीको खुलामञ्चलाई खुला क्षेत्रकै रूपमा कायम राखौँ ।
Leave a Reply