भर्खरै :

सक्वको म राजदास – ७१ / सोभियत सङ्घमा ब्रेझनेभ युग

हजारौँ वर्षदेखि ठूला साना युद्धहरू झेल्दै, विदेशी आक्रमण, हत्या, हिंसा, अन्याय अत्याचार सही हुर्केका विश्वको एक ठूलो राष्ट्र रुसी साम्राज्यका जनताले इतिहासको कालखण्डमा सुख, शान्ति, ऐश, आराम पाएको युग भनेको दोश्रो विश्व युद्धपछिको सन् १९५० को दशकदेखि सन् १९८० सम्मको दशक हो अथवा लिओनिद इलिच्छ ब्रेझनेभको युगमा हो । तत्कालीन सोभियत सङ्घ समाजवादको बाटो अँगाल्दै विश्वमा एक शक्तिशाली राष्ट्रको रूपमा अगाडि बढ्दै थियो ।
सन् १९७० देखि १९७५ सम्म म स्वयम् सोभियत सङ्घमा अध्ययन गर्दै गर्दा प्रत्यक्ष भोगेर, देखेर आएको थिएँ । सोभियत समाजवादी व्यवस्था जहाँ सम्पूर्ण सोभियत जनतालाई शिक्षा, स्वास्थ्य सेवा निःशुल्क उपलब्ध थियो । गाँस, बास र कपासको पनि उचित व्यवस्था थियो । प्रत्येक नागरिकले काम पाएका थिए । आफ्नो क्षमता र दक्षताअनुसार र कामको कठीनता हेरी उचित समयमा पेन्सन पठाइन्थ्यो । कठोर परिश्रमीलाई सोहीअनुसार उचित ज्याला दिने प्रचलन थियो । एउटा फ्याक्ट्रीमा काम गर्ने इलेक्ट्रिसियन वेल्डरले एक बुद्धिजीवी प्रोफेसर अथवा एक मेडिकल डाक्टरले भन्दा बढी तलब भत्ता बुझ्दथ्यो । अरू साधारण कामदारभन्दा केही वर्ष छिटो उसलाई पेन्सन मिल्दथ्यो ।
शान्ति सुरक्षाको व्यवस्था पनि धेरै उच्च स्तरको थियो । त्यहाँ चोरी डकैती हुने कुनै खतरा थिएन । राति १०–१२ बजे मस्कोको सडकमा एकदुई जना हिँडेर जान पनि केही डरत्रास हुँदैनथ्यो ।
आफ्ना भावी श्रीमती भालेन्टिनसँग म कैयौँ पल्ट राति अवेर मास्कोको क्रेमलिन चोक हेर्थेँ, जसलाई रेड स्क्वायर भनिन्छ । सुनसान सडकमा हामी हिँड्दै आफ्ना घर फर्कन्थ्यौँ । बाटोमा कोही कतै भेट हुँदैनथ्यो र ठाउँठाउँमा सडकमा पालो गरी बसेका सुरक्षाकर्मी हाम्रोसामु आई स्यालुट ठोक्दै भन्थे, “केही समस्या त छैन यहाँहरूलाई ?” “हामीलाई सब ठीक छ”, भनेपछि उनी फेरि सलाम ठोक्दै “तपाईंहरूको जय होस् ।” भनेर पर जान्थे ।
तर, आज सोभियत सङ्घ छैन । त्यस्तो शान्ति सुरक्षाको व्यवस्था एक दन्त्य कथाजस्तो लाग्छ । हामी सुन्छौँ, कोही व्यक्ति सुटकेसमा डलर बोकी दिनदहाडै मस्को स्ट्रीटमा हिडिँराखेको थाहा पायो भने कोही मानिस पछाडि आएर धाडमा पेस्तोल या छुरा तेस्र्याएर सुटकेस खोसेर भाग्छ । कसैले एक शब्द बोल्दैन र चिच्याउने कुरा त परै जाओस् । दिनदहाडै यस्ता अपराध हुन्थ्यो, मस्को सहरमा सन् १९९० को दशकमा जब सोभियत सङ्घ ढलेर पुँजीवादी व्यवस्था लागु भयो तब सोभियत रुसमा मस्कोस्थित कैयौँ विदेशीले र कोही नेपाली दाजुभाइहरूले पनि मस्कोमा यस्तो आतङ्क भोगेका थिए ।
सन् १९९५ तिर मेरा आफ्नै छोरा अलेक्जेन्डर एक दिन एयरपोर्टबाट आफ्नो महँगो जापानीज गाडीमा आफ्नो घर (फ्ल्याट) जाँदै थियो । आफ्नो विल्डि· अगाडि निर्दिष्ट ठाउँमा गाडी पार्क गरी आफ्नो फ्ल्याटमा पुगेर झ्यालबाट हेर्दा उसको ४०–५० लाख जाने गाडी कोही गाडीभित्र पसेर स्टार्ट गर्दै थियो र हेर्दा हेर्दै गाडी चलाएर लग्यो ।
यसरी आफ्नो गाडी चोरिएको छोराले मलाई तुरून्तै फोनमा खबर सुनायो । मैले भने, “खोजी गर्नुपर्दैन त, पुलिसलाई खबर ग¥यौ त ?” छोराले भन्यो, “यसरी माफियाले लुटेर लगेको बारे पुलिसलाई खबर गर्नु र खोजी तलासी गर्नु बेकार छ ।” किनकि मस्कोका पुलिसहरू माफियाहरूदेखि डराउँथे ।
यसरी सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि मस्को सहर र वरिपरि सबभन्दा ठूलो समस्या नै शान्ति सुरक्षाको भइदियो । सोभियत समाजवादी व्यवस्था जहाँ कसैले कसैको सामान चोर्ने भन्ने कुनै कुरा नै हुँदैनथ्यो र कसैलाई कसैको सामान चोर्नुपर्ने आवश्यकता नै हुँदैनथ्यो । त्यस्तो समाजवादी व्यवस्थासँगसँगै सोभियत सङ्घ विघटन भयो । सन् १९५४ मा सोभियत सङ्घमा निकिता ख्रुश्चेभको संशोधनवादी नीति घुसेको थियो । सोभियत सत्ता सन् १९६४ मा निकिता ख्रुश्चेभको हातबाट लिओनिद ब्रेझनेभको हातमा गएपछि ‘येन केन प्रकारेण’ सोभियत समाजवादको सुरक्षा भइरहेको थियो । सन् १९६४ देखि १९८२ सम्म सोभियत जनता सुखले बाँच्न पाएका थिए । तर, ब्रेझनेभपश्चात् आएका दुई सोभियत नेता आन्ड्रोयीभ र छेर्नेन्कोले धेरै समय राज्य सञ्चालन गर्न पाएनन् । ब्रेझनेभले सुस्तता, स्थिरता र सम्पन्नताको अवस्थामा खास कुनै परिवर्तन ल्याएनन् । जब कि सन् १९८६ मा सोभियत सत्तामा आएको मिखाइल गोर्वाचोभले सोभियत नीतिमा आमूल परिवर्तन ल्याई ‘ग्लास्नोस्ट (ट्रान्सपरेन्सी) र ‘पेरेस्ट्रोइका’ (पुनर्संरचना) को नीति अपनाई सोभियत सङ्घको समाजवादी व्यवस्थामा ठूलो परिवर्तन ल्याए । आफ्नो सुरुका वर्षमा केही जनसमर्थन र लोकप्रियता हासिल गरे पनि सन् १९९१ मा आफ्नो उदारवादी नीतिले ७० वर्षसम्म विश्वमा तहल्का मच्चाउँदै आइरहेको सोभियत सङ्घकै विखण्डन गरिदियो ।
हाल मिखाइल गोर्वाचोभ युरोप (इ·ल्यान्ड) र अमेरिकामा आफ्नो नाममा ‘गोर्वाचोभ’ फाउन्डेसन खोली विश्वका विभिन्न ठाउँहरूमा लेक्चर दिँदै बसेको सुनिन्थ्यो । तर, उनी आफ्नो भूमि सोभियत सङ्घ फर्कने आँट गर्नसक्दैनन् र फर्के भने रुसी जनताले उनलाई सोभियत सङ्घ विघटनको मुद्दालाई लिएर महाअभियोग लगाउन सक्ने धेरै सम्भावना अझै बाँकी छ ।
सन् १९९१ मा भएको सोभियत सङ्घको विघटनले सोभियत जनजीवन अन्योलग्रस्त हुन पुग्यो र सबै सामाजिक र राजनीतिक व्यवस्था अस्तव्यस्त भयो । शान्ति सुरक्षामा ठूलो समस्या आइप¥यो । माफियामा आबद्ध व्यक्तिहरूले वृद्धा नागरिकको हत्या गरी धनसम्पत्ति लुटे । सरकार तमासे भएर हेर्नेभन्दा आफ्नो देशको जनताको धनजन सुरक्षाको लागि केही गर्न सकेन ।
सोभियत सङ्घको विघटनसँगै पूर्वी युरोपका समाजवादी देशहरू सोभियत सङ्घको कब्जाबाट मुक्त हुँदै गए भने सोभियत सङ्घभित्रै पनि एक एक गरी सबै सोभियत गणतन्त्र राज्यहरू अलग्ग हुँदै गए । एक आपसमा दाजुभाइजस्तो गरी बसेको गणतन्त्रहरूको बीचमा शत्रुता र वैमनस्यताको भावना जागृत भयो । रुस र उक्राइनाबीच त ठूलो सशस्त्र सङ्घर्ष नै भयो । पश्चिम पुँजीवादी देशहरू र संयुक्त राज्य अमेरिकाले बलेको आगोमा घिउ थप्ने जस्तो गरी उक्राइना, जर्जियाजस्ता देशहरूलाई आर्थिक प्रलोभन र सैनिक सहयोग देखाई रुसबाट अलग्ग भएर आफ्नो सैैनिक गठबन्धन ‘बाटो’ मा प्रवेश गराउनसमेत प्रयास गरे ।
सोभियत सङ्घको विघटनपछि सोभियत सङ्घ स्थापना हुँदा उक्राइना र क्रिमिया प्रायद्वीपको स्वामित्वलाई लिएर ठूलो विवाद र शक्ति सङ्घर्ष भयो । अन्तमा, रुसले क्रिमियालाई आफ्नो मानचित्रमा गाभिदियो । यसले गर्दा विवाद झन् चर्किनुको साथै कृष्णसागर (ब्लाय्क–सी) मा रहेको सोभियत सैनिक बाँडफाँडमा पनि ठूलो झमेला उत्पन्न भयो ।
रुस र उक्राइनामा जस्तै सोभियत सङ्घको विघटनपछि दक्षिण काफ्काज क्षेत्रमा रहेको चेचेनिया र रुसबीच पनि ठूलो सङ्कट र सङ्घर्ष उत्पन्न भयो ।
सन् २००० मा एक डेढ महिनामा चेचेनिया राजधानी ग्रोज्नीमा सङ्घर्ष सकिसकेको थियो र वातावरण शान्त नै देखिन्थ्यो । ८–१० जना नेपालीहरू पनि त्यहाँ मेडिकल साइन्स पढ्न बसिरहेका थिए । चेचेनियाहरू मुस्लिम जातका मानिस हुन् । उनीहरूको भौतिक रूप र· हामी नेपालीहरूसँग धेरै मिल्दोजुल्दो छ ।
सोभियत सङ्घको दक्षिण–पश्चिम क्षेत्रमा क्यास्पियन सागर नजिक रहेको चेचेनियामा तेलको ठूलो भण्डार रहेछ । क्यास्पियन सागरभित्र पनि ठूलो तेल खानी रहेको छ । सयौँ वर्षदेखि क्यास्पियन सागर वरिपरि तेल निकाल्ने काम भइरहेको थियो । त्यही क्यास्पियन सागरको विशाल तेल भण्डारमा संयुक्त राज्य अमेरिकाले आँखा गाडेको रहेछ ।
क्यास्पियन सागरबाट निकालेको तेल जर्जिया हुँदै पाइपलाइनबाट टर्कीसम्म पु¥याउने र टर्कीबाट आफ्ना सहयोग पश्चिमा पुँजीवादी देशहरूमा तेल पु¥याउने अमेरिकाको दाउ थियो । यसैकारण चचेनियन मुस्लिमहरू र जर्जियन सरकारलाई लोभलालच देखाई रुसविरुद्ध युद्ध गर्न उक्साइएको थियो ।
सन् १९५० को दशकमा सोभियत नेता ख्रुश्चेभले आफ्नो जन्मस्थलका नेता स्तालिनलाई गरेको दुव्र्यवहारप्रति जर्जियन जनता रुसीहरूदेखि धेरै क्षुब्ध थिए । चेचेनियालाई पनि ४००–५०० वर्षदेखि आफूलाई आक्रमण गरी इतिहासकालदेखि नै उत्पीडनमा पारिरहेकोले चेचेनियाहरू पनि रुसदेखि आक्रोशित थिए । त्यसकारण चेचेनियाले रुसँगै युद्ध नै गरेर मस्कोसम्म आएर एक योद्धाले मेट्रो–रेलमुनि पुगी आत्मघाती वम बिस्फोट गराई धेरै जनाको विभत्स हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *