भर्खरै :

घरेलु उद्योगको घाउमा मल्हम लगाऊ !

लामो समयको राजनीतिक अस्थिरतापछि टाउको उठाउन खोजिरहेका देशका घरेलु तथा साना उद्योगहरू कोभिड–१९ महामारीसँगै पुनः अवनतितिर धकेलिए । उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले शुक्रबार सार्वजनिक एक तथ्याङ्कअनुसार देशभरका ५४ प्रतिशत साना तथा घरेलु उद्योगमा ५० प्रतिशत उत्पादन क्षमतामा गिरावट आएको, ३२.४३ प्रतिशत उद्योगको ७५ प्रतिशतसम्म उत्पादन गिरावट आएको र २३.५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको बताइएको छ । उद्योग क्षेत्रमा कोभिड–१९ महामारीले पारेको प्रभाव भने तत्कालै निमिट्यान्न भइहाल्ने अवस्था देखिंँदैन ।
कोभिड–१९ को कारण नेपालका उद्योग कलकारखानामात्र प्रभावित भएका होइनन् । महामारीले उद्योग क्षेत्रमात्र प्रभावित भएको होइन । संसारका हरेकजसो क्षेत्र यो महामारीबाट केही न केही अनुपातमा प्रभावित बनेका छन् । संसारका अधिकांश देशहरू आगामी दिनमा महामारीको कारण रूग्न बनेका उद्योग कलकारखानालाई पुरानै अवस्थामा कसरी फर्काउने र गतिशील कसरी बनाउने भन्ने विषयमा तन्मयका साथ लागिपरेका छन् । उत्पादनमूलक क्षेत्रले अर्थतन्त्रलाई जीवन र दिगोपना दिने भएकोले सरकारहरूले उद्योगधन्धालाई ब्युँताउने विषयमा बढी जोड दिइरहेका छन् ।
नेपालको सन्दर्भमा साना तथा घरेलु उद्योग नै अर्थतन्त्रलाई पुनः गतिशील बनाउने मूल आधार हो । नेपालको अर्थतन्त्र इतिहासदेखि नै घरेलु उद्योगले नै धान्दै आएको छ । चाणक्य नीतिमा पनि नेपाललाई ‘राडी पाखीको देश’ भनी उल्लेख गरिएको छ । डेभिड सेडनलगायतले लेखेको पुस्तक ‘वर्कर्स एन्ड पिसेन्ट अफ नेपाल’ र ‘बेसिक निड्स इन नेपाल’ मा पहिलो विश्वयुद्धअघि नेपालको आत्मनिर्भर अर्थतन्त्रको लागि घरेलु उद्योगले खेलेको भूमिकाबारे चर्चा गरिएको छ । नेपालको अर्थतन्त्रमा राणाकालदेखि विदेशी बजार प्रभाव संस्थागत बन्दै गएको छ । फलतः घरेलु उद्योग क्रमशः ओरालो लाग्न थालेको छ । यद्यपि, सीमित परिधिमा फैलिएको घरेलु तथा साना उद्योगको अवस्था अहिले अझ कमजोर बनेको छ ।
सरकारले विदेशी कम्पनीलाई नेपाल ल्याउन मिहिनेत गर्नुभन्दा स्वदेशमा भएका ती साना उद्योगीहरूलाई प्रवद्र्धन गर्ने प्रभावकारी कार्यक्रम ल्याउन जरूरी छ । साना उद्योगीप्रति सरकारको व्यवहार सधैँ हतोत्साहित बनाउने खालको छ । सरकारले न उद्योगीहरूलाई कच्चा पदार्थको उचित बन्दोबस्त गर्न सकेको छ, न बजारको सुनिश्चितता गर्न सकेको छ । जसोतसो पुँजी बटुलेर थालिएका उद्योगहरू विभिन्न कारणले थला पर्छन् । तर, तिनलाई उठाउन सरकारले सहायताको हात अघि बढाउँदैन । घरेलु उद्योगले दसौँ लाख नेपाली जनशक्तिलाई रोजगारी दिएर करोडौँ जनताको भान्छामा खाना पाक्ने अवस्था बनाएको छ । ती उद्योगले नेपाली जनताका जीवनका आवश्यकता पूरा गर्न मद्दत पु¥याइरहेका छन् । तिनले देशको मौलिक परिचय पनि जोगाएका छन् । तसर्थ, सरकारले कमिसनको लोभमा विदेशी कम्पनीको चाकडी गर्नुभन्दा देशमै भएका घरेलु उद्योगको विकासमा पसिना बगाउने अवस्था सिर्जना गर्नुपर्छ । लाखौँ सङ्ख्यामा नेपाली युवाहरू रोजगारीको लागि विदेशिएका छन् । ती उद्यमी पाखुरालाई देशभित्र ल्याउन र दिगो विकासको निम्ति घरेलु उद्योगको विकासबाहेक अर्को विकल्प छैन ।
भारतलाई बेलायती उपनिवेशवादविरूद्धको सङ्घर्षमा आर्थिक शक्ति त्यहाँका घरेलु उद्योगले नै प्रदान गरेको थियो । छिमेकी चीनको आजको आर्थिक गतिको आधार पनि त्यहाँका देशभक्त राष्ट्रिय पुँजीपति वर्गका उद्योगहरू नै हुन् । रूपमा साना भए पनि ती उद्योगहरूको समग्र परिणाम निकै फराकिलो हुने गर्दछ । तसर्थ, सरकारले कोभिड– १९ को घाउ पुर्न महामारीको कारण थला परेको र अहिलेको राजनीतिक अनिश्चितताले सन्त्रासमा रहेका लघु तथा घरेलु उद्योगको प्रवद्र्धनमा ध्यान दिन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *