भर्खरै :

मनलाग्दी बोल्नु नै वाक् स्वतन्त्रता होइन

कुनैबेला यस्तो व्यवस्था थियो नेपाली जनताले आफूमाथि अन्याय भयो र अत्याचार भयो भनी कतै भन्न पाउँदैनथे । जसले त्यस्तो भन्ने गल्ती गथ्र्यो व्यवस्थाका हर्ताकर्ताहरूले रातारात उसलाई पक्राउ गर्थे, सके बेपत्ता बनाउँथे, नसके कम्तीमा आधा–एक दशक जेलमा कोच्थे । त्यसबेला उठेको नारा थियो – वाक् स्वतन्त्रता सुनिश्चित गर, जनताको मौलिक हक कायम गर । २०४६ साल र २०६२–६३ को जनआन्दोलनले प्रजातन्त्रसँगै वाक् र प्रेस स्वतन्त्रता पनि सुनिश्चित गरेको थियो । तर, यहाँ प्रजातन्त्र भनेको असीमित स्वतन्त्रता होइन र स्वतन्त्रताको अधिकारसँगै कानुन पालनको प्रतिबद्धता र राज्य या देशप्रतिको दायित्व पनि आउने कुरा हामीले बिर्सन हुँदैन । वाक् स्वतन्त्रताको अर्थ मनलाग्दी बोलेर हिँड्न पाइने छाडातन्त्र पनि होइन ।
यतिखेर देशमा आन्दोलनको नाममा एक कथित महिला नेतृले सम्मानित राष्ट्रपतिमाथि मनगढन्ते लाञ्छना लगाएको आधारमा तिनीविरूद्ध परेको उजुरी र उजुरी अनुसन्धान गर्ने क्रममा प्रहरी हिरासतमा लिइएको घटनालाई वाक् वा अभिव्यक्ति स्वतन्त्रताको हनन र निरङ्कुशतन्त्र फिर्ता आएको भनी विरोध भइरहेको छ । त्यस घटनामा पूर्वाग्रह र प्रतिशोधको मनसायले काम भएको आरोप पनि छ । हुन पनि गाली बेइज्जतीको कसुरमा सजाय गर्नुपर्ने व्यक्तिलाई राज्यविरूद्धको कसुरको अभियोग लगाएपछि त्यस्तो त लाग्ने नै भयो ।
प्रजातन्त्रमा आफूमाथि भएको अन्यायको कुरा बोल्न र विरोध गर्न पाइन्छ । कुनै नेता, प्रधानमन्त्री र मन्त्रीले गरेको गलत निर्णयको आलोचना र विरोध गर्न पाइन्छ । तर, त्यस्ता आलोचना र विरोध सत्यतथ्यको आधारमा हुनुपर्छ । बिनाप्रमाण जोकसैमाथि आरोप लगाउन र जोकसैको चरित्रमाथि प्रश्न उठाउन पाईँदैन । कसैमाथि मनलाग्दी गालीगलौज गर्न पनि पाईँदैन । मुलुकी अपराधसंहिता २०७४ मा दफा ३०५ र ३०६ मा गालीगलौज र गाली बेइज्जती गर्न नहुने व्यवस्था छ । यदि कसैले त्यस्तो गरेर हिँडेमा दफा ३०७ का उपदफाहरूबमोजिम सजाय हुने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *