भर्खरै :

लिवियाली दिवंगत शासक गद्दाफीका छोरा सेफ अल इस्लाम रिहा

त्रिपोली (लिविया), २८ जेठ । सत्ताच्युत गरिएका लिबियाका दिवंगत शासक कर्णेल गद्दाफीको उत्तराधिकारीका रुपमा हेरिएका गद्दाफीका दोस्रो छोरा सेफ अल इस्लामलाई शुक्रबार एक माफी सहमति अन्तर्गत पाँच बर्षपछि जेलबाट रिहा गरिएकोे छ ।
पश्चिमी लिबियाको जिन्तान नगरमाथि नियन्त्रण गरेको एक लडाकु समूहले इस्लामलाई शुक्रबार रिहा गरेको बताइएको छ । लिबियामा भएको क्रान्तिका क्रममा सन् २०११ मा कर्णेल गद्दाफी मारिए लगत्तै सेफ अल इस्लामलाई पक्राउ गरिएको थियो ।
सन् २०१५ मा त्रिपोलीस्थित एक अदालतले तत्कालीन सत्ताविरुद्धको आन्दोलनलाई दबाउने विफल प्रयासका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै उहाँलाई मृत्युदण्ड सुनाएको थियो ।
झण्डै छ बर्षसम्म लडाकूको नियन्त्रणमा रहेपछि उहाँलाई छोडिएको हो । उहाँमाथि युद्ध अपराध तथा मानवताविरुद्ध अपराधका मुद्दामा हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतले भने उहाँको खोजी गरिरहेको छ ।
यसअघि पनि उहाँको रिहाइका खबरहरु सार्वजनिक भएका थिए तर ती सवै झुटा सावित भएका थिए । इस्लामलाई एक प्रबुद्ध व्यक्तित्वका रुपमा हेरिन्छ । उहाँले लण्डन स्कूल अफ इकोनोमिक्समा विद्यावारिधी गरेको बताउने गरिएको छ तर उहाँको प्रमाणपत्रबारे विवादास्पद टिप्पणी पनि आउने गरेका छन् ।
दशकौं लामो गद्दाफी शासन आन्दोलनको बलमा अन्त्य भएपछि लुक्दै बसेका पूर्व शासकका छोरा सेफ अल–इस्लाम तीन महिनापछि समातिनुभएको थियो ।
सन् २००० पछि पश्चिमा मुलुकहरुसँग लिबियाको सम्बन्ध बढाउने कार्यमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । आफ्ना बावुको शासनकालमा उहाँलाई एकजना सुधारवादी नेताका रुपमा लिइन्थ्यो । अल–इस्लाम समातिएपछि उहाँसहित गद्दाफीका ३० जना सहयोगीविरुद्ध मुद्दा चलाइएको थियो ।
रिहाइबारे त्रिपोलिस्थित सरकारी पक्षबाट कुनै पुष्टि गरिएको छैन । गद्दाफीका अन्य सात छोराहरू भने आन्दोलनका समय मारिएका थिए । रासस÷ एएफ्पी

Leave a Reply

Your email address will not be published. Required fields are marked *