भर्खरै :

अपराधीहरू सजातगी हुनुपर्छ

प्रत्येक दिनझैँ देशमा भइरहेको बलात्कार र हत्याको श्रृङ्खलाले सुशासन कायम रहेको भनी सन्देश बाँड्ने प्रम ओलीलाई गिज्याइरहेको अनुभूति जो कसैले गरिरहेका छन् । बैतडीका भागरथी भट्टको बलात्कारपछि हत्याको दोषीलाई फाँसी देको माग गर्दै बैतडीमा मात्र होइन, राजधानीमा पनि प्रत्येक दिन प्रदर्शनहरू भइरहेका छन् । ‘बलात्कारीलाई फाँसी दे’, ‘महिलाहरूको सुरक्षा गर’ आदि नाराले ओली सरकारको कस्तो सुशासन रहेछ भन्ने थाहा हुन्छ । निर्मला पन्त र भागरथी भट्टको बलात्कार र हत्या प्रकरणले देशमा चेलीबेटीहरू सुरक्षित नभएको र दोषीहरू कारबाहीमा नपरेको देखाउँछ ।
प्रम ओलीले शनिबार बुटवलमा आयोजित एक समारोहमा निर्मला पन्त र भागरथी भट्टका हत्याका दोषीहरूलाई समातेर जेलमा थुन्ने बताए । निर्मला पन्तको हत्यामा संलग्न अपराधीहरू सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । अहिले त अपराधीको खोजीनीति गर्ने प्रयास नै भएको देखिँदैन । भागरथी भट्टका दोषीहरू पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन । प्रम र गृहमन्त्रीले दोषी छिट्टै पत्ता लगाउने विश्वास त दिलाए । तर, प्रम र गृहमन्त्रीको त्यो विश्वास कतै दोषीहरूमाथिको कारबाहीको माग गर्दै भइरहेको आन्दोलन शिथिल पार्ने चाल त होइन ?
बलात्कार गरेर हत्या गर्ने अपराधीहरूलाई केही वर्ष थुनछेक र जरिवाना गरेर आपराधिक क्रियाकलाप नियन्त्रण हुँदैन । त्यस्ता अपराधीहरूलाई सर्वश्वहरणसहित पीडितको समर्थनमा सडकमा विरोध प्रदर्शन गर्ने आन्दोलनकारीहरूले भनेझैँ फाँसी दिनुपर्छ । त्यस्ता अपराधीहरूलाई फाँसी दिन कञ्जुस्याइँ गर्नुहुँदैन । कुनै नेता, मन्त्री र सांसदका छोरीहरूलाई बलात्कार गरेर हत्या गरेपछि मात्रै फाँसी दिने कानुन बनाउँदा धेरै ढिलाइ भइसकेको हुन्छ । त्यत्तिञ्जेल सयौँ नेपाली चेलीबेटीहरूको ज्यान गइसकेको हुन्छ ।
सरकारले सडकमा हिँड्ने र घरमा रहेका चेलीबेटीहरूको पनि सुरक्षा गर्न सकेको छैन । पानीमुनि गए पनि अपराधीलाई छुट नदिने प्रम ओलीको बोली अहिलेसम्म व्यवहारमा देखिएको छैन । नेपाली चेलीबेटीहरू कहिल फिल्मी शैलीमा अपहृत हुन्छन् र हत्या हुन्छ । कहिले लोभलालचमा फसाएर वेश्यालय पु¥याइन्छ त कहिले बेहोस बनाएर मृगौला झिकी अन्य रोग लागेर चिरफार गरेको नाटक बुन्छ । महिला बेचबिखन पनि रोकिएको छैन । कहिले अपहरण गरेर हत्या गर्ने त कहिले लाखौँ पैसा लिएर छोड्ने गरेका घटना बारम्बार भइरहेका छन् । अपराधीहरूलाई कडा कारबाही नभएसम्म यस्ता आपराधिक घटनाहरू कम हुनेछैनन् । समाजलाई अपराधमुक्त बनाउन सरकार गम्भीर हुनुपर्छ, अपराधीहरू सजातगी हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *