जनताको मौलिक र कानुनी हक प्राप्तिमा कानुन व्यवसायीहरू सक्रिय हुनुपर्ने
- आश्विन ९, २०८३
बैतडीमा भागरथी भट्टको बलात्कारपछि हत्या भएको झन्डै दुई साता बितिसक्दा पनि अझै दोषी पत्ता लगाउन प्रहरी असफल छ । प्रधानमन्त्रीले शनिबार बुटवलमा आयोजित सभामा भागरथी र निर्मला बलात्कार र हत्याका दोषीलाई ‘पानीमुनि पनि नछोड्ने’ हुँकार गरे पनि अघिल्लो घटनाका दोषी पत्ता लाग्ने आशा मर्दै गएको मात्र होइन, पछिल्लो घटना अघिल्लो घटनाकै पुनरावृत्ति हुने हो कि भन्ने चिन्ता सर्वत्र हुन थालेको छ । प्रहरीका उच्चपदस्थ अधिकारीहरू घटनास्थलमा पुगिसकेको र ‘दोषीको नजिक पुगेको’ जस्ता समाचार प्रचारमा आए पनि घटना क्रमशः जेलिँंदै गइरहेको छ । अनुसन्धानको समय जति लम्बिंदै जान्छ, दोषी उम्कने सम्भावना त्यत्तिकै प्रबल हुन्छ । निर्मला पन्तको काण्डबाट सिक्नुपर्ने एउटा पाठ यही पनि हो ।
हत्याबारे प्रहरीले गरिरहेका खोजबिनका सबै कुरा तत्कालै सञ्चारमाध्यम वा सार्वजनिक जानकारीमा आउन अनिवार्य होइन । प्रचारबाजीलाई बढ्दा जोड दिंदा अपराधी सजिलै उम्कने सम्भावना रहन्छ । त्यसकारण सरकार र प्रहरीले प्रचारबाजीमा भन्दा व्यवहारमा अनुसन्धान प्रभावकारी बनाउन जरूरी छ ।
जनताका कुनै पनि साना–ठूला काम गराउन पनि सरकारी निकाय र संयन्त्रलाई दबाब दिनुपर्ने अवस्थामा कुनै परिवर्तन आएको छैन । नेपाली कर्मचारीतन्त्रको जुम्सोपनाको प्रभाव सुरक्षा निकायमा पनि परेको छ । फलतः सुरक्षा निकायलाई पनि दबाब नदिई काम हुने अवस्था देखिंदैन । यद्यपि, फौजदारी घटनामा दबाबले भन्दा पनि वैज्ञानिक अनुसन्धानको आधारमा दोषी पत्ता लगाउन जरूरी छ । बैतडीलगायत देशका विभिन्न सहरमा भागरथीको बलात्कार र हत्याका दोषी पत्ता लगाउन दबाब कार्यक्रमहरू आयोजना गरिएको छ । सभ्य र सचेत नागरिकको हिसाबले जनता यस्ता अपराधका अपराधीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रनु स्वाभाविक हो । तर, यस्ता दबाबको प्रभावमा भन्दा प्रहरीले वैज्ञानिक अनुसन्धान विधिलाई नै आधार मानेर यथाशक्य चाँडो दोषी पहिचान गर्न जरूरी छ ।
नेपालको प्रहरी प्रशासन अपेक्षित अत्याधुनिक प्रविधिसम्पन्न छैन । अपराध अनुसन्धानमा आवश्यक प्रविधिको अभावमा अपराधी उम्कने सम्भावना पनि बढी हुन्छ । त्यसकारण गृह प्रशासनले प्रहरीलाई अझ बढी भौतिक पूर्वाधार सम्पन्न र तालिम प्राप्त कसरी बनाउने विषयमा अझै बढी ध्यान दिन जरूरी छ ।
बैतडीलगायत नेपालको मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका जनता रोजगारीको लागि भारत पस्नु सामान्य कुरा हो । सो क्षेत्रमा त्यस्ता युवा कमै होलान् जो भारतमा गएर कम्तीमा केही महिना वा वर्ष काम नगरेको होस् । यस्तो संस्कृतिको कारण बलात्कार र हत्याजस्ता जघन्य अपराधका अपराधीहरू पनि सजिलै सीमा पारि भाग्ने गरेका हुन्छन् । विडम्बना नेपाल र भारतबीचको खुला सीमाको कारण नेपालमा अपराध गरेर भारत र भारतमा अपराध गरेर नेपाल पस्न अपराधीहरूलाई सहज छ । भागरथीको हत्याराको खोजी बैतडीमा मात्र होइन, सीमापारि पनि अनुसन्धानकर्ताको तीखो दृष्टि जानुपर्छ ।
निर्मला हत्याकाण्डको अनुसन्धान कुनै टुङ्गोमा पुग्न सकेन । नेपालको प्रहरी प्रशासनलाई निर्मलाको भूतले लामो समयसम्म तर्साउन छोड्ने छैन । भागरथीको हत्या प्रहरी प्रशासनको अर्को परीक्षा हो । भागरथीका हत्या पत्ता लाग्न नसके प्रहरी प्रशासनको क्षमतामाथि नै प्रश्न उठ्नेछ ।
निर्मलाको हत्यारा पत्ता नलाग्नु राज्यको निम्ति कलङ्कको विषय हो । अहिले भागरथी काण्ड अर्को चुनौती बनेर आएको छ । पञ्चायतकालको नमिता–सुमिता र गणतन्त्रमा निर्मला–भागरथीले नेपालको राज्ययन्त्रको प्रभावकारितामाथि प्रश्न गरिरहनेछ ।
Leave a Reply