भर्खरै :

भ्रष्टाचारविरोधी अभियान आवश्यक

नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला समिति भक्तपुरले सोमबार ‘सरकारी निकायमा भइरहेको अनियमितता र भ्रष्टाचारको विरोध गरौँ, भ्रष्टाचारविरोधी आन्दोलनमा सहभागी बनौँ’ भनी नापी शाखा र मालपोत कार्यालय भक्तपुरमा खबरदारी सभा राख्यो । आयोजक समितिका अध्यक्ष मिनबहादुर बाटाको नेतृत्वमा गएको एक प्रमण्डलले नापी प्रमुख र मालपोत अधिकृत प्रमुखसमक्ष अनियमितता र भ्रष्टाचार नगर्न र नगराउन ध्यानाकर्षण ग¥यो । वार्ता भइरहुञ्जेल प्रदर्शनमा सहभागी युवाहरूले कार्यालयको प्राङ्गणमा नाराबाजी गरिरहे । उक्त नाराबाजीले मालपोत र नापी शाखामा आएका मानिसहरूको ध्यान खिचेको थियो ।
प्रदर्शनमा निजी क्षेत्रको जथाभावी प्लटिङ्ग बन्द गर, मालपोत, भूमिसुधार र नापी कार्यालयमा भइरहेको भ्रष्टाचार अन्त्य गर, सार्वजनिक जग्गा र पोखरी व्यक्तिको नाउँमा दर्ता भएको तत्काल खारेज गर, जोत्नेलाई जमिन वितरण गर, सरकार र भ्रष्टाचारीहरूको साठगाँठ मुर्दावाद, जनतालाई दुःख दिन पाइँदैन, नेक्रायुसङ्घ जिन्दावाद, नेमकिपा जिन्दावाद आदि नारा लगाइएको थियो । सिङ्गो देश भ्रष्टाचारकै कारण बदनाम भइरहेको बेला, सत्तारुढ दलका नेता, मन्त्री र सांसद्हरू आर्थिक अनियमिततामा फसिरहेको बेला युवा सङ्घले गरेको भ्रष्टाचारविरुद्धको खबरदारी सभा, धर्ना र ध्यानाकर्षण समय सान्दर्भिक छ ।
भक्तपुर भ्रष्टाचारविरोधी सङ्घर्षको थलो हो । भ्रष्टाचारमाथि कारबाही गरिएको थलो हो । भ्रष्टाचार गर्न भ्रष्टाचारविरोधी अभियान चालू राख्नुपर्छ । भ्रष्टाचार अन्त्य नभएसम्म, अनियमितता अन्त्य नभएसम्म विकासमा बाधा भइरहन्छ । भ्रष्टाचार, अनियमितता, घूस र ढिलासुस्ती पुँजीवादी व्यवस्थाको छाया नै हो । घूस खुवाएपछि मात्रै काम अघि बढ्ने कार्यले गर्दा सर्वसाधारण जनताले दुःख पाउँदै छन् । घूस खाएर काम गर्ने कर्मचारीहरूले आ–आफ्ना पत्नीको नाउँमा महल ठड्याएका छन् । भ्रष्टाचार अन्त्य गर्न गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारका नेता, मन्त्री, सांसद, कार्यकर्ता र जनप्रतिनिधिहरूको यसतर्फ ध्यान गएकै छैन ।
भ्रष्टाचारमा संलग्न भएर सर्वसाधारणलाई दुःख नदेओस् भनी खबरदारी गर्न गरिएको नेक्रायुसङ्घको सो कदमको स्वागत गरिएको छ । यस्तो खबरदारी बेलाबखत गरिरहनुपर्छ । इमानदारीपूर्वक जनताको काम गर्न र गराउन यस कदमले टेवा पु¥याउनेछ । यसले घूस खाएर काम गर्ने कर्मचारीहरूको ढ्याङ्ग्रो ठोक्नेछ । पैसा पायो भन्दैमा ठीक बेठीक नहेरी, एउटा व्यक्तिको जग्गा अर्काे व्यक्तिको गर्ने र बनाउने काम गर्ने भ्रष्ट आचरणका व्यक्तिहरूलाई भ्रष्टाचारविरोधी अभियानले ठाउँमा ल्याउन सहयोग पु¥याउनेछ । भ्रष्टाचारविरोधी आन्दोलनले देश र जनताकै हित गर्छ । यस्तो अभियान सरकारले गर्नुपर्ने हो । तर, सरकारको ध्यान यसतर्फ गएको देखिँदैन । यसले नेकपाको सरकार भ्रष्टाचार अन्त्य गर्न चाहँदैन भन्ने देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *