अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
प्यारी दिदी भागरथी,
सादर प्रणाम !
आततायी समाजको तिमी पनि सिकार भइछौ । अखबारका पानामा तिम्रो मुस्कुराइरहेको र चस्मा लगाएको तस्वीर छापिन थालेको दुई साता हुनथाल्यो । तर, तिमीलाई बलात्कार गरेर हत्या गर्ने त्यो घिनलाग्दो पशु को हो, प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । घटना भएको हप्तौँसम्म अपराधीलाई समेत पक्राउ गर्न नसकेपछि कतै तिमीले पनि मेरै नियति भोग्नुपर्ने त होइन, मलाई जस्तै धेरै मानिसलाई चिन्ताको विषय बनेको छ ।
हरेक किशोरीका आँखामा जस्तै मेरा आँखामा पनि असङ्ख्य सपना थिए । बुबाले हामीलाई छोडेर सानी आमासँग बस्न थालेपछि हामीलाई जीवनका न्यूनतम आवश्यकता पूरा गर्न त्यत्ति सहजै थिएन । तै, आमा भनेका आमा नै हुन् । कवि तीर्थ श्रेष्ठले लेखेका छन्, “आमा हुन असजिलो छ । पहाडजस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने, मैदानमा पुगेर उकालो भइदिनुपर्ने ।” हाम्री आमाले पनि त्यस्तै समय भोग्नुप¥यो । चना चटपट र पानीपुरी बेचेरै हामीले देखेका असङ्ख्य सपना पुरा गर्ने उहाँको चाहना थियो । बुबाले सौता हालेर दिएको दुःख हाम्रा अघि लुकाएर उहाँ सधैँ हामीलाई सपना देखाउन सिकाउनुभयो । कहिले मैदान बन्नु हुन्थ्यो, कहिले उकालो चढ््नुहुन्थ्यो ।
२०७५ सालको साउन ११ गते मेरी आमाको निम्ति ठूलो बज्रपात बनेर खस्यो । त्यो दिन के भयो, म अहिले यहाँ लेख्न सक्दिनँ । किनभने, यो जिम्मा राज्यले लिएको छ । विडम्बना ! दुई वर्ष सात महिना बितिसकेर पनि सरकारले त्यो दिन ममाथि खास के भएको थियो, कसले त्यस्तो जघन्य अपराध गरेको थियो, मेलोमेसो पाउन सकेको छैन । कतिले त सरकारले नै त्यो अपराधीलाई लुकाइरहेको पनि भन्छन् । जानकारहरू मलाई बलात्कार गरेर हत्या गर्नेहरू सिंहदरबारका खोपीहरूमा लुकेर बसेका पनि भन्छन् । मेरो बलात्कार र हत्याको विषयमा धेरै थरी कथाहरू बुनिए । गाउँको एउटा सोझो मान्छेलाई फसाउन पनि खोजियो । धेरै कोणबाट समाचार लेखिए, अनेक कलमबाट टीकाटिप्पणीहरू भए । थरी थरी कुरा भए । तर, अहँ ! मेरा आँखाका सपनाहरूको हत्या गर्ने मान्छेलाई राज्यले चिन्न सकेन । ती अँध्यारा अनुहारलाई सिंहदरबारको उचाइले अझै देख्न सकेन । धान खेतको एउटा कुनामा मेरो साइकलजस्तै बेवारिसे छोडिए मेरा सपनाहरू ।
दिदी,
मेरो उमेर नै कति भएको थियो र ! भर्खर १३ । जीवनका धेरै पोथ्रा त मैले फुकाउन पनि थालेकी थिइनँ । आमाले भोग्नुभएका कठिन दिनहरूलाई साक्षी राखी उहाँका आँसु पुछ्ने सपना देखेकी थिएँ । बुबालाई कुनै दिन मेरी छोरी भनी गौरव गर्न बाध्य पार्ने विचार थियो । त्यसको लागि मसँग मिहिनेत गर्नुको विकल्प नै के थियो र ! हामीजस्ता गरिब परिवारमा जन्मेका छोरीहरूलाई आफूलाई कुनै पनि कामको लागि सक्षम भएको प्रमाणित गर्न कम गाह«ो छैन । अरूका सफलताका कथाहरू पढेर र सुनेर हामी पनि सफलताको सपना देख्ने गर्छौँ । सञ्चारमाध्यमहरूले हाम्रै वर्गका एकाध प्रतिनिधिहरू सफल भएको देखाएर आफ्नो व्यापार विस्तार गर्न मौका खोजिरहेका हुन्छन् । हामी त्यही एकाध प्रतिनिधिका सफलताप्रति सम्मोहित हुन्छौँ र सपनाका हजार उचाइ उक्लिने गर्छौैँ । तर, एकाध प्रतिनिधिका देखावटी सफलता र जीवनको वास्तविकताबीच निकै फराकिलो अन्तर हुनेरहेछ । यो वास्तविकता हामीलाई भनिदिने र जीवनका बाटामा आफ्नै पदचापले नाप्न सिकाउने अभिभावक नहुँदा हामी अनेक कुनाकाप्चातिर भौतारिन थाल्छौँ । जीवनका लक्ष्य पूरा गर्ने धुनमा हामी आशावादी आँखा बोकेर अनेक शिविरमा पुग्ने गर्छौँ । तर, हाम्रा त्यस्ता आशा भने कसैको लागि आसक्ति बनिदिनेरहेछ, दिदी ! अनि हामी दुराचारको शिकार बन्दा रहेछौँ ।
नेपाली समाजमा धेरै थरी परिवर्तन आएको भनिन्छ । कुनै बेला राणाहरू सिंहदरबारमा बसेर शासन गर्थे, राजाहरू हनुमानढोका र नारायणहिटीबाट राजदण्ड उजाउने गर्थे । २०४६ सालपछि बहुदलीय प्रजातन्त्र स्थापना भयो । देशमा प्रगतिशील र क्रान्तिकारी विचारको वकालत गरेर नथाक्ने राजनीतिक दलहरूले शासन चलाए । सिंहदरबारमा मन्त्री बस्ने कुर्सी पछाडिको भित्तामा किसानले हलो जोत्दै गरेको तस्वीर झुन्ड्याएर शासन गर्नेहरूले पनि देश चलाए । गणतन्त्र स्थापना भयो । राजा पनि इतिहासको आलमारीमा थन्किए । संसारभरका उत्कृष्ट विचार र व्यवस्थाबारे नेपालमा चर्चा भयो, बहस भयो । चुनावी सभाहरूमा नेताहरू त्यस्ता चिल्ला कुरा लिएर हाम्रै कञ्चनपुरमा पनि आए । हामी पनि साइकलको डण्डीमा पार्टीको झन्डा बाँधेर नेताहरूका सभा सुन्न खुब दौडियौँ । हाम्रो आफ्नो उमेर भोट हाल्ने नभए पनि अहिले सरकार चलाउने गरेका दलहरूकै उम्मेदवारलाई जिताउन हामी मरिमेट्यौँ जानी नजानी । आज ती सबै समय फर्केर हेर्दा देशमा पटक–पटक शासक परिवर्तन भए पनि नेपाली समाजको जरामा जड बनेर बसेको खोटो चिन्तनमा भने खास परिवर्तन आउन नसकेको अनुभव गर्दै छु ।
छोरी मान्छेलाई फेरि पनि कमजोर, पराधीन, यौनलिप्सा पूरा गर्ने र बच्चा जन्माउने यन्त्रको रूपमा मात्र सोच्ने चिन्तन अझै कायम रहेको देख्दै छु । छोरीलाई अझै पनि विभेदको आँखाले हेर्ने चिन्तन समाजको हरेक कुनामा कुनै न कुनै रूपमा बाँकी देख्दै छु । देखिने रूपमा छाउपडी प्रथामा यस्तो सोचाइ बाँचेकै छ भने अदृश्यरूपमा शिक्षित र सभ्य भनिएका दिमागमा पनि विभेदको कीरा अझै मरिसकेको छैन । तिनका दिमागलाई अब स्यानिटाइजमात्र गरेर पुग्ने अवस्था रहेन दिदी । बरु, भकभक उम्लेको तातो पानीमा तिनका दिमाग स्टेरेलाइज नै गर्नुपर्ने देख्छु ।
छोरी जन्मेपछि चुकचुकाउने समाजमात्र होइन, छोरी जन्मेपछि ‘सहानुभूति’ देखाउने पढेलेखेका मानिसहरू पनि हामीले भोग्नुपरेको खराब मनस्थितिको कारक हो ।
विद्यालयको शिक्षकदेखि टोलछिमेकका आफन्तसम्म जताततै छोरीप्रतिको परम्परागत सोचकै परिणाम हिजो म पशुजस्तै मारिएँ भने आज तिमीले पनि त्यही नियति भोग्न बाध्य भएकी छौ । हो, हामी मारियांँ र धेरै चर्चा भयो । तर, समाजमा हामीजस्ता असङ्ख्य त्यस्ता निर्मला र भागरथीहरू पनि छन्, जो मारिएका छैनन् तर बाँचेका पनि छैनन् । उनीहरू स्मृतिदंशले आहत भएर हरेक दिन मरेर बाँचिरहेका छन् । कति एसिडले अनुहारमा कहिल्यै नमेटिने दाग बोकेर बाँचेका छन् । अनि कति मनभित्र कहिल्यै नपुरिने घाउ बोकेर ।
पहिले पहिले हामीजस्ता छोरीहरूमाथिको हमला सिङ्गो समाजले देख्ने खालको थियो । शरीरमा लागेका निलदाम, सुकेका रगतका धारा आदि सबैले देख्थे हिजोका यातना । तर, आजभोलि तिमी–हामीजस्ता धेरै छोरी नदेखिने यातना भोगिरहेका छन् । सामाजिक सञ्जालका संवाद टोकरीहरूमा उनीहरू त्यस्ता यातना भोग्न बाध्य छन् । फोन र मोबाइल, इन्टरनेट आदि हिजोआज यातनाका नयाँ माध्यम बनेका छन् । यातना–जसको भौतिक शरीरमा कुनै निलदाम देखिंदैन । तर, अन्तरहृदयमा लागेको चोट भने कहिल्यै पनि निको नहुने खालका हुन्छन् ।
दिदी,
तिम्री आमा र मेरी आमाको कथा पक्कै एउटै होइन । तर, दुवै आमाहरूको भोगाइ उस्तै लाग्छ मलाई । मेरी आमाको पति जीवित छन् । तर, उनको जीवनमा पति हुनु र नहुनुबीच त्यत्ति ठूलो अन्तर छैन । सानीआमासँग बुबा धेरै टाढा बसेका छन् । दिदी, तिम्री आमाले केही महिनाअघि पति गुमाइन् । पति वियोगमा बसेकी आमाले छोरीको पनि यस्तो दुःखान्त देख्नुपर्दा कस्तो गहिरो आघात भयो होला ! के गर्नु आमा भएपछि सबै आँसु आगो निलेजस्तै निल्नुपर्नेरहेछ ।
मलाई धान खेतमा मारेर फाल्ने अपराधीलाई सरकारले चिन्न नसकेजस्तै यतिबेला तिमीमाथि निर्मम बलात्कार र हत्या गर्ने अपराधीहरूलाई प्रहरीले हतकडी लगाउन सकेका छैनन् । प्रधानमन्त्री ओली बा (उहाँ बा भनेको असाध्यै मनपराउनुुहुन्छ रे !) ले हाम्रा हत्याराहरूलाई ‘पानीमुनि गए पनि नछोड्ने’ भनेका छन् । तर, घटनाक्रमले पानी बाहिरै भएर पनि ती आततायीहरूलाई कारबाही गर्न सकिएको छैन । सरकारी संयन्त्र किन यति कमजोर निरीह छ ! आफ्नो देशकी छोरीहरूको इज्जत र ज्यान पनि जोगाउन नसक्ने र बलात्कृत छोरीहरूका आँसु पुछ्न नसक्ने सरकारबाट समाजले के ठूलो अपेक्षा गर्न सकिएला र ?
पञ्चायतकालमा नमिता र सुमिता दिदीहरूले पनि हाम्रो नियति भोग्नुपरेको थियो रे ! देशमा गणतन्त्र स्थापना भयो । ‘आमूल परिवर्तन’ भएको भनियो । तर, फेरि पनि नयाँ नयाँ नमिता र सुमिताहरूको किन ‘जन्म’ भइरहेको छ ? किन निर्मला र भागरथीहरूका आँखाभरिका सपना मारिँदै छ । किन एसिडले अनुहार जलाउन बाध्य छन्–मुस्कान खातुनहरू । अनि किन समाजमा हरेक दिनजसो घटिरहन्छन् अनुहार नभएका छोरीहरूमाथि कालो अनुहारहरूको बलात्कार र उत्पीडन !
भागरथी दिदी,
मेरो उमेरले सायद यी सबै प्रश्नहरूका उत्तर निकाल्न सक्दैन । समाजका धेरै अन्तरकुन्तर र जरासँग यी कुराहरू अन्योन्यास्रित रूपमा जेलिएको हुँदो हो । तर, एउटै कुरा मेरो सोझो र कलिलो दिमागलाई पनि थाहा छ, यो कदापि पनि कुनै सभ्य समाजमा हुने घटना होइन । सभ्य समाजमा यस्ता आततायी घटनाको कल्पना पनि गर्न सकिन्न । नेपाली समाजमा धेरै थरी परिवर्तनहरू भए पनि सांस्कृतिक परिवर्तन भने निकै धिमा भएको यो एउटा प्रस्ट उदाहरण हो । हाम्रो रगत र आँसुले नेपाली समाजमा भएको भनिएको परिवर्तनलाई सधैँ गिज्याइरहेको म देख्छु ।
मेरो आँसु र रगतमा आज तिम्रो आँसु र रगत पनि मिसिएको छ । हेरौँ, हाम्रो आँसु र रगतले नेपाली समाजलाई कतिको पोल्दोरहेछ ? नेपाली समाज मेरो र तिम्रो चित्कारलाई कति संवदेनशील भएर सोच्छ, हेर्दै जाऔँ दिदी । नेपाली समाज अघिको बाटो हिँड्दै छ वा यथास्थितिमै छ अथवा उल्टो यात्रा गर्दै छ भन्ने कुराको निक्र्योल तिम्रो र मेरो आँसु र रगतप्रतिको संवदेनशीलताले नाप्नेछ ।
बहिनी निर्मला
Leave a Reply