भर्खरै :

नागरिक आन्दोलन किन यस्तो ?

नागरिक समाज भनेको व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नागरिकहरूको हक हितको लागि लड्ने संस्था हो भनेर मैले पढेको थिएँ । यो समूहले आफ्नो व्यक्तिगत हितभन्दा माथि उठेर काम गर्छ । कुनै पनि पार्टीको सदस्य नभएका व्यक्तिहरू यसका सदस्य हुन्छन् भनेर पढेको थिएँ । तर, नेपालको नागरिक समाजमा त एकातिर पार्टीको सदस्य र अर्कोतिर नागरिक समाजको सदस्य भएर सडकमा नारा लगाइएको छ । नागरिक समाज परिमार्जन भएर यस्तो भएको हो की ? मेरो मस्तिष्कले छुट्याउन सकिरहेको छैन ।
नागरिक समाजको आन्दोलनले नागरिक हक हितको निम्ति काम गर्ने भए बन्दाबन्दीको बेला बच्चाबच्ची र झोला झम्टी बोकेर तातो घाममा बिनाचप्पल कालोपत्रे सडकमा बाटो तताएका ती निमुख नागरिक हिँडेको किन देखेन ?
नागरिक समाज कुनै पनि सङ्घ संस्थाको डोनरबाट चल्दैन भनेर सुनेको थिएँ । अनि नागरिक आन्दोलनमा सहभागी हुने मुख्य–मुख्य व्यक्तिहरूलाई मासुभात खुवाउने पैसा कहाँबाट आउँछ ? तिनीहरू व्यक्तिगत पैसा खर्च गर्छन् भन्ने सोचेको थिएँ । तर, नागरिक आन्दोलनमा सहभागी हुने साथीहरूलाई सोध्दा व्यक्तिगत खर्च कहाँ गर्नु भनेर जवाफ आयो । साँच्चै यो पैसा कहाँबाट आउँछ ? स्रोत कहाँ छ ?
फागुन ३ गते शिक्षामा प्रतिगमनविरुद्ध टी.यु. मा मार्च भएको थियो । यो मार्चमा सहभागी हुँदा मेरो मनमा अनेक प्रश्न खेलिरहेको थियो । यो नागरिक आन्दोलनले पुस ४ पछि मात्र हरेक कुरामा प्रतिगमन देखिरहेको छ । त्योभन्दा अगाडि किन देखेन ? कहिले कमलपोखरीमा प्रतिगमन भएको देख्छ त ? कहिले विश्वविद्यालयमा मार्चमा । सहभागी साथीहरूले विभिन्न नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
तेरो पढाइले के ग¥यो ? बा–आमा सधैँ सोध्नुहुन्छ ।
शैक्षिक प्रतिगमनविरुद्ध एक हौँ ।
शिक्षा व्यापार होइन, नाफा घाटा बन्द गर ।
शैक्षिक संस्थामा दलीयकरण बन्द गर । आदि
युवालाई जसरी दसवर्षे युद्धमा प्रयोग गरियो, झूटा सपना देखाइयो, नागरिक आन्दोलनमा पनि त्यसरी नै प्रयोग गरिँदै छ । कुनै व्यक्ति नागरिक आन्दोलनलाई भ¥याङ बनाएर आफू सत्ताको स्वाद चाख्न लालयित देखिन्छ ।
के पुस ४ भन्दा पहिले शिक्षामा प्रतिगमन भएको थिएन ? शिक्षालाई व्यापार बनाइएको थिएन ? शैक्षिक संस्थामा दलीयकरण भएको थिएन ?
विश्वविद्यालयको होस्टेललाई आफ्नो अड्डा बनाउने, स्ववियु चुनाव जित्न हतियार बनाउने त्यही भीडले अहिले आएर विश्वविद्यालयमा दलीय भागबन्डा देख्छ ।
शैक्षिक संस्थामा दलीयकरण गर्ने, भाग लगाउने र भाग थाप्न जाने पनि नागरिक आन्दोलनमा सहभागी युवाका आदर्श नेता नै थिए । त्यसबेला किन आवाज उठेन र अहिले किन उठिरहेको छ ?
विश्वविद्यालयलाई जिउँदो लास बनाउने यिनैका आदर्श नेता नै थिए । अनि किन नागरिक आन्दोलनको नाटक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *