भर्खरै :

कोभिड खोपमा असमानता

न्यु योर्क, १८ फेब्रुअरी । संयुक्त राष्ट्र सङ्घका प्रमुखले कोभिड–१९ खोपको वितरण ‘निकै असमान र अन्यायपूर्ण’ भएको भन्दै तीखो आलोचना गरेका छन् । उनले संसारमा उत्पादन भएको कुल खोपमध्ये ७५ प्रतिशत खोप दस वटा देशको हातमा रहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।
बुधबार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकमा बोल्ने क्रममा राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले आजसम्म संसारका १३० देशमा एक डोज खोप पनि प्राप्त नगरेको जानकारी दिए ।
“यो गम्भीर समयमा विश्व समुदायसामु खोप समता सबभन्दा ठूलो नैतिक परीक्षा बनेको छ”, उनले भने ।
गुटरेजले न्यायपूर्ण खोप वितरण सुनिश्चित गर्न सामथ्र्य भएका वैज्ञानिक, खोप उत्पादक र आर्थिक चन्दा दिन सक्ने सबै पक्षलाई एक ठाउँमा ल्याएर विश्व खोप योजना बनाउन हतार भएको बताए । उनले त्यस्तो योजनाको मूल लक्ष्य हरेक देशमा सकेसम्म चाँडो खोप अभियान सञ्चालन गर्नु हुने बताए ।
महासचिवले संसारका नेतृत्वदायी अर्थतन्त्रहरू सम्मिलित २० देशको समूह (जी २०) लाई ‘औषधि कम्पनी र अन्य प्रमुख उद्योग र बन्दोबस्तका उत्पादकलाई एकै ठाउँमा ल्याउन’ आकस्मिक कार्यदल बनाउनुपर्नेमा जोड दिए ।
शुक्रबार जी ७ को बैठकमा उनले आवश्यक आर्थिक स्रोत परिचालनमा गति दिन भूमिका खेल्न आग्रह गरेका थिए ।
कूटनीतिक पत्रकार जेम्स बेय्सले खोपको असमान वितरणको कारण महामारीविरुद्धको लडाइँ भविष्यको लागि सम्भावित समस्या हुने भएकोले त्यसबारे बृहत् सहमतिको खाँचो रहेको बताए ।
“धनी देशहरू आफ्ना जनतालाई खोप लगाइरहेका छन् । तर, संसारका अधिकांश देशले अझै आफ्ना जनतालाई खोप लगाउन सकिरहेका छैनन् । संसारको कुनै न कुनै भागमा कोभिड–१९ बाँकी रहेसम्म हामीले कदापि यो महामारीलाई रोक्न सक्दैनौं । न त हामीले भाइरसको रूप परिवर्तनलाई नै रोक्न सक्छौँ । त्यस्तो अवस्थाले त खोेप उत्पादन नै पनि निरर्थक हुनसक्छ”, उनले भने ।
“३२ देशमा हालसम्म कोभिड–१९ को १ प्रतिशतभन्दा कम खोप पुगेको छ । ती देशहरूले आज सबभन्दा गम्भीर मानवीय सङ्कट सामना गरिरहेका छन्”, बेय्सले भने ।
यसैबीच बेलायतका विदेशमन्त्री डोमिनिक रबले संसारभरका द्वन्द्वग्रस्त क्षेत्रमा कोभिड–१९ को खोप आपूर्ति गर्न युद्धविरामको प्रस्ताव पारित गर्न संयुक्त राष्ट्र सङ्घका सबै प्रभावशाली देशहरूलाई आग्रह गरेका छन् । यसै महिनाबाट सुरक्षा परिषद्को अध्यक्षता गरेको बेलायतका प्रतिनिधिले द्वन्द्व र राजनीतिक अस्थिरताको दलदलमा फसेका देशहरूमा बाँचेका १६ करोड जनता कोभिड–१९ को खोपबाट वञ्चित हुनसक्ने सम्भावना रहेको बताए । त्यसरी द्वन्द्वमा परेका देशहरूमा यमन, सिरिया, दक्षिण सुडान, सोमालिया र इथियोपिया पनि छन् ।
सन् २००१ मा युद्धग्रस्त अफगानिस्तानमा पाँच वर्षमुनिका बालबालिकालाई पोलियोको खोप खुवाउन दुई दिनको युद्धविराम गरिएको थियो । त्यत्तिबेला ३५ हजार स्वास्थ्यकर्मीहरूले ५७ लाख बालबालिकालाई पोलियो खोप खुवाइएको थियो ।
मङ्गलबार मेक्सिकोका विदेशमन्त्री मार्सिलो इबरार्डले खोप उत्पादक देशमा खोप लगाउनेको दर बढी भएको तर ल्याटिन अमेरिकामा पनि खोप पाउन धौधौ भइरहेको भनी खेद प्रकट गरे ।
संसारकै सबभन्दा विपन्न जनताको लागि कोभिड–१९ को खोप किन्न र आपूर्ति गर्ने विश्व स्वास्थ्य सङ्गठनको महत्वाकाङ्क्षी कोभ्याक्स कार्यक्रम धनी देशहरूले मात्र खोप प्रयोग गरेको हुनाले गरिब देशलाई खोप दिने वाचा पूरा गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *