भर्खरै :

इरानबारे कुरा गर्न युरोप र अमेरिकी कूटनीतिज्ञ सहमत

पेरिस, ६ फागुन (एएफपी) । युरोपेली मुलुक र संयुक्तराज्य अमेरिकाका वरिष्ट कुटनीतिज्ञहरू इरान मामिलाका विषयमा बिहीबार छलफल गर्न सहमत भएका छन् । यो छलफल खासगरी इरानसँग भएको सन् २०१५ को आणविक सम्झौताका विषयमा केन्द्रित हुनेछ ।
फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स लि ड्रायनले जर्मन र बेलायती समकक्षीसँग पेरिसमा भेट्दै छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले भिडियो कन्फरेन्सबाट सहभागिता जनाउने छन् ।
जर्मन चान्सलर एन्जेला मर्केलले इरानी राष्ट्रपति हस्सन रौहानीसँग टेलिफोनमा कुरा गरी इरानले आफ्ना प्रतिबद्धता पूरा गर्नेतर्फ विशेष चासो राख्नु भएको मर्केलका प्रवक्ताले बताएका छन् ।
विज्ञहरूले पश्चिमा मुलुक र इरानबीच सन् २०१५ मा सम्पन्न आणविक सम्झौतालाई बचाउन निकै कठिन रहेको बताएका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौता बमोजिम इरान प्रतिबद्ध नरहेको आरोप लगाउँदै उक्त सम्झौताबाट अमेरिका सन् २०१८ मा बाहिरिएको घोषणा गरेका थिए ।
तर, राष्ट्रपति जो बाइडेन प्रशानसले उक्त आणविक सम्झौतामा पुनः प्रवेश गर्नेगरी तयारी गरेको जनाएको छ । तर, इरानले आणविक कार्यक्रम स्थगित गरेमा इरानमाथि लागेका प्रतिबन्धहरू अमेरिकाले फुकुवा गर्ने पनि बताएको छ ।
आगामी फेबु्रअरी २१ भित्र अमेरिकाले प्रतिबन्धहरू फुकुवा नगरे संयुक्त राष्ट्रसङ्घीय अनुगमनकर्तालाई इरानी आणविक कार्यक्रमको निरीक्षण गर्न नदिइने धम्की दिएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा सङ्घ (आइएइए) का प्रमुख राफेल ग्रस्सी आणविक केन्द्रहरूको निरीक्षणलाई निरन्तरता दिने उद्देश्यले इरानी अधिकारीहरूसँग वार्ताका लागि शनिबार तेहरान जाने छन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले इरानले आइएइएलाई पूर्ण सहयोग गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *