भर्खरै :

पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर

भक्तपुर, ६ फागुन । भक्तपुर नपा वडा नं. ६ को आयोजनामा बिहीबार पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर भयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा गठित शिक्षा, स्वास्थ्य तथा संस्कृति समितिले नगर र नगरबासीहरूको शिक्षा, स्वास्थ्य तथा कला संस्कृति संरक्षणमा विशेष जोड दिंदै आइरहेको बताउँदै नपाले नगरका सबै वडाहरूमा घरदैलो सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले सबै वडाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरी नगरबासीहरू स्वास्थ्य स्थितिबारे तथ्याङ्क सङ्कलनमा मद्दत पुगेको बताउँदै उहाँले स्वस्थ खानपान र जीवनशैलीले नसर्ने रोगको जोखिम घटाउने बताउनुभयो ।
भक्तपुर नगरलाई सफा र सुरक्षित नगरको रूपमा विकसित गर्न नगरबासीहरू नै सचेत हुनुपर्ने औँल्याउँदै प्रमुख प्रजापतिले नागरिक भावनाले व्यक्तिमा स्वार्थ मानसिकताबाट टाढा राख्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाको विकास निर्माणका गतिविधिहरूबारे अवगत गराउँदै भक्तपुर नपाले प्रदान गरिरहेको शैक्षिक ऋणका कारण विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्न समर्थ भएको बताउनुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवालले बढ्लिँदो समयसँगै नसर्ने रोगको जोखिम बढिरहेको बताउँदै महिलाहरू पाठेघर तथा स्तन क्यानसर बाट पीडित बनिरहेको समयमा भक्तपुर नपाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट धेरै महिलाहरू लाभान्वित भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडा सदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवाल, शिक्षक गणेशराम थुसा र वडा नर्स रुसा बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *