भर्खरै :

“कर्नाली” लाई एक थुङ्गा चिठी

प्रिय सहपाठी,
तिमी देशैभरि छौँ। मैले यसैगरी तिमीलाई बुझ्दै आएको छु । तर, नजिकको मात्र देख्नु तिम्रो मोह हो वा बाध्यता, म बुझ्न सक्दिन । पहिचानवरिपरि झुम्मिनु तिम्रो उन्मुक्ति हो वा बन्धन, म सोचिरहेको हुन्छु ।
आजभोलि तिमी आफ्नो पहिचानको कथा लेख्दैछौ भन्ने सुनेको छु । कथा लेख्नु नराम्रो होइन, तर कथा मात्र लेखिरहनुलाई राम्रो मान्न सकिन्न । कहिलेकाहीँ यो उपक्रम एक आत्मरति, एक विलासमा टुङ्गिने गर्छ । तिमी के गरिरहेका छौ, इन्टरनेटको दुनियाँबाट टाढा अनकन्टारमा बसिरहेको मजस्तो पात्रलाई धेरै कुरा थाहा हुँदैन पनि । हालसालै एउटा पत्रिका हात लाग्यो । तिमी र हाम्रो पाठशालामा पढेका तिम्रा केही सहधर्मीले कलमलाई आफ्नो हतियार बनाएछौ । खुसी लाग्यो । तिम्रो लेखनकारिता हाम्रै पाठशालाबाट सुरु भएको थियो । मेरा सहपाठीहरूले ठूलो ब्यानरतल लेखेछन् भनी स्टेसनरीको दाईलाई सुनाउँदा म फुलेल भएको थिएँ । घर आएर हाम्रो ‘कर्नाली’ को हाल पढ्दै गर्दा भने नमज्जा लाग्यो । तिमीले हाम्रो पाठशालामाथि बज्र प्रहार गरेका रहेछौ जहाँ अझै पनि योग्य विद्यार्थीहरू तयार गर्ने सिसिफसकर्म जारी छ ।
पाठशालाको अनुशासन (शासन होइन) भङ्ग गरेका केही विद्यार्थीले अहिले ठाउँ पायो कि पूर्वपाठशालाबारे आफ्नो खसखस पोखिहाल्छन् । उनीहरू हाम्रो पाठशालाले ‘केपी बा’ लाई काखी च्यापेको छ भन्दै बजारु हल्लामा होमा हो मिलाइरहेका छन् । हाम्रो पाठशालाको शिलालेख ‘खोटा विचारहरूको खण्डन’ पढेको र हाम्रो ऐतिहासिकतासँग परिचित जोसुकैलाई थाहा छ, हाम्रो स्वार्थ क्षुद्र होइन । फेरि हाम्रो वर्गलाई जागरुक बनाउने हाम्रो पाठशालाको ध्याउन्न हुन्छ । पाठशालाले राजनीतिक निर्णय दिने हो, संवैधानिक निर्णय सुनाउने काम यो व्यवस्था टिकाउने अदालतको हो । होहल्ला गर्नेहरू देख्दा भन्न मन लाग्छ, लाज पचेपछि कसको पो के लाग्छ ? बरु हाम्रो पाठशालामा विद्यार्थी नै नरहेका केही इमानदार देशवासीले हाम्रो निर्णयको सापेक्षिक सटिकताबारे चर्चा गरिरहेका छन् । यस मामिलामा तिम्रो विचारबारे म अवगत छैन । अहिलेलाई तिम्रो आलेखमा छापिएको पाठशालाको समीक्षाबारे लेख्ने सानो प्रयास मात्र गरेको छु ।
तिमीले आफू ‘पत्रकारितामा लाग्नुभन्दा पहिला राजनीतिमा थिएँ’ भनी लेखेछौ । हाम्रो पाठशाला यस मानेमा असफल भएछ भन्ने लागेको छ । कोही पनि राजनीतिबाट अछुतो हुँदैन । वर्गीय समाजमा बीचको बाटो हुँदैन । तिमीले अहिले राजनीतिमा छैन भन्नु अनेरास्ववियुको ‘स्वतन्त्र’ शब्द जस्तै हो । यसबारे हाम्रो पाठशालामा नपढाइएको पनि होइन । तर, पहिचानको पट्टी बाँधेपछि धेरै कुरा धुमिल हुन्छन् क्यारे । सुन्दा नमीठो लागे पनि मैले भन्नैपर्छ, कतै पत्रकारिताले तिमीलाई ‘कर्नाली’ को ऐना मात्र त बनाएन ? हाय, तिमीलाई उज्ज्वल दियालो बनाउने हाम्रो पाठशालाको ध्येय थियो !
तिमीले राजनीतिमा छँदा आफूहरूले ‘वार्षिक र मासिक प्रकाशन गरेको, पार्टीको सिद्धान्त र व्यवहारमाथि प्रश्न गरेको, त्यसकारण प्रकाशन सधैँलाई बन्द भएको र राजनीतिक यात्रा किनारा लागेको’ लेखेछौ । मजबुन मीठो छ । जानेर वा नजानेर सत्यको अर्को पाटो तिमीले स्वाभिमानजन्य ‘हामी’ शब्दमा विलिन गराएका छौँ । पार्टी साहित्य व्यक्तिको नभई सङ्गठनको सम्पत्ति हुने गर्छ । त्यसमा प्रत्यक्ष वा परोक्ष साङ्गठनिक उत्साह र ऊर्जाले काम गरिरहेको हुन्छ । त्यसैले सामूहिकताबाट तिमीले जुन ‘हामी’ बाहिर निकालेका छौ, त्यसमा कतै आत्मवञ्चनाको गन्ध त छैन ? सामूहिक जमर्काहरूमा लागेको व्यक्तिले सोच्नुपर्ने कुरा ¤ स्वाभिमान आवश्यकताभन्दा बढी भएपछि घमण्ड कहलिन्छ ¤ घमण्ड हाम्रो लामो हिँडाइमा तगारो मात्र बन्नेछ । अब जाऔँ तिमीले उठान गरेका विषयहरूमा । पहिले प्रकाशनबारे । प्रकाशन तिमीभन्दा पहिले पनि हाम्रो पाठशालाको चिनारी थियो । तिमीपछि पनि प्रकाशनहरू ठप्प भएका छैनन् । लकडाउनबीच पनि अध्ययन अध्यापनको संस्कृति चालु रह्यो । बाँकी, तिमीले नाम लिएका प्रकाशनहरू कालान्तरमा प्रकाशित हुने सम्भावनालाई नकार्न सकिन्न । ज्ञानको भोक तिमीले भनेको ‘हामी’ मा मात्र सीमित नरहला । ज्ञान मानव सभ्यताको सम्पत्ति भएको कुरा हाम्रो पाठशालाका हेडसर आदरणीय नारायणमान बिजुक्छेँले पटकपटक सम्झाउने गर्नुहुन्छ ।
पार्टीको सिद्धान्त र व्यवहारमाथिको प्रश्नबारे । हाम्रो पाठशाला जुन मजबुत सैद्धान्तिक आधारमा बनेको छ, त्यसलाई हरदम पालन गरिरहेको छ । हाम्रा योजना र सम्पूर्ण प्रयासहरू यही जगमा आधारित छन् । सिद्धान्तमा खेँलाची गर्नु हिउँमा चिप्लेटी खेल्नुसरह हो, हाम्रा शिक्षकहरू भनिरहनुहुन्छ । पार्टी इतिहासले त्यसलाई पुष्टि समेत गरेको छ । तिमीले कुन सिद्धान्त र व्यवहारको कुरा ग¥यौ, तिमीलाई नै थाहा होला । फेरि कुरा खोलेपछि आलेखले ठूलो ब्यानर नपाउने तिमीलाई हेक्का भएको हुनुपर्छ । पाठशालामा केही व्यक्तिको व्यवहारको कुरा आउन सक्ला, म अनुमान गर्छु । तर, व्यक्तिविशेष नै पाठशाला हुँदैन । व्यक्तिविशेष नै पाठशालाको सिद्धान्त र व्यवहार हुँदैन । एकजना शिक्षकले हालै भनेको कुरा घत लाग्यो । ‘बुद्धिजीवी’ ले प्रचण्डलाई हेरेर ‘कम्युनिस्ट भनेको यस्ता घिनलाग्दा हुनेरहेछन्’ भन्ने होइन, बरु ‘कम्युनिस्ट सिद्धान्तभन्दा प्रचण्ड यति विचलित भए’ भनी मूल्याङ्कन गर्ने हो । त्यसैले फलानो यस्तो भनेर भाग्ने ठाउँ छैन ।
तिम्रो अर्को कथन अलि भ्रामक छ । तिमीले लेखेछौ, ‘वर्ग सङ्घर्ष र जातीय मुक्ति फरक विषय हुन् भन्ने ह्याङओभरले समाजको पिँधमा रहेका दलितहरूका कथा छुटिरहे ।’ ह्याङओभर वा धङधङी विगतको हुन्छ । त्यसैले तिमीले वर्गसङ्घर्ष र जातीय मुक्तिलाई हाम्रो पाठशालाले फरक विषय हुन् भनी सिकाएको भान पार्न खोजेका छौ । तिमी जत्तिको पढैयाले पाठशालामा बसेर यस्तो भ्रम लिएर जानु अज्ञानता हुनसक्दैन । सोद्देश्य यसो लेखेका हौ भने तिमीले सर्वसाधारणको आँखामा पाठशालाबारे धुलो छर्दै छौ । यसलाई असल नियत भन्न मिल्दैन । हाम्रो पाठशाला अझै पनि त्यस्तो पाठशाला हो जहाँका अधिकतर विद्यार्थी दलित जातिबाट आएका हुन् र आफूलाई नेता, कार्यकर्ता, प्रशासक र बौद्धिकको रूपमा दीक्षित गरिरहेका छन् । नेपाली समाजमा उत्पीडित जात नै दलित वर्ग पनि हो । त्यसैले हाम्रो पाठशाला देशका उत्पीडित जातिहरूबीच बढी सक्रिय रह्यो र रहनेछ ।
हाम्रो पाठशालामा छँदा ‘दलितका कथा छुटेको’ मा तिम्रो दुखेसो रहेछ । त्यसो त पत्रिकामा अन्य सहपाठीका ‘कथा’ पनि छापिएका छन् । यी र यस्ता कथाहरू क्याबात् भन्नलाई मात्र हुन् भने अर्कै कुरा हो, तर गम्भीर हुन् भने गम्भीर समस्याहरू देशैभरि छन् । काठमाडाँै उपत्यकाभन्दा केही माइल वरपर आएपछि नेपालमा ‘कर्नाली’ हरू सुरु हुन्छन् । हेपिएका र चेपिएकाहरूको ‘दर्दनाक कथा’ यत्रतत्र छरिएका छन् । तिनलाई कथा मात्र बनाउने हो वा तिनको उपचार गर्न व्यवस्थितरूपमा क्रान्तिको तयारी गर्ने हो ? मूल प्रश्न यत्ति हो । क्रान्तिबारे तिमीले आफ्नो आलेखमा लेख्न मिलेन पनि ।
साथी, तिमीमा क्रान्तिप्रतिको मोह हराएको छ भनी यो मन मान्दैन । हुन त क्रान्तिजस्तै सुनिने केही शब्दहरू पत्रिकाको यो अङ्क भर्ने केही लेखकका लेखहरूमा आएका छन् । तर, पूर्वशासकहरूको सम्पत्ति र लुटपाटमा जबसम्म भोटे ताल्चा ठोकिन्न र त्यसलाई सार्वजनिक सम्पत्ति बनाइन्न, त्यसबेलासम्म क्रान्ति हुँदैन भनी हाम्रो पाठशालाले धेरै अघि सिकाइसकेको थियो । प्रेमको अधिकार, समान व्यवहारको अधिकार वा ‘पहिचान’ सँग जोडिएका यस्तै अन्य अधिकारहरू व्यक्तित्व विकासमा समान अवसर लागू भएपछि, महिला–पुरुष आर्थिकरूपमा सुरक्षित बनेपछि र समाजको बुद्धिजीवीकरण भएपछि मात्र ठूलो मात्रामा उपलब्ध हुनेछन् । तबसम्म यी अधिकार राष्ट्र बैङ्कको नोटमा खरिदबिक्री हुनेछन् । दाम हुनेले किन्लान्, नहुनेले ? कागलाई बेला पाक्यो हर्ष न विस्मात् ¤ मलाई विश्वास छ, तिमीले यी पाठ भुलेका छैनौ ।
बाटो लामो र कठिन छ, तर छिचोल्न असम्भव छैन । एकएक पाइला चाल्दै हामी त्यहाँ पुग्नेछौँ । तिमी अहिले पाठशालाबाहिर देखिन्छौ । सम्झाइदिएको मात्र हुँ, अन्यथा नलिनू । तिमीलाई बराल्ने बुद्धि र घटनामाथि विजयी हुन सक्नू ! यही कामनासहित शब्दको यो थुँगे चिठी यही समेट्छु ।
तिम्रो शुभचिन्तक,
विस्मृत विद्यार्थी ।

One response to ““कर्नाली” लाई एक थुङ्गा चिठी”

  1. bindu hamal says:

    Beautiful !

Leave a Reply

Your email address will not be published. Required fields are marked *