भर्खरै :

उदाहरणीय ख्वपलाई शुभकामना !

देशभरका स्थानीय सरकारमध्ये भक्तपुर नगरपालिका लामो समयदेखि पृथक कार्य गरेर देशकै लागि उदाहरण बन्दै आएको छ । भक्तपुर नपाका यस्ता अनुकरणीय गतिविधिको कारण देशभरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू भक्तपुर आउने क्रम चालू छ । उनीहरू भक्तपुर आउँछन्, यहाँ नपाले गरिरहेका काम अवलोकन गर्छन् र आफ्नो ठाउँमा के कसरी ती काम गर्न सकिएला भनी गुन्ने गरेका छन् । यो होइन कि भक्तपुर नपाले सबै काम गरिसकेको छ अथवा पूर्णताका साथ गरेको छ । अनि गरिएका काममा पनि सुधारका ठाउँ धेरै छन् । तर, भक्तपुर नपाले बालेको यो प्रकाशको उज्यालो भने विगत दुई दशकदेखि लगातार देशभर पुगिरहेको छ ।
भक्तपुर नपाका निर्वाचित जनप्रतिनिधिहरूले अन्य धेरै क्षेत्रजस्तै जोड दिएको क्षेत्र हो–शिक्षा । शिक्षाले कुनै पनि समाजलाई सभ्य र सुसंस्कृत बनाउने हो । समाजका केही सीमित मानिस पढेलेखेका हुँदैमा समाज अघि बढ्ने होइन । बरू त्यस्तो समाजमा विभेदको खाडल अझ फराकिलो हुन्छ । त्यसकारण सिङ्गो समाज नै शिक्षित भएमात्र समाजको गुणात्मक परिवर्तन सम्भव हुन्छ । यो मर्म बुझेको भक्तपुर नपाका जनप्रतिनिधिहरूले सिङ्गो समाजलाई नै शिक्षित र बौद्धिक बनाउने ध्येयले आजभन्दा दुई दशकअघि विभिन्न शैक्षिक संस्थाहरू स्थापना गरेका थिए ।
शुक्रबार ती संस्थाहरूमध्ये ख्वप माविले २१ औँ, ख्वप कलेजले १९ औँ र शारदा क्याम्पसले ३० औँ स्थापना दिवस मनाएको छ । आज तीन शैक्षिक संस्थाहरूमा ४५ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । ती विद्यार्थीहरू देशका ६८ जिल्लाका छन् । तीसभन्दा बढी जिल्लाका शिक्षक–शिक्षिकाहरूले पढाइरहेका छन् । ती शैक्षिक संस्थाबाट तयार भएका विद्यार्थीले देशका विभिन्न क्षेत्रमा योगदान गरिरहेका छन् । शिक्षामा सङ्ख्याभन्दा बढी महत्व गुणको हुने गर्छ । भक्तपुर नपाले सञ्चालन गरिरहेका यी शैक्षिक संस्थाहरूले गुणस्तरीय शिक्षालाई पनि उत्तिकै महत्व दिइरहेका छन् । यो सुखद् पक्ष हो ।
समाज परिवर्तनको यो अभियान एकै छिमलमा सकिने विषय पक्कै होइन । शिक्षा क्षेत्र स्वयम् आराधनाको क्षेत्र हो । देशमै उदाहरण बनेका यी संस्थाहरूले अझ गुनिलो ढङ्गले देशको सेवा गरिरहून्, शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *