भर्खरै :

अस्थिर राजनीतिले देशको गति नलिने

अस्थिर राजनीतिले देशको गति लिँदैन । सरकारको नेतृत्व छिनछिनमा फेरिरहँदा सरकार या सत्तारूढ दल भागबन्डामा अल्झिएर देश अनिर्णयको बन्दी बनेको विगतको अनुभव हो । प्रतिनिधिसभा पुनस्र्थापनापछि दाहाल–नेपाल समूहका नेताहरू सत्ता समीकरणको निम्ति दौडधूप गर्ने क्रममा अभिव्यक्त विचार बुझ्दा परिवर्तित राजनीतिक परिवर्तनसँगै अस्थिर राजनीति निम्तिने स्थिति देखिँदै छ । नेपाली काङ्ग्रेस तत्काल सत्तामा सामेल नहुने सोचमा छ । जनता समाजवादी पार्टी दाहाल–नेपाल पक्षधर नेकपालाई तपाईंहरूको कुन पार्टी हो भन्दै सोध्दै छ ।
व्यवहारतः नेकपा विभाजित भए पनि कानुनतः नेकपा एउटै छ । नेकपा फेरि नाटकीयरूपमा मिल्न सक्ने सम्भावना भएको हुँदा सत्ताको खेलमा नेका त्यति सजिलै हामफाल्ने स्थिति देखिँदैन । केपी ओलीलाई सत्ताच्युत गराएर जसरी भए पनि नयाँ सरकार गठन गर्ने दाहाल–नेपालको पूर्वाभ्यास भइरहेको बेला सत्ता समीकरण या संयुक्त सरकारको नाममा सरकारमा सामेल हुने दलले कुनै पनि आफ्नो दलगत र व्यक्तिगत माग या सर्त तेस्र्याउन सक्छ । सत्ता समीकरणको नाउँमा सरकारको नेतृत्व गर्ने दलले कुनै पनि सर्त मानेमा त्यो देशको लागि अर्को दूरगामी असर हुनेछ या दुर्भाग्य हुनेछ ।
सत्ता समीकरणको नाउँमा आपराधिक व्यक्तिहरू छुटाउने, देशलाई दूरगामी असर पार्ने खालका सर्त पालना गर्नुपर्ने बाध्यता नेपाली जनताको निम्ति सह्य हुनेछैन । त्यस्तो सर्त पालना गरेर सरकार अघि बढेमा यो सरकारभन्दा अब बन्ने नयाँ सरकार झन् खतरनाक हुनेछ । केपी प्रम ओली सरकार नछोड्ने अडानमा छ । कसैले अविश्वास प्रस्ताव राखे त्यसको फेस गर्ने ओली पक्षधर नेताहरू फलाक्दै छन् । यसकारण अहिले देशको राजनीति अन्योल देखिन्छ । देशलाई अन्योलको भूमरीमा फसाउने र अस्थिर राजनीति निम्त्याउने दलका नेताहरूको अन्तिम चाहना या उद्देश्य सरकारको नेतृत्व परिवर्तन हो या सत्ताको खेल नै हो । यो कुरा घटनाक्रमले पुस्टि हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *