आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
काठमाडौँ, १ असार । विसं २००४ असार १ गते नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको सम्झनामा आज जयतु संस्कृतम् दिवस मनाइएको छ ।
तीनधारा संस्कृत छात्रावासका विद्यार्थीले संस्कृत शास्त्रीय विषयका साथै आधुनिक विषय अङ्ग्रेजी, विज्ञान, गणित, भूगोललगायत पनि पढ्न पाउनुपर्छ भनी राणा शासकसँग माग राखेर आन्दोलन सुरु गरेका थिए । आन्दोलनमा उत्रेका छात्रावासका विद्यार्थीलाई तत्कालीन राणा सरकारले चारपाटा मुडी चार भञ्ज्याङ कटाएको थियो ।
चार भञ्ज्याङ कटाइएका विद्यार्थी देशका विभिन्न भागमा भिक्षा माग्दै राणा शासनविरुद्ध प्रजातन्त्रका पक्षमा जागरण फैल्याउँदै बनारस पुगे । बनारसमा नेपाली राष्ट्रिय काँग्रेसका नेता बिपी कोइरालासँग भेटी श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, पद्मशङ्कर अधिकारीलगायत स्वदेश फर्किएर विभिन्न स्थानका आन्दोलनमा सहभागी हुनुभएको थियो ।
सो आन्दोलनको स्वर्ण महोत्सवका अवसरमा विसं २०५४ मा विविध कार्यक्रम गरी वर्षभर मनाइएको थियो । विसं २०५५ पछि जयतु संस्कृतम् संस्थाकै रुपमा दर्ता गरी विविध कार्यक्रम गरिँदै आएको छ ।
सो अवसरमा आज बिहान वाल्मीकि विद्यापीठबाट सुरु भएको प्रभातफेरी सहरका विभिन्न भाग परिक्रमा गरेर दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासमा पुगी समापन भएको थियो ।
प्रभातफेरीपछि संस्कृत छात्रावास दरबारमार्गमा आयोजित कार्यक्रममा सांस्कृतिक हाजिरीजवाफ प्रतियोगिताका विजयी छात्रछात्रालाई पुरस्कार वितरण गरियो । सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले संस्कृत भाषाले विश्वलाई नै योगदान गर्नसक्ने भएकाले यसको विश्वव्यापी प्रभाव बढ्दै गएको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष डा बद्री पोखरेल र सदस्य सचिव नवराज कट्टेल, प्रा डा विष्णुप्रसाद शर्मा देवकोटालगायतले आधुनिक युगमा पनि संस्कृत भाषाको औचित्य नसकिएको बताउनुभयो । प्रतियोगितामा कान्तिभैरव गुरुकुल उत्तरबाहिनी, गोकर्ण पहिलो, पद्मकन्या मावि डिल्लीबजार दोस्रो र हिन्दू विद्यापीठ थली तेस्रो भएका थिए ।
जयतु संस्कृतम् पुरस्कार लाटोसाथीलाई
प्रत्येक वर्ष संस्कृत भाषामा प्रकाशित पुस्तकमध्येबाट छनोट गरेर दिइने जयतु संस्कृतम् पुरस्कार विसं २०७४ मा ‘हनूमदयन महाकाव्यम्’ का लागि साहित्यकार विष्णुराज आत्रेय ‘लाटोसाथी’ लाई दिइने भएको छ ।
पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ । केही दिनमा सो पुरस्कार वितरण गरिने संस्थाले जनाएको छ । रासस
Leave a Reply