जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्
- श्रावण २, २०८३
“मिहिनेत मजदुरी गर्ने जनताहरू निराश भएको शासकहरूलाई मन पर्छ । जनताले राजनीतिक पुस्तकहरू पढेको शासकहरू रुचाउँदैनन् । त्यसैले हामी निराश हुने होइन । हामीले हाम्रो राजनीति सिक्ने हो । त्यसका लागि राजनीतिक पुस्तकहरू पढ्ने हो । तर्किने, तर्सिने वा भाग्ने होइन । बरु पढ्ने हो, लड्ने हो । पढाइ पनि लडाइँ हो । हामीले शासकहरूको लुटपाटका विरुद्ध, उनीहरूको अँध्यारो र कुरूप राजनीतिका विरुद्ध उज्यालो र असल राजनीति गर्ने हो । ढुङ्गामुढा गर्ने होइन । शासकहरू हामीलाई भेडा बनाउन चाहन्छन् । उनीहरूको पछि लागेमा अलिकति पाप हामीलाई पनि लाग्नेछ । शोषकहरूको राजनीति घिनलाग्दो हुन्छ । त्यसका विरुद्ध हामीले इमान, निष्ठा र चेतनाको राजनीति सिक्ने हो । हाम्रो वर्गको राजनीति गर्ने हो । हाम्रा सन्तान र देशको सुनौलो भविष्यको निम्ति राजनीतिक रूपले अनुशासित हुने हो, सचेत बन्ने हो । पढ्दै जाने हो, लड्दै जाने हो । हुनेखानेहरूको लुटपाटलाई रोक्न सङ्गठित भई राजनीतिक सङ्घर्ष गर्ने हो ।”
धुलो र धुवाँ उडिरहेको थियो । बेलाबेला धुलोको मुस्लोले उधुमै गथ्र्यो । तैपनि पुस्तक प्रदर्शनीमा हाम्रा विचार सुन्न मानिसहरू बेलाबेला झुम्मिरहन्थे । यसले अलिकति ऊर्जा थपे पनि जोरपाटीको प्रदर्शनी मैलोधुस्रो भइरह्यो । दिन ढल्दै गर्दा छिटफुट पानी प¥यो । साँझ कोठामा फर्किँदै गर्दा हाम्रो मस्तिष्कमा जोरपाटीको सम्झना हिउँदको घामजस्तो झन्झन् धमिलो भइरह्यो । कोठामा गई नुहाइधुवाइ गरेपछि केही पात्रहरू मनको फुस्रो चित्रपटबाट मानौँ बौरिएर खेलिरहे । थाहा छैन किन, आज बिहानैदेखि तिनै पात्रहरू अन्तरमा नाचिरहेका छन् ।
त्यो दिन खास थियो । अघिल्लो दिन प्रचण्ड समूहको नेपाल बन्द थियो । टोखामा शरीर तताउने चाकू खाएर हामी जोरपाटीतिर लाग्यौँ । बिहानी बतासमा अनुहार सेकेर हामी जोरपाटी चोकभन्दा केही तल बसपार्कमा रोकियौँ । पुस्तक ल्याउने गाडीलाई बिदा गरेपछि पहिलो समस्या आइलाग्यो । खासमा यस्तो समस्या आइलाग्दा सामान्यतया हामीले प्रहरीको सहारा लिने गथ्र्यौँ । तर यहाँ, जुन होटलसामु हामीले पुस्तक प्रदर्शनी गर्ने सोचेका थियौँ, त्यहाँ अघिपछि फलफूलको व्यापार हुने रहेछ । ढल्किँदो उमेरका एकजनाले आफूले होटल व्यापारीलाई पैसा तिरेर त्यहाँ फलफूल पसल राख्ने गरेको बताए । सारमा उनी हामीलाई त्यहाँ प्रदर्शनी गर्न दिने पक्षमा थिएनन् । हामीले मानिसहरू उति नहिँड्ने स्थानमा टेबुल सारिरहेका थियौँ । यस्तैमा हाम्रा एक दाजुले कसैको प्रश्नमा राजनीतिक पार्टीले पुस्तक प्रदर्शनी गर्न लागेको बताउनुभयो ।
म टेबुल लिन आइरहेको थिएँ । यस्तैमा होचो कद र अधबैँसे उमेरकी एक गोरी महिलाले मलाई सुनाउने गरी मुख फोरिन्, “जुनसुकै पार्टी आए पनि केही हुन्न ¤ कस्ताकस्ताले त केही गरेनन् ।” किन हो कुन्नि, मलाई झनक्क रिस उठ्यो । झर्किँदो स्वरमा उनलाई भनेँ, “हाम्रो बारेमा तपाईँलाई के थाहा छ ? सब जानेजस्तो कुरा नगर्नुस् । तपाईँलाई हामीले केही भनेका छौँ र ? अनि हाम्रो बारेमा किन बोलेको ?… चुप लाग्नुस् । हामीलाई काम गर्न दिनुस् ।” ती महिलाको अनुहारमा ‘किन बोलिछु ’ भन्ने भाव देखियो । उनी हच्किन् । रिसको झोँकमा म भुनभुनाएँ । होटलको पेटीमा ढल्दो उमेरका व्यक्तिहरू उभिरहेका थिए । उनीहरूतिर फर्केर म पोखिएँ, “हेर्नुस् बुबाहरू, हामीले यो सब तपाईँहरूकै लागि गरिरहेका छौँ । अहिले बुझ्नुभएको छैन । पछि तपाईँहरूले बुझ्नुहुनेछ । गाँस खोस्न आएजस्तो नगर्नुस् । हामी पनि तपाईँहरूजस्तै खुनपसिना बगाउने आमाबाका छोराछोरी हौँ । यहाँ आउनु हाम्रो रहर होइन । बुझ्नुभयो ?”
कार्यक्रमको बारेमा पत्र पाएपछि प्रहरीको सक्रियता देखियो । उनीहरूले कार्यक्रमस्थलको झमेला पनि मिलाइदिए । उनीहरूले हाम्रो कार्यक्रमले ओली समूहका ‘हजारौँ’ कार्यकर्ता रत्नपार्क लाग्ने बेला अवरोध उत्पन्न गर्न सक्ने बताए । हामीले त्यसो नहुने, प्रचण्डको रत्नपार्कको कार्यक्रमको दिनमा समेत हामीले प्रदर्शनी गरेको बतायौँ । खासमा ओलीका ‘हजारौँ’ कार्यकर्ता केही सयको सङ्ख्यामा आएका थिए । सानो छलफलपछि प्रहरीहरू गए । त्यसपछि केही व्यवसायीहरूले आफ्नो रोजी खोस्न आएजस्तो व्यवहार गरे । उनीहरूले आफ्नो ‘पार्किङस्थलमा’ प्रदर्शनी राखेकोमा अप्ठ्यारो माने । हामीले ठाउँ नछोडेको होइन । तर, उनीहरू अलि च्याप्ने कोसिसमा थिए । ‘प्रहरीलाई भन्नुस्’ भनेर हामी पन्छियौँ । त्यसपछि हाम्रा साथी बोल्न थाल्नुभयो । (संस्मरणको पहिलो अनुच्छेद सोही माइकिङको सार हो ।)
हाम्रो जस्तो देशमा पुस्तक किनिहाल्ने स्थितिमा थोरै मानिस मात्र हुन्छन् भन्ने अनुभव हामीले केही दिनयता गर्दै आएका थियौँ । गाडी पर्खिने महिलापुरुष र युवायुवतीहरूले बेलाबेला हामीतिर पुर्लुक्क हेर्थे । मानिसहरूले हामीतिर भन्दा पनि शाली नदीतिर जाने गाडीमा रुचि लिइरहेका थिए । सायद स्वस्थानी व्रतकथाको महिना चलिरहेको थियो । प्रदर्शनीमा केही गम्भीर पाठकहरूले हामीलाई चकित पारे । धुलोको एकनासको मुस्लोबीच उनीहरू धेरैबेर हाम्रो स्टल आसपास उभिए । अग्रज दाजुहरूसँग छलफल गरे । एक यस्तै पाठकले हाम्रो ध्यान ताने । युरोपेली गेटअपका एकजना पाठकले अनौठो कुरा गरे । उनले भने, “जोरपाटीबाट यो पार्टीलाई गएको भोट मेरै हो । मैले सधैँ मादलमै भोट हालिरहेको छु । तर, पहिलोचोटि यो पार्टीको कार्यकर्तासँग भेट हुँदै छ ।” उनको भनाइ हामीलाई बिझायो । ढिलै भए पनि एक अज्ञात तर सचेत मतदातासँग कुराकानी गर्न पाउँदा पार्टीका दाजुहरू खुसी हुनुहुन्थ्यो ।
सर्वसाधारणले हाम्रा विचार सुनिरहेका थिए । पुस्तक किन्न नसक्ने गरिखाने वर्गका धेरैले हाम्रा विचार सुन्नमा रुचि लिन्छन् । यो पनि हप्ताभरको हाम्रो अनुभवले सिकाएको थियो । त्यसैले समसामयिक राजनीति र पार्टीको विचारबारे साथीहरू बोलिरहनुभयो । हामीले किन पुस्तक प्रदर्शनी गरिरहेका थियौँ ? पार्टीको ४७ औँ स्थापना दिवस मनाउन । भुइँमान्छेहरूबीच पार्टीका विचारहरू प्रसार गर्न । पार्टीको पछिल्लो अडानबारे अल्पबुद्धिका पढैयाहरूले फैलाएको भ्रम चिर्न । तल्लो वर्गलाई थोरै भए पनि राजनीतिक ज्ञान दिन । यो प्रयास सकेसम्म भइरह्यो । किताबमाथि प्लास्टिक हालेरै भए पनि, पुस्तकमाथि धुलो जम्न दिएरै पनि केही घन्टा टिकियो । बेलाबखत धुलो, धुवाँ र सिमसिमे पानीले मिलेर ‘यसो नगर’ भनिरहेझैँ लाग्थ्यो ।
वातावरणको उकुसमुकुसबीच ममा केही पात्रहरूले मानौँ सन्तोषको प्राणवायु भरिरहे । हामीलाई सुरुमा छेड हान्ने ती महिलाले आफ्नी छोरीलाई पुस्तक हेर्न हामीकहाँ पठाइन् ¤ थिएन त आश्चर्य ?¤ बेलाबेला उनी हामीलाई पछुताउने आँखाले हेरिरहन्थिन् । उनका निर्दोष आँखालाई मैले मुस्कानले सलाम गरेँ । हाम्रा साथी जतिजति बेला बोल्थे, बिहान भनाबैरी भएका ढल्दो उमेरका ती व्यक्ति नजिक आएर स्रोताहरूको झुन्डमा मिसिन्थे र ध्यान दिएर सुन्थे । मानौँ, उनी कुनै नयाँ समाजवादी देशको प्रसङ्ग सुन्न चाहिरहेछन् । लाग्थ्यो, उनी आफ्ना सन्तानको भविष्यबारे घोत्लिन खोजिरहेछन् । उनको गम्भीरतामा एक खालको अपनत्व महसुस भइरह्यो । अर्का एक कालो वर्णका व्यक्तिले हावाहुरीबीच पुस्तक ढाक्न हामीलाई सघाइरहेका थिए । लामो सवालजवाफपछि ती पुस्तकहरू आफ्नै वर्गका हुन् भन्ने उनले बोध गरेका थिए । पुस्तक जोगाउने मेलोमा मानौँ उनी आफ्नो वर्गको सम्पत्ति जोगाइरहेको अनुभूति गरिरहेका थिए ।
बिहान र साँझका दृश्यहरू फेरिएका थिए । बाँझो जमिनमा आशाको मुना पलाएजस्तो । जमोटबाट विशाल सागरमा पसेजस्तो । हिउँदमा पारिलो घाम तापेजस्तो । दृश्यहरूको हेरफेरबीच सायद म पनि एक पात्र बनिरहेको थिएँ । जोरपाटीको एक दिनले मेरो आक्रोश संयममा बदलिदिएको थियो । आज आएर, त्यस दिनको धुलोमैलोको मुस्लो छिचोलेर हेर्छु । मनमा यस्तै कुराहरू खेल्छन् । हामी आँधी झेल्न तयार मात्र हुनुपर्छ, मानिस फेरिन बेर लाग्दो रहेनछ ।
Leave a Reply