भर्खरै :

सक्वको म राजदास – ७४ / किन ब्रेझनेभ त्यति धेरै अपमानित भए ?

सन् १९०६ को डिसेम्बर १९ मा उक्राइनाको कामेन्सकोये भन्ने सहरमा एक कामदार (मजदुर) वर्गको परिवारमा जन्मेका लिओनिद–इलिच्छ ब्रेझनेभ एक नाम चलेका सोभियत नेता हुन् । तर, सोभियत नेताहरू लेनिन, स्तालिनजस्तै उनी विश्वमा प्रख्यात थिएनन् र ख्रुश्चेभजस्तै विवादित पनि रहेनन् । महान् अक्टोबर समाजवादी क्रान्तिको सफलतापछि स्थापना भएको सोभियत सङ्घमा सन् १९२३ मा एक युवा कम्युनिस्ट कार्यकर्ताको रूपमा उनी सोभियत कम्युनिस्ट पार्टीभित्र प्रवेश गरे । सन् १९२९ मा उनी पार्टीको सक्रिय सदस्य पनि भए । दोस्रो विश्वयुद्धमा नाजी जर्मनले सोभियत सङ्घमाथि आक्रमण गरे । ब्रेझनेभ सोभियत फौजमा सामेल भएर एक कमीसारको रूपमा लड्न गए र विश्वयुद्ध लड्दा लड्दै मेजर जनरलको पदसम्म समाल्न पुगे ।
विश्वयुद्धको अन्त्यपश्चात् लिओनिद इलिच्छ सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बन्न सफल भए । सन् १९५२ र १९५७ मा उनले सोभियत कम्युनिस्ट पार्टीको पोलिटब्युरोको पूर्ण सदस्यता पाए । सन् १९६४ सम्म आउँदा लिओनिद इलिच्छले आफ्नो शक्ति सञ्चय गर्दै गए र तत्कालीन सोभियत नेता निकिता ख्रुश्चेभलाई सोभियत कम्युनिस्ट पार्टीको महासचिव पदबाट हटाएर आफू सोभियत सङ्घको शक्तिशाली पदमा बसे ।
सन् १९६० को दशकदेखि सोभियत सङ्घ विश्वमा एक शक्तिशाली राष्ट्र बनेको थियो । संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा थियो । सँगसँगै सोभियत सङ्घको संयुक्त राज्य अमेरिकासँग शीतयुद्ध चलिरहेको थियो ।
द्वितीय विश्वयुद्धपछि विश्व दुई धु्रवमा विभाजित थियो । संयुक्त राज्य अमेरिकासँग विश्वका धनाढ्य पुँजीवादी र साम्राज्यवादी देशहरू थिए भने सोभियत सङ्घ र चीनसँग विश्वका समाजवादी देशहरू एकत्रित भएका थिए । धेरैजसो उपनिवेशवादबाट स्वतन्त्र भएका देशहरू समाजवादी खेमातिर ढल्केका थिए । यी विकासोन्मुख देशहरू आफ्नो शैक्षिक, आर्थिक र राजनीतिक विकास गर्ने क्षेत्रमा सोभियत सङ्घ र गणतन्त्र चीनको साथ र समर्थन थियो ।
सन् १९५६ को जुलाई २० मा सोभियत सङ्घ र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि सोभियत सङ्घले अन्य विकासोन्मुख देशहरूलाई शैक्षिक तथा आर्थिक क्षेत्रमा मनग्य सहयोग र सहायता गरेको थियो ।
सन् १९६० को दशकदेखि ८० को दशकसम्ममा ८–१० हजार जति नेपाली विद्यार्थीहरूलाई सोभियत सङ्घमा उच्च शिक्षा हासिल गर्ने अवसर दिइयो । ६०–७०को दशकमा सोभियत सङ्घको आर्थिक सहयोगमा वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, हेटौँडा कृषि औजार कारखानाको साथै पथलैया–ढल्केबार पूर्वपश्चिम राजमार्गका खण्ड निर्माण भएका थिए । पछिल्लो समय धनगढीमा रोजिन र तारपेन उत्पादन गर्ने एक ठूलो कारखाना पनि स्थापना गरिएको थियो ।
यसबाहेक काठमाडौँ–महाराजगञ्जस्थित कान्ति बाल अस्पताल र पनौती जलविद्युत् योजना पनि तत्कालीन सोभियत सङ्घले नै स्थापना गरेको थियो । नेपालमा त्यसबेला सामन्तवादी पञ्चायती व्यवस्था र राजतन्त्र भए तापनि सोभियत सङ्घले नेपालप्रति देखाएको यो एक दरिलो मित्रताको प्रतीक थियो ।
नेपालमा सोभियत सङ्घबाट प्राप्त भएका प्रायः यी सबै सहयोगहरू लिओनिद इलिच्छ ब्रेझनेभकै कार्यकालमा थिए । सोभियत सङ्घमा लिओनिद इलिच्छ र ब्रेझनेभले सन् १९६४ देखि १९८२ सम्म शासन गरेका थिए । सन् १९६९ देखि १९७६ सम्म उही समयमा म सोभियत सङ्घमा अध्ययनरत थिएँ र त्यहीँको वातावरणमा भिजेको थिएँ ।
भ्लादिमीर इलिच्छ लेनिन, जोसेफ स्तालिन र निकिता ख्रुश्चेभले जस्तै लिओनिद ब्रेझनेभले कुनै तहल्का मच्चाउने काम गरेनन् । ब्रेझनेभको पालासम्म आइपुग्दा सोभियत सङ्घ आर्थिक, राजनीतिक, सामाजिक र सैनिक–अवस्थामा सुदृढ भइसकेको थियो । देशमा शान्तिपूर्ण वातावरण छाएको थियो । जसरी लेनिनको पालामा देश ठूलो सङ्घर्षमा थियो । भर्खर स्थापना भएको सोभियत सङ्घमा एकातिर क्रान्तिको लहर चलेको थियो भने प्रथम विश्वयुद्धको नकारात्मक प्रभाव छाएको थियो । त्यस्तै सन् १९२१ सम्म क्रान्तिपछि पनि गृहयुद्ध चलिरहेको थियो । देशमा खाद्यान्नको अभावले भोकमरी र अनिकालको अवस्था थियो । लाखौँ–लाख मानिसको अकालमा मृत्यु भएको थियो भने देशमा भएका धनाढ्य जमिनदारहरूको असहयोग थियो सोभियत सरकारलाई । त्यसैगरी समाजवादी अक्टोबर क्रान्तिपछि रुसबाट असङ्ख्य पुँजीपति र बुद्धिजीविहरू देशबाट पलायन भए । यस्तो विषम परिस्थितिमा पनि भ्लादिमीर लेनिनको नेतृत्वमा देश अगाडि बढ्दै गयो । सन् १९२४ मा भ्लादिमीर लेनिनको मृत्युपश्चात् देशको नेतृत्व जोसेफ स्तालिनले समाले । स्तालिनको पालामा पनि देशको परिस्थिति समाल्न कम गा¥हो थिएन । तापनि, बृहत् कृषि योजनाहरू सरकारी कृषि फार्म र औद्योगिक उत्पादनमा सोभियत सङ्घ अगाडि बढ्दै गयो । सोभियत सङ्घ विश्वमै खनिज पदार्थ, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास र अन्य बहुमूल्य धातुहरूको साथै वनजङ्गलमा सम्पन्न थियो । संसारमा पाइने चिजहरू सोभियत सङ्घमा नपाइने भन्ने वस्तु केही थिएन । विशाल प्राकृतिक स्रोत र साधनले सम्पन्न सोभियत सङ्घ सोभियत नेता स्तालिनको नेतृत्वमा धेरै अगाडि बढ्दै गयो । तर, दुर्भाग्यवस सन् १९४१ मा हिटलरको नेतृत्वमा जर्मन नाजी फौजले सोभियत सङ्घमा आक्रमण गरेपछि धेरै विध्ंवस भए । द्वितीय विश्वयुद्धमा सोभियत सङ्घमा झन्डै साढे दुई करोड सोभियत जनताको अनाहकमा मृत्यु भयो । तथापि, अन्तमा गएर सन् १९४५ मेको ८ मा सोभियत सङ्घले द्वितीय विश्वयुद्धमा जीत हात पार्याे र उच्च मनोबलका साथ फेरि विकासको पथमा लम्किँदै गयो ।
सन् १९५४ सम्ममा सोभियत सङ्घ फेरि एकपल्ट विश्वमा शक्तिशाली देश बन्यो । सन् १९५४ मा स्तालिनको मृत्यु भएपछि सोभियत सत्ता आफ्नो हातमा लिन सफल भएका निकिता ख्रुश्चेभले सोभियत सङ्घलाई समाजवादी विकासको बाटोबाट संशोधनको बाटोमा दोहो¥याएर देशमा अन्योलको स्थिति पैदा गरे, क्युवा क्षेप्यास्त्र काण्डले विश्वलाई झन्डै तेस्रो विश्वयुद्धमा धकेल्न लागेको थियो । यदि त्यसबेला सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाले संयमतासाथ उक्त क्षेप्यास्त्र काण्ड नसुल्झाएका भए आणविक युद्धसम्म हुने खतरा उत्पन्न भएको थियो । ख्रुश्चेभको यस उद्दण्डताले गर्दा सन् १९६४ मा उनको सोभियत सत्ता आफ्नो हातबाट गुमाउन पुग्यो र लिओनिद इलिच्छ ब्रेझनेभ सोभियत सत्तामा आए ।
सोभियत नेतृत्वमा सत्ता आफ्नो हातमा आएपछि लिओनिद ब्रेझनेभले चतुरतापूर्वक आफ्नो स्थिति मजबुत पार्दै लगे । ब्रेझनेभ सर्वशक्तिशाली पद ओगट्न पुुगे । उनले सम्भावित आफ्ना दुई प्रतिद्वन्द्वी पदगोर्नी र अलेक्सी कोशीजीनलाई आ–आफ्ना स्थानमा राख्न पनि सफल भए । यस्तो सहज र शान्तिपूर्ण वातावरणमा सत्ता समाल्न पुगेका ब्रेझनेभले भने सोभियत जनताको भित्रैदेखि मन जित्न सकेनन् । बाहिर स्थिति साम्य देखिए पनि भित्रभित्र सोभियत समाजमा एक उकुसमुकुसको वातावरण श्रृजना भइरहेको मैले महसुस गरेँ । बाहिर खुलेर कोही बोल्न नसक्ने तर भित्रभित्र सोभियत जनतामा एक प्रकारको असन्तुष्टी भएको मैले पाएँ । त्यसबेला सोभियत सङ्घबाट धेरै सङ्ख्यामा यहुदी जातिका मानिसहरू देश छाड्दै हङ्गेरीको बाटो हुँदै इजरायइल पलायन भइरहेको मैले देखेँ । किन हो कुन्नि सोभियत नागरिकहरूमध्ये सबभन्दा बढी असन्तुष्ट सोभियत सङ्घमा यहुदीहरू थिए । यद्यपि, मध्य–एसियाका नागरिकहरूमा पनि एक प्रकारको असन्तुष्टी देखेको थिएँ । यस्तै प्रि–बाल्टीक गणराज्यहरू लाटभिया, लिटभिया, यस्तोनियाका मानिसहरू पनि रुसीहरूदेखि र सोभियत नीतिदेखि त्यति सन्तुष्ट भएका थिएनन् ।
देशमा अथाह प्राकृतिक स्रोत साधन भएर, विश्वमा एक शक्तिशाली राष्ट्र भएर पनि सोभियत नागरिकहरू आफ्नो जीवनदेखि त्यत्ति खुसी भएको देखिएन । सायद भित्रभित्रै मानिसहरूलाई थाहा भयो कि सोभियत सङ्घ सही बाटोमा हिँडिरहेको थिएन । बाहिर आश्वासन दिएजस्तै देश सही मानेमा कम्युनिस्ट बाटोमा हिँडिरहेको थिएन । सोभियत जनताले सोभियत समाजवादी व्यवस्थाबाट आशातीत प्रतिफल पाइरहेका थिएनन् । त्यसकारण, मैले धेरै सोभियत जनतामा एक निराशाको तुँवालो देखेको थिएँ । समाजवादप्रतिको मोह पनि सोभियत जनतामा घट्दै गएको मैले पाएँ । जनमानसमा यस्तो निराशाको वातावरण सिर्जना भइरहेको थियो भने सोभियत नेता लिओनिद ब्रेझनेभको देवत्वकरण भइरहेको थियो सोभियत नेतृत्व वर्ग र सोभियत कम्युनिस्ट पार्टीभित्र ।
सबै नेताहरूको मुखमा ‘लिओनिद इलिच’ झुण्डिरहेको हुन्थ्यो । उनीहरू शक्तिपुजक देखिन्थे । सोभियत राजनीतिक वृत्तमा ब्रेझनेभलाई विश्वका महान् कम्युनिस्ट नेता भन्न थाले । ब्रेझनेभले ठूला ठूला काम गरेको भनी एकपछि अर्को ‘लेनिन पदक’ हासिल गर्दै गए ।
म सोभियत सङ्घमा रहँदासम्ममा ब्रेझनेभले सोभियत सङ्घको सबभन्दा ठूलो पदक ‘लेनिन पदक’ चार वटा (सुनको लेनिनको तक्मा) पाइसकेका थिए र द्वितीय विश्वयुद्धमा लडेका कुरालाई बढाइचढाइ गरेर वीरताको तक्मा पनि पाएका थिए । यसबाहेक ब्रेझनेभले धेरै सडक, कलकारखाना र सार्वजनिक चोकहरू आफ्नो नाममा दर्ता गराए । ब्रेझनेभको मृत्युपश्चात् सबै चीज सोभियत जनताले खोसिदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *