भर्खरै :

सक्षम प्राविधिक जनशक्ति नहुँदा खेर जाँदै विदेशी सामान

नेपालमा ठूला ठूला राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन हुनसकेको छैैैन । यसको मुख्य कारण नेपालको शिक्षा नीति पनि एक हो  । अहिलेको डिजिटल युगमा अरू विकसित र विकासउन्मुख मुलुकहरूले आर्थिक क्षेत्रमा जसरी विकास गरेका छन् त्यो हिसाबले नेपाल पछाडि परेको देखिन्छ ।
नेपालको शिक्षा नीतिले प्राविधिज्ञहरू उत्पादन गर्न सकेको छैन । आज आर्थिक र जनशक्ति जुन हिसाबबाट नेपाल बाहिर जाने गरेको छ, त्यसमा सबैको ध्यान जानु आवश्यक छ । त्यसरी दिनप्रतिदिन नेपालको अर्थतन्त्र र जनशक्ति बाहिर जाने हो भने भविष्यमा यसले नेपालमा ठूलो आर्थिक सङ्कट आउने सम्भावना छ ।
नेपालको शिक्षा नीतिले दक्ष जनशक्ति उत्पादन गर्ने विषयमा जिम्मेवार भएको देखिंदैन । राज्यले प्राविधिक विकासमा साँच्चै प्रतिबद्धता कहिल्यै देखाएन । देशमा प्राविधिक शिक्षाको विकास र प्राविधिक जनशक्ति उत्पादनमा जुन लगानी गर्नुपर्ने थियो, त्यो हुन सकेको छैन । सरकार यसको लागि तयार भएन किनभने उसको दृष्टिमा सम्भवतः यो निकै महङ्गो र अनावश्यक लगानी हो । आजको दिनमा शिक्षा क्षेत्रलाई दक्ष जनशक्ति उत्पादन गर्ने नीति लिने हो भने भोलिको विकासको दिगो मेरुदण्ड तिनै जनशक्ति हुनेछ । राज्यको यसखालको बुझाइमा सकारात्मक परिवर्तन आउनु अपरिहार्य छ ।
आज हरेक विकसित मुलुकहरूले उत्पादन गरेका सामग्रीहरू प्रयोग गर्ने हामी सुविधामुखी भयौँ तर ती सामग्रीहरूमा साधारण खराबी हुँदा मर्मत प्राविधिक (मेकानिक) नहुँदा हरेक घर–घरमा ती सामान कबाडी बनेका छन् । यी त भए घर र अफिसमा प्रयोग हुने सामग्री । तर मोटर गाडीको विषयमा त झन् समस्या छ । अहिले हरेक मोटर गाडी उत्पादन गर्ने कम्पनीले नयाँ–नयाँ प्रविधिको विकास गरी (सेन्सर) जडान भएका मोटरहरू उत्पादन गरी बजारमा ल्याएको छ तर ती गाडी बनाउने दक्ष मिस्त्री नहुँदा आज लाखौँ, करोडौँ पर्ने गाडी कबाडी बनेर थन्किएका र प्रयोगविहीन छन् । यस्ता सानो सानो कुरामा राज्यको ध्यान नगएको हुँदा नेपालको ठूलो आर्थिक स्रोत विदेश पुगिरहेको छ । राज्यले हरेक उपभोक्ताले प्रयोग गर्ने सामग्री उत्पादन गर्न सकेन । कम्तीमा ती सामग्री मर्मत सम्भार गर्ने दक्ष प्राविधिकहरू उत्पादन गर्न सक्नुपर्ने हो । तर, राज्यको ध्यान त्यता गएको छैन ।
नेपालमा प्राविधिक शिक्षाको विकासको पहिलो सर्त नै राज्यको प्रतिबद्धता र काम हो तर त्यसो हुन सकेन ¤
नेपालको प्राविधिक शिक्षाको अर्को प्रमुख समस्या यस क्षेत्रको आफ्नै नेतृत्व क्षमताको कमजोरी हो । राज्यको नीति स्पष्ट नभएको हुँदा यस क्षेत्रमा लगानीको वातावरण बनाउने काम राज्यले गर्न सकेन । राज्यले लगानी बढाएन, लगानी गर्ने वातावरण पनि सिर्जना गर्न सकेन ।
हरेक सहरमा दैनिकी प्रयोग हुने विदेशी सामग्री किन्नेको घुइँचो लागेको छ । तर, मर्मत गर्ने ठाउँ र दक्ष प्राविधिक छैन । यही कारणले आज विदेशी उत्पादनको खुला बजार नेपाल बनेको छ । ठूलो परिणाममा आर्थिक स्रोत अर्को देशमा जाने क्रम रोकिएको छैन ।
नेपालको शैक्षिक प्रणाली देशमै युवाहरूलाई रोजगारी सिर्जना गराउने भन्दा विदेशी कम्पनीका लागि सस्तो ज्यामी मजदुरहरू उत्पादन गर्ने थलो बन्दै छ ।
यसले भविष्यमा ठूलो जटिलता निम्त्याउनेछ । रोजगारीको अभावले विदेशिने युवाको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । नेपालको शैक्षिक क्षेत्र प्राविधिक मैत्री नहुँदा युवा र देशको अर्थतन्त्र विदेशतिर गइरहेको छ । सानो कुरालाई पनि व्यवस्थापन गर्न नसक्ने राज्यको नारा समृद्ध नेपाल सुखी नेपाली रे ¤
आफूलाई कम्युनिस्ट सरकार भन्न रुचाउने नेतृत्वले कम्तीमा यस्तो कुरामा ध्यान दिनुपर्ने होइन र ? युवा शक्ति र देशको ठूलो अर्थतन्त्र हिस्सा विदेश जाँदा कसरी समृद्ध नेपाल हुन्छ ? जनताले बुझ्न सकेका छैनन् ¤
माथि उल्लेख गरेजस्तो नयाँ टेक्नोलोजी प्रयोग भएका मोटर गाडी, टीभी, मोबाइल, रेफ्रिजेरेटरलगायतका सामग्री मर्मत गर्ने जनशक्ति उत्पादन गर्ने हो भने रोजगारी पनि आफ्नै देशमा मिल्छ र ठूलो अर्थतन्त्र विदेश जानबाट रोकिने छ । तर सरकार र शासक दलको ध्यान त्यत्तातिर गएको देखिँदैन ।
सबल र सक्षम र प्रभावकारी नेतृत्व नभएकै कारण रोजगारीको क्षेत्र अस्तव्यस्त छ । अहिले हरियो पासपोर्ट बनाएर विदेश जानु नै रोजगारीको विकल्प भएको छ । अझ सस्तो ज्यामी, मजदुर विदेश पठाउने काममा तिनै शासक दलका कार्यकर्ताहरू म्यानपावर कम्पनीका एजेन्ट भएका देखिन्छन् ।
नेपालमा नै रोजगारीको अवसर स्थापित गर्न प्राविधिक शिक्षा, स्थानीय स्तरमै उत्पादन भएका वस्तुको राम्रो बजार व्यवस्थापन तथा परम्परागत सीपको विकास र सीप सिकाइका परम्परागत तरिकाहरूबाट रोजगारीको क्षेत्रमा प्रभावकारी काम गर्नसक्ने ठूलो सम्भावना छ । यस क्षेत्रको राम्रो विकास गर्न इच्छाशक्ति चाहिन्छ । यसको नेतृत्व सरकार र स्थानीय सरकारले पहल गर्नु अति आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *