भर्खरै :

मार्च ८ को वर्गीय चरित्र

आज संसारभरका कामदार महिलाहरू अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छन् । युरोपेली औद्योगिक पुँजीवादले महिला मजदुरहरूमाथि गरेको अत्याचारबाट मुक्त हुन युगीन चेतना बोकेका महिलाहरूले एक शताब्दीभन्दा लामो समयअघि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको जग राखेका थिए । पुँजीवादविरूद्धको सङ्घर्षको क्रममा कामदार महिलाहरूले पुरूष मजदुरहरूको तुलनामा अझ बढी शोषणको सामना गर्नुपरेको अनुभव गरे । एकातिर पुरूष मजदुरले पुँजीवादबाट भोग्नुपरेको शोषण महिला मजदुरले पनि भोग्ने गर्छन् । अर्कोतिर सामन्तवादी उत्पादन सम्बन्धमा टिकेको पितृसत्ताका सांस्कृतिक उत्पीडनको जालोमा पनि कामदार महिलाहरू नै परेका हुन्छन् । यसरी दोहोरो उत्पीडनको शिकार बनेका श्रमिक महिलाहरूले शोषणका यी सबै सिक्रीबाट मुक्त बन्न राजनीतिक सङ्घर्षमा होमिनुको विकल्प नभएको निचोडमा पुगे । राजनीतिक सङ्घर्षको निम्ति सैद्धान्तिक रूपमा स्पष्ट सङ्गठन नभई हुँदैन । त्यही आवश्यकताबोध गरी समान पीडा बोकेका विभिन्न देशका श्रमिक महिलाहरूले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरे । क्लारा जेटकिनजस्ता क्रान्तिकारी महिलाहरूले त्यो सम्मेलनको नेतृत्व गर्नुभएको थियो । त्यही अन्तर्राष्ट्रिय सम्मेलनले श्रमिक महिला आन्दोलनको भविष्य अझ दिगो बनाउन हरेक वर्षको मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय ग¥यो । त्यसपछि हरेक वर्ष मार्च ८ महिला विद्रोह, प्रतिरोध र आन्दोलनको दिन बन्दै आएको छ ।
निःसन्देह महिलाहरू पितृसत्ताको जाँतोमा पिल्सिएका छन् । तर, त्यो पितृसत्ताको जग पनि शोषणमा आधारित उत्पादन सम्बन्धमै गडेको छ । जबसम्म शोषणमा आधारित उत्पादन सम्बन्धको जरा काट्ने काम हुँदैन, तबसम्म महिलाहरूमाथिको अन्याय र विभेद पनि अन्त्य हुन सम्भव छैन । त्यसकारण श्रमिक महिलाहरूले शोषणमा आधारित पुँजीवादी व्यवस्थाविरूद्ध लड्ने सङ्कल्प गरे । त्यसको निम्ति उनीहरूले श्रमिक पुरूषसँगै लडेर होइन, काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने निष्कर्ष निकाले । पितृसत्ता भनेको पुरूष होइन, पितृसत्ता भनेको शोषणमूलक पछौटे चिन्तन हो । यस्तो चिन्तनको विरोधमा प्रगतिशील पुरूष स्वयम् पनि लड्न सक्छन् ।

 राजनीतिक सङ्घर्षको निम्ति सैद्धान्तिक रूपमा स्पष्ट सङ्गठन नभई हुँदैन । त्यही आवश्यकताबोध गरी समान पीडा बोकेका विभिन्न देशका श्रमिक महिलाहरूले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरे । क्लारा जेटकिनजस्ता क्रान्तिकारी महिलाहरूले त्यो सम्मेलनको नेतृत्व गर्नुभएको थियो । त्यही अन्तर्राष्ट्रिय सम्मेलनले श्रमिक महिला आन्दोलनको भविष्य अझ दिगो बनाउन हरेक वर्षको मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय ग¥यो । त्यसपछि हरेक वर्ष मार्च ८ महिला विद्रोह, प्रतिरोध र आन्दोलनको दिन बन्दै आएको छ ।

विडम्बना ! सबै कुरालाई नाफाअनुकूल बनाउन सिपालु पुँजीवादी व्यवस्थाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई पनि आफ्नो परिभाषामा ढाल्ने प्रयास गर्दै आएको छ । मार्च ८ को क्रान्तिकारी ऐतिहासिकतालाई छोपेर यसलाई ‘महिला दिवस’ को रूपमा निरपेक्ष महिलावादी व्याख्या हुने गरेको छ । मार्च ८ लाई पुँजीवादले बुनेका शोषणका जालोलाई च्यात्ने आन्दोलनको रूपमा भन्दा पुँजीवादलाई अनुकूलन गर्ने दिन बनाउन दुरूपयोग हुने गरेको छ । शोषणको प्रतिरोधमा महिलालाई विद्रोही होइन, पुँजीवादप्रति नरम वा पुँजीवादी भासमा धकेल्ने प्रयासहरू हुँदै आएको छ ।
महिला कुनै वर्ग होइन । महिलाभित्र पनि वर्ग हुन्छ । मार्च ८ सबै महिलाको दिवस होइन, यो श्रमिक महिलाहरूको सङ्घर्ष र प्रतिरोधको दिन हो । महिला मुक्तिको नाममा पुँजीवादलाई शिरोपर गर्ने दिन होइन – मार्च ८ । यो क्रान्तिकारी महिला र पुरूष श्रमिकहरू मिलेर पुँजीवादको जरा काट्न हात्तेमालो गर्ने दिन हो । महिलामाथि सांस्कृतिक र सामाजिक रूपमा हुने गरेको अतिरिक्त शोषणको विरोधमा धावा बोल्ने दिन हो । सामाजिक न्याय, समानता, व्यक्तित्व विकासमा समान अवसरको लागि आवाज उठाउने दिन हो ।
अन्तर्राष्ट्रिय प्रभावकै कारण नेपालमा पनि यो दिनलाई श्रमिक महिला दिवसभन्दा समग्र महिला दिवसको रूपमा चर्चा गरेर मार्च ८ को वर्गीय चरित्रलाई छोप्ने प्रयास भइरहेको छ । मार्च ८ लाई वर्गको आँखाले नहेर्नु पुँजीवादविरोधी सङ्घर्षलाई भुत्ते बनाउने जालसाजी हो । त्यसकारण मार्च ८ त्यस्तो जालसाजीको प्रतिरोध गर्ने दिन पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *