भर्खरै :

राजनीति जनतामा नपुगेको परिणाम

आम र सर्वसाधारण जनतामा राजनीति चुनावको बेलामात्र गयो । परिणाम नेताहरू भाले भए । जनतामा स्थायी राजनीति गएको भए र अडिएको भए राजनीति नेताप्रधान नभई जनताप्रधान हुन्थ्यो । जब जनताप्रधान हुन्थ्यो राजनीतिक नेताहरूले राजनीतिलाई मोजा फेरझैँ फेरिरहन सक्दैनथ्यो । अहिले त माथिल्लो तहमा पुगेका कहिल्यै पनि खाईपाई आएको पद छोड्नै नचाहने अथवा अहिले पाएको भन्दा माथिल्लो पद पाएमा मात्र छोड्ने अन्यथा त्यसमै टाँसिरहने प्रवृत्तिले ढाक्यो । प्रधानमन्त्री पद सबभन्दा आकर्षक एवं सबैको लोभलाग्दो । कतिपय नेता दुईपल्टमात्र हो र चार चारपल्ट प्रधानमन्त्री भइसके । अब पाँचौँपल्ट पनि प्रधानमन्त्री हुन आकाश–पाताल जोड्दै छन् । चारचोटि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा । देउवा पाँचौँपल्ट प्रधानमन्त्री हुन राजनीतिक दण्ड बैठक गर्दै छन् । प्रचण्ड र केपी ओली दुई दुईपल्ट प्रधानमन्त्री भइसके । तेस्रोपल्ट प्रधानमन्त्री हुने दौडादौडीमा छन् । अब एकपल्ट मात्र त्यो चुम्बकीय आसनमा आरोहण गरेका माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई दोस्रोपल्ट प्रधानमन्त्री हुन मरिहत्ते गर्नु के पो आश्चर्य भो र ? जबकि पञ्चायती शासनमा पनि नगेन्द्रप्रसाद रिजाल दुईपल्ट, कीर्तिनिधि विष्ट तीनपल्ट, लोकेन्द्रबहादुर चन्द तीनपल्ट, सूर्यबहादुर थापा चारपल्ट प्रधानमन्त्री भएको अभिलेख छ । जाने त गइसके, जान बाँकीहरूले अब प्रधानमन्त्री वा राष्ट्रपति हुन्न भन्न नसकेको किन होला ? तपाईँ प्रधानमन्त्री हुँदा के पो लछार्पाटो लाउनुभएको छ र ? मेलम्चीको पानी आउन २२ वर्ष लागेछ त !
राजनीतिक ऐनामा राजनीतिक अनुहार
यो हो तपार्इँ नेताहरूको कार्यक्षमता र काम गर्ने योग्यता वा कौशल ? लौन पुराना उच्च नेताहरू हो एकपल्ट आफ्नो विगतको राजनीतिक ऐनामा आफ्नो अनुहार हेर्ने कष्ट गर्नोस् र मात्र फेरि प्रधानमन्त्री हुने चाहना राख्ने कि नयाँ युवाहरूका लागि छोडिदिने दरिलो निर्णय गर्नुहोस् । राजनीति प्रगतिशील हुन गतिशील हुनुपर्छ । तर, मुलुकलाई गतिमान बनाउने पदमा आसीनहरू गतिहीन एवं पदलोलुप भएको देख्दा उनीहरू कुन कुन रसायनबाट निर्मित भएका होलान् भन्ने कुरा खेल्छ यो मन र मस्तिष्कमा । तपाईँ प्रधानमन्त्री भएका बेला, कार्यकारी प्रमुख भएका बेला के के, कुन–कुन त्यस्ता काम गर्नु भयो जसले तपाईँलाई अर्को पुस्ताले सम्झिरहोस् । एकीकृत महाकाली सन्धि गरेर कोसी उच्च बाँधसम्बन्धी सम्झौता गर्न खोजेर कपूत सन्तानले गर्नेजस्ता काम गर्नुभएको छ । सपूत सन्तानले जस्तो कतिवटा काम गर्नुभयो ? टिपाउन सक्नुहुन्छ ? सहयोग गर्न पनि नसक्ने, सहयोग लिन पनि नसक्ने कस्तो नेता तपाईँ ¤ मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोइ ? दरबार हत्या काण्डसमेत रहस्यमा रहेको छ । जनयुद्धका जनसेनाहरूलाई शान्ति प्रक्रिया सुरू भएपछि सैनिक शिविरहरूमा राख्दाको खर्च खोइ ? लेखा परीक्षण खोइ ? तपाइँ नेताहरू नै जब हिसाब दुरूस्त राख्नुहुन्न तब अर्कोसँग दुरूस्त हिसाब माग्न सक्नुहुन्छ र ? यो सबै परिणाम हो राजनीतिक जनतामा नगएको अवस्थाको । राजनीति जनतामा लैजानु नै उपचार हो ।
आयो अनपेक्षित फैसला !
सत्ताको घोडा चढिसकेका र चढ्न आतुर नेपालका दूरदृष्टि नभएका नेताहरूका कारण नेपालको राजनीति दिशाहीन भएको छ । राजनीति जनतामा पुगेको भए जनताले आजका नेताहरूलाई दूधबाट झिङ्गा फालेझैँ फाल्थ्यो र आफ्ना असल नेता छानेर मूल बाटो सफा पाथ्र्यो जसबाट राजनीति गतिमान हुन्थ्यो । गिरिजाप्रसाद कोइराला प्रायः ग्रान्डडिजाइनको कुरा दोहो¥याइरहने नेता थिए । अहिले मलाई लाग्छ त्यही ग्रान्डडिजाइनले कतै काम गरिरहेको छ । त्यसैको यो नयाँ संस्करण हो आजको अवस्था । कहाँ दुई–तीन वर्षदेखि डङ्ग्याएर सर्वोच्च अदालतमा राखिएको मुद्दाको फैसला पुनःस्थापित सङ्घीय प्रतिनिधिसभाको बैठक आरम्भ भएकै दिन ग¥यो र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई बहाल गरिदियो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी –नेकपा खारेज गरिदियो । अब राजनीतिक मैदानमा बबन्डर सुरू भयो । को, कता, को कताको नयाँ अध्याय सुरू भएको छ । सबै हस्तीहरू किंकर्तव्यविमूढ अवस्थामा छन् । राजनीति मूर्छा अवस्थामा छ । अब के हुन्छ ? कोही भन्न सक्दैन । संविधानविद्हरू पनि विलखबन्दमा छन् । पुनःस्थापित संसद्को पहिलो बैठक बस्ने दिन नै सर्वोच्चको फैसला आउनु अर्थपूर्ण छ भन्छन् । दुई वर्षसम्म हेर्न नभ्याइनेमा रहेको मुद्दा विघटनपछि एक दिनको सुनवाइमा फैसला भयो भन्छन् । अर्को संविधानविद् भन्छन्, सर्वोच्चले मागेभन्दा बढ्ता बोल्यो । यी दुवै भनाइभित्र धेरै कुरा अटाएजस्तो लाग्छ । यो फैसला अनपेक्षित थियो ।
शत्रुता र मित्रता सजिलैसँग
को भन्नसक्छ अब के हुन्छ ? कोही भन्न सक्दैन अब यो हुन्छ, यसो हुन्छ । २३ गते पुनःस्थापित संसद्–प्रतिनिधिसभा बैठक थियो चार बजे । सोही दिन सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले एकीकरण प्रक्रिया पूर्ण नभएको भन्दै तत्कालीन दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविककै अवस्थामा फर्कन पनि फैसला ग¥यो । अब अदालतको फैसलासँगै एकीकरण प्रक्रिया २०७५ जेठ २३ गतेकै अवस्थामा फर्किएको छ । अब यो फैसलाले नेकपा दुई दलमा विभाजित भएको छ । अब सदनमा नेकपा (एमाले) १२० र नेकपा (माओवादी केन्द्र) ५३ जना सांसद भएका छन् । हिजो प्रतिनिधिसभा अरू उपद्रो हुन्छ कि भन्ने लागेको थियो । तर, नाराबाजी र बैठक बहिष्कारबाहेक केही भएन । यो जाती भयो । सर्वोच्च अदालतको यो फैसलाले पार्टी औपचारिकरूपमा फुट्न दुई पार्टी फेरि जुट्नुपर्ने असजिलो हटाइदियो । फैसलाले नै फुटाइदियो अब मित्र शत्रुहरू मुखामुख हुनुपरेन । तर, परिस्थितिले ओली–प्रचण्ड–माधव नेपाललाई कता लखेट्छ र फेरि एक हुन्छन् भन्न सकिँदैन । २०७२ असोज, २०७३ भदौ, २०७४ जेठ, २०७४ फागुनका पात्रो पल्टाए यी सबै पात्रहरूको आकृति र प्रवृत्ति छ्याङै हुन्छ । यी मान्छे मित्रता र शत्रुता बनाउन माहिर छन् । यसको कारण हो राजनीति जनतामा नजानु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *