भर्खरै :

शिक्षकको विज्ञापन छिटो खोलियोस्

कोभिड–१९ का कारणले देशभरि ८ सय निजी विद्यालय बन्द हुने समाचार प्रकाशमा आएको छ । देशभरिमा सञ्चालित ८ हजार निजी विद्यालयमध्ये १० प्रतिशत अर्थात् ८ सय विद्यालयको अस्तित्व सङ्कटमा परेको बताइएको छ । ती १० प्रतिशत निजी विद्यालयमध्ये पनि तुलनात्मकरूपले साना र विशेषगरी उपत्यकाबाहिरका विद्यालय धेरै रहेको कुरा प्याब्सन र एनप्याब्सनको भनाइ रहेको छ । समाचारअनुसार हाल निजी विद्यालयमा ३१ लाख विद्यार्थी अध्ययनरत रहेको र डेढ लाख शिक्षक कर्मचारीले रोजगारी पाइरहेका छन् । आगामी शैक्षिक सत्रमा १० प्रतिशत विद्यालय बन्द हुँदा डेढ लाखमध्ये १० प्रतिशत जनशक्तिको रोजगारी गुम्ने भएको छ ।
‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ ले दुईतिहाइ ल्याएर सरकार बनाएपछि आगामी १० वर्षभित्र निजी विद्यालयहरू सबै सामुदायिकीकरण गर्ने भनिएको थियो । कुनै पनि कारणले बन्द भएका निजी विद्यालयको विकल्पमा सामुदायिक विद्यालयलाई आकर्षण बनाउँदै लानु सरकारको दायित्व हो । तर, सरकार सामुदायिक विद्यालय सबल बनाउनेतर्फ पनि त्यति ध्यान दिइरहेको छैन ।
सरकारले एउटा कार्यदल बनाई देशभरका विद्यालयहरूमा रहेको शिक्षक दरबन्दीको स्थिति र आवश्यकताबारे अध्ययन गरेको थियो । कार्यदलले ६२ हजारभन्दा बढी शिक्षक दरबन्दी आवश्यक रहेको प्रतिवेदन पनि सरकारलाई बुझायो । तर, प्रतिवेदनको सुझाव कार्यान्वयनको सुइको कतै पाइएको छैन । त्यतिमात्र नभई शिक्षक सेवा आयोगले हालै विभिन्न तहका १५ हजार शिक्षक आवश्यकताको विज्ञापन गर्ने तयारी गरिरहँदा पनि पछिल्लो पटक बहाल भएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आयोगमा आफ्नो निकटका मान्छे राख्ने बहानामा विज्ञापन रोकिराखेको भन्ने पनि चर्चा बाहिरिएको छ ।
आगामी नयाँ शैक्षिक सत्रको लागि नयाँ १५ हजार शिक्षक नियुक्ति गर्ने हो भने निजी विद्यालयबाट रोजगारी गुमाएका शिक्षकको लागि पनि ठूलो राहत हुने गरी शिक्षक आवश्यकताको विज्ञापन छिटो खोल्नु सामयिक हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *