भर्खरै :

मिर्गौला रोग समयमै पहिचान जरुरी

‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔँ’ – नाराका साथ विश्व मिर्गौला दिवस हाम्रो देशमा पनि मनाइयो । तर, हाम्रो देशमा मिर्गौला रोग र यसको समयमै यसको पहिचान र उपचारबारे जनचेतना पर्याप्त देखिएको छैन । चिकित्सकहरूका अनुसार धेरैजसो मिर्गौला रोगी अन्तिम अवस्थामा पुगेपछि उपचारका लागि अस्पताल पुग्ने गरेका छन् र उनीहरूलाई जस्तै विशेषज्ञहरूले पनि बचाउन सक्दैनन् ।
मिर्गौला रोगलाई दीर्घरोगको रूपमा चिनिन्छ । शरीरमा दुईवटा मिर्गौला हुन्छन् । मिर्गौलाले शरीरबाट निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्ने काम गर्छ । मिर्गौलाले शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछ । शरीरलाई चाहिने विभिन्न तत्वको मात्रा मिर्गौलाले व्यवस्थापन गर्छ । मिर्गौलाको मुख्य काममध्ये पिसाब बनाउने पनि एक हो । नेपालमा करिब ८० प्रतिशत मिर्गौला रोगी अन्तिम अर्थात् चौथो र पाँचौ अवस्थामा उपचारका लागि अस्पताल पुग्ने गर्छन् ।
चिकित्सकहरूका अनुसार मिर्गौला रोग लाग्ने धेरै कारण हुन्छन् । विशेष गरेर मधुमेह र उच्च रक्तचाप हुनेलाई मिर्गौला रोग लाग्न सक्छ । उमेर बढ्दै गएपछि अर्थात् चालीस वर्ष कटेपछि मधुमेह र उच्च रक्तचाप बढी मात्रामा देखिन्छ । रगतमा दूषित पदार्थको प्रवाह भएपछि समस्या देखिन्छ । दुखाइ कम गर्ने नाममा जथाभावी विभिन्न प्रकारका पेनकिलर सेवन गर्न हुँदैन । जस्तै निम्स, फ्लेक्सन, भोभेरानजस्ता औषधिको धेरै सेवन गर्नाले मिर्गौलालाई हानी गर्छ । सन्तुलित आहार नहुने, नियमित शारीरिक अभ्यास नगर्दा क्रमशः मिर्गौलासम्बन्धी समस्या देखिन्छ ।
नेपालमा मिर्गौला रोग लागेको कुरा निकै कम मानिसले मात्रै पूर्ववत् अवस्थामा थाहा पाउँछन् । धेरैलाई थाहा नपाइकन मिर्गौला रोग लाग्छ । तर, केही लक्षणले सङ्केत गरिरहेको हुन्छ । जस्तै, बिहान उठ्दा आँखाको डिल सुन्निने, धेरै कोखा दुख्ने, छिनछिनमा पिसाब फेर्न आउने, पिसाबमा फिँज आउने, पिसाब धमिलो हुने आदि मिर्गौला रोगका प्रारम्भिक लक्षण हुन सक्छ । थोरै हिँड्दा थकाइ लागेको महसुस हुने, छाला सुक्खा हुने, चिलाउने, उच्च रक्तचाप हुने, शरीरका विभिन्न अङ्ग सुन्निने, शरीर दुब्लाउँदै जाने आदि लक्षण देखिएमा तत्काल जाँच गर्न अस्पताल जानुपर्छ । मिर्गौला रोगको समयमै पहिचान गर्न जरुरी छ । रोग समयमै पहिचान गर्न सकिएमा उपचार गरी अकाल मृत्युबाट जोगिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *