भर्खरै :

समाजवादउन्मुख देश खोलमात्रै ?

ठूला या सत्तारूढ दलका कारण देश अनिश्चिततातर्फ गएको हो । सरकारको हेरफेर पनि सत्तारूढ दलकै भागबन्डाको कारण हुन्छ । सत्तारूढ दलका नेताहरूले इमानदारीपूर्वक देश र जनतालाई प्राथमिकता राखेर काम गरेका भए, नीति नियम बनाएका भए देश अनिश्चिततातर्फ जानेछैन, देशमा अस्थिर सरकार बन्ने छैन । देश अनिश्चिततातर्फ गएकोमा पुष्पकमल दाहाल, माधव नेपालहरू पन्छिन पाउँदैनन् । सरकारको नेतृत्व फेर्न खुट्टा तान्ने, आफ्नै दलको विरोधमा जनताको मत तान्ने काममा दाहाल–नेपालहरू लागेकै हुन् । अतः देश अनिश्चिततातर्फ जानु र देश अनिष्टतर्फ जानुमा उनीहरू पनि त्यतिकै दोषी छन् ।
जनताले नचाहेको, नचिताएको, मन नपरेको या जनताको इच्छाविरुद्ध या इच्छा गरेभन्दा उल्टोतर्फ गयो भने देशमा अनिष्ट हुनु हो । अनिष्टको बाटो कोर्ने काम, अनिश्चिततातर्फ जाने काम सत्तारूढ दलका नेताहरूले नै गरेका हुन् । यस काममा पुष्पकमल दाहाल र माधवकुमार नेपालहरू जिम्मेवार छन् । ५ वर्ष देश चलाउन जनताले नेकपालाई जिम्मा दिएका हुन् । आज नेकपाकै कारण नेकपा एमाले र माओवादी केन्द्रमा परिणत भयो । नेकपा एमाले र माओवादी केन्द्र बनेपछि सत्ता समीकरणको कुरो उठ्यो । सत्ता समीकरणमा भागबन्डा या अन्य सर्तको कुरा उठ्छ । भागबन्डा र सर्तको आधारमा बनेको सरकारले दिशानिर्देश गर्नसक्दैन, देशको नेतृत्व सही ढङ्गले अघि बढ्दैन ।
बहुमत जनता राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपमा अघि नबढेसम्म, सचेत र सङ्गठित नभएसम्म पुँजीपति वर्गको नेतृत्व गर्ने सरकार रहेसम्म यो समस्या दोहोरिरहन्छ । नेपाल मजदुर किसान पार्टीले समाजवादी प्रचार अभियान चलाउनुको कारण जनतालाई राजनीतिकरूपले सुसूचित पार्न हो । सचेत र सङ्गठित जनशक्तिविना आमूल परिवर्तन सम्भव छैन । आमूल परिवर्तनबिना कामदार वर्गको सरकार असम्भव छ । पुँजीवादी संसद्बाट आमूल परिवर्तन सम्भव छैन । यो कुरा पटक–पटक सरकारको नेतृत्व कम्युनिस्ट पार्टीले गरे पनि परिवर्तनको अनुभूति दिन नसकेबाट थाहा हुन्छ ।
आमूल परिवर्तन गर्न देशका सबै कम्युनिस्ट पार्टीहरूले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार राजनीति गर्नुपर्छ । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई देशको माटो सुहाउँदो या देश, काल र परिस्थितिअनुसार उपयोग गर्नुपर्छ । आफ्नो दलको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद मान्ने तर व्यवहार त्यसको ठीकविपरीत जानु माक्र्सवाद र लेनिनवादको ठाडो उल्लङ्घन हो । त्यो उल्लङ्घन एमाले र माओवादी केन्द्रले गरिरहेका छन् । कम्युनिस्ट भनेर मत माग्ने, मत पाएर सरकारमा जाने तर काम सबै पुँजीवादी व्यवस्थाअनुसार गरेर कसरी कम्युनिस्टको सरकार बन्छ ? देशमा कसरी समाजवादउन्मुख व्यवस्था लागू हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *