सरकार सुशासनको वकालत गर्छ, प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्छ
- बैशाख ३१, २०८३
नेपालमा खोलेका अधिकांश कम्युनिस्ट पार्टीहरूको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । मार्ग निर्देशक सिद्धान्त कम्युनिस्ट पार्टी सञ्चालन गर्ने बाटो हो । त्यस मार्ग निर्देशक सिद्धान्तलाई आ–आफ्नो देशको काल र परिस्थितिअनुसार अगाडि बढाउने हरेक नेकपाको उद्देश्य हुन्छ । हाल नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूले तद्नुसार राजनीति गरिरहेका छन् कि छैनन् ? देशमा कम्युनिस्ट पार्टी र आन्दोलनलाई बलियो बनाउन, कम्युनिस्टको सिद्धान्त र विचार घर आँगनमा पु¥याउन काम भइरहेका छ कि छैन ? प्रत्येक वामपन्थी, प्रगतिशील, देशभक्त र कम्युनिस्ट नेता तथा कार्यकर्ताले चिन्तनमनन गर्नुपर्ने बेला भएको छ ।
देशका हरेक वामपन्थी शक्ति या कम्युनिस्टहरू देशभक्त हुन्छन् । आफ्नो देशको अहितमा, देशलाई दूरगामी असर पार्ने काममा उनीहरू कहिले पनि विदेशी शक्तिहरूसँग सन्धि, सम्झौता र सहमति गर्दैनन् । विदेशी शक्ति राष्ट्रको उठबसमा बस्दैनन्, झुक्दैनन्, आत्मसमर्पण गर्दैनन् । कम्युनिस्टहरू सरकारमा रहे पनि नरहे पनि यस्ता कामको विरोध गर्छन् । कुनै पनि स्वतन्त्र र सार्वभौम देशको सरकारले यो दायित्व निर्वाह गर्नैपर्छ, कर्तव्य पालना गर्नैपर्छ । यो जिम्मेवारीबाट कुनै पनि वामपन्थी शक्ति या कम्युनिस्टहरू पन्छिन पाइँदैन ।
कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई सुदृढ पारेर जनतालाई राजनीतिक र वैचारिकरूपले सुसूचित पार्नुपर्ने बेला कम्युनिस्ट पार्टी या सत्तारुढ दलहरू सत्ता समीकरणको निम्ति दौडधूप गर्नु र भागबन्डा गर्न लाग्नु उचित होइन । ठूला दलका कम्युनिस्ट पार्टीहरू सत्तास्वार्थमा केन्द्रित भएकाले कम्युनिस्ट आचरणविपरीत लागेकैले देशको कम्युनिस्ट आन्दोलन पछि परेको हो । देशका कम्युनिस्ट पार्टीहरू श्रमजीवी वर्गको पक्षमा लागेका भए, शोषित पीडित, उत्पीडित जनताको पक्षमा लागेका भए व्यापक जनता राजनीतिकरूपले सुसूचित हुन्थे, सुसूचित जनता सामन्तवाद, पुँजीवाद, साम्राज्यवादविरुद्ध लड्थे । देशमा भइरहेको भ्रष्टाचार, कालाबजारी, कमिसनविरुद्ध लड्थे । बलात्कार, हत्याहिंसा, अराजकता, अवसरवाद, सङ्कीर्णवाद, अन्धविश्वास र कुरीतिविरुद्ध लड्थे ।
कम्युनिस्ट नामका सत्तारुढ दलहरू देशमा कम्युनिस्टहरूको बहुमत भएको दाबी गर्छन् । बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गरेको फुक्छन् । तर, कम्युनिस्टको सिद्धान्त, विचार र आचरणअनुसार काम गर्दैनन् । के कम्युनिस्टको सरकार रवाफ देखाउन, नाम कमाउनमात्र हो ? पुँजीपति वर्गको पक्षमा काम गर्ने सत्तारुढ कम्युनिस्टको खोल ओढेर पुँजीपति वर्गको पक्षमा काम गर्दा पार्टीमा के खोट लाग्दैन ? विकासको ढ्वाङ फुकेर, बाटो र पुलको विकासको कुरा फलाकेर कम्युनिस्ट पार्टीको उद्देश्य कसरी पूरा हुन्छ ? कम्युनिस्टको नाउँमा कम्युनिस्टकै सिद्धान्त र विचार छोड्ने काम के कम्युनिस्टविरोधी चरित्र होइन ? के यो कम्युनिस्टले कम्युनिस्टलाई धोका दिइरहेको होइन ?
Leave a Reply